साझा नेटवर्क
नयाँ दिल्ली भारत, कार्तिक २२।
भारतको राजधानी नयाँ दिल्लीमा अत्याधिक प्रदुषण बढेपछि सरकारले सोमबारदेखि तीन दिनका लागि सरकारी तथा निजी स्कुल बन्द गर्ने आदेश दिएको छ । राजधानी दिल्लीसँगै जोडिएको पञ्जाव, हरियाणा र उत्तर प्रदेशको केही जिल्लामा प्रदुषणका कारण ‘भिजिबिलिटी’ कम भएपछि छुट्टा–छुट्टै दूर्घटनामा आइतबार १६ जनाको निधन भएको थियो।
![]()
दिल्लीमा ‘भिजिबिलिटी’ कम भएपछि दर्जनौ उडान प्रभावित बन्न पुगेको थियो । जसका कारण सरकारले पाँच दिनसम्म डीजलबाट चल्ने जेनरेटर सेट उपयोग गर्न रोक लगाएको छ। दिल्ली नजिकैको बदरपुर पावर प्लान्टबाट धुँवा आएपछि १० दिन त्यहाँको काममा रोक लगाएको छ।
यस्तै, पाँच दिन दिल्लीमा सबै प्रकारको निर्माण कार्य र तोडफोडमा रोक लगाएको छ। सरकारले हेलिकोप्टरबाट कृत्रिम बर्षा गर्नेमा विचार विमर्श गरिरहेको छ । फोहोर जलाउन पनि प्रतिबन्ध लगाइएको छ। राज्य सरकार यातायातको ‘अड–इभन’ फमूर्ला लागू गर्ने विषयमा छिट्टै निर्णयमा पुग्न सक्ने बताइएको छ ।
प्रदुषणका कारण दिल्ली लगातार सातौ दिन प्रभावित बन्न पुगेको हो। दिल्लीका अत्याधिक स्थानीयवासी अहिले आँखा पोल्ने र नाकबाट पानी बग्ने समस्याबाट ग्रस्त छन्। जसका कारण स्थानीयवासी दम र स्वास प्रस्वासको समस्याबाट गुज्रिरहेका छन् ।
विशेषज्ञहरूले दिल्लीको अहिलेको अवस्थालाई सन् १९५२ को लन्डनको ‘स्मोग’ सँग तुलना गरेका छन् । त्यतिबेला अत्याधिक प्रदुषणका कारण ४ हजार मानिसले अकालमा मुत्युवरण गर्नु परेको थियो। राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीका स्थानीयवासी समक्ष एउटा अपील जारी गर्दे भनेका छन्– ‘एकदमै जरूरी अवस्थामा मात्र घरबाट बाहिर निस्किनु होला।
आइतबार दिल्लीको हावा मापन गरिँदा अत्याधिक माइक्रोन पाइएको थियो। अति सुक्ष्म कण पिएम १० का लागि निर्धा्रित मानक सय माइक्रोन मानिन्छ। तर, आइतबार १० पिएममा ८ सय ४४ माइक्रोन मापन गरिएको थियो।
यस्तै, २ दशमलव ५ का लागि ६० माइक्रोन हुनु पर्नेमा ५ सय ८८ माइक्रोन मापन गरिएको थियो। सोमबार बिहान १० पिएममा झन बढि ८ सय ६० माइक्रोन मापन गरिएको छ। यस्तै, २ दशमलव ५ पिएममा ६ सय १३ माइक्रोन मापन गरिएको विशेषज्ञले बताएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend