logo
  • बुधबार, कार्तिक १९ २०८३

कतारमा सवारीधनी, वीरगंजमा नक्कली सनाखत ! अधिकृत महतो भए मालामाल


  • साझा नेटवर्क
  • बुधबार, कार्तिक १९ २०८३

वीरगंज १८ कातिक । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोको कालाकर्तुतहरु बाहिर आउने क्रम जारी रहे पनि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडालाई चुनौती दिदै आएका छन् । २०७५ साल देखि वीरगंज यातायात कार्यालयमा अडा जमाउदै करोडौं करोडको सम्पत्ति जोडेको र सर्लाही जिल्ला लालबन्दीका केही हार्डवेयरका पसलका साहुहरुलाई सयकडा ३ प्रतिशतको दरले करोडौ रकम ब्याजमा लगानी गरेको स्रोतको कथन रहेको छ ।

भ्रष्ट प्रवृतिका अधिकृत महतोले २०७५ साल देखि वीरगंज यातायात कार्यालयमा बसेपनि बिच–बिचमा उनको अन्यत्र सरुवा हुँदा मन्त्रालयका अधिकारीहरुलाई रिझाउदै पुनः वीरगंज यातायातमा नै फर्किने गरेको जगजाहेर नै छ । अधिकृत महतोको बुझाईमा सुनको अण्डा दिने ठाउँ वीरगंज यातायात नै भएको हुनाले उनी अन्यत्र जान आनाकानी गर्ने गरेका छन् ।

अधिकृत महतोले जुनसुकै फाँटमा भए पनि उनको मुख्य काम सनाखत नामसारी नै हो । सनाखत नामसारीबाट मात्र करोडौ कमाउन सफल व्यक्तिको रुपमा चिनिएका अधिकृत महतोले नारायणघाट, चितवन, हेटौंडा, निजगढ लगायतका ठाउँहरुमा खुलेका रिकन्डिसन साहुहरुसँग बिचौलियामार्फत समन्वय गरी प्रति ब्लुबुकमा न्युनतम २ हजार देखि बढीमा ५ हजार सम्म असुलेर सनाखत नामसारी गर्ने गरेको समाचार स्रोतले जनाएको छ ।

अधिकृत महतोले हजारौं सनाखत नामसारी गरेको भए पनि दर्जनौ प्रमाणहरु यस अनलाईन सँग सुरक्षित रहेको छ । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत महतोले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकालाई कुनै किसिमको पालना नै नगरी कार्यालयमा न सवारी आउँछ, न खरिदकर्ता, न विक्रीकर्ता आउँछ, तैपनि रकमको बलमा सनाखत नामसारी गरेको पाईएको छ ।

अधिकृत महतोले न सवारी, न गाडीधनी, न खरिदकर्ता कसैले कार्यालयमा नआए पनि बिचौलिया मार्फत दाम लिएर सनाखत नामसारी गरेको थप एउटा अर्को प्रमाण प्रस्तुत गरेका छौं । प्रदेश २–०३–००१ प ८६३६ नम्बरको मोटरसाईकल सवारीलाई २०८१-९-२ गतेका दिन सनाखत नामसारी भएको पाइएको छ । सवारी धनी पर्सा जिल्ला निवासी जाबेद अख्तर सवारी नामसारी भएको मिति २०८१-९-२ भन्दा करिब ६ महिना अगावै देखि नै विदेश कतारमा थिए र हालसम्म कतारमा नै रहेको पाईएको छ ।

बिचौलियाबाट मोटो रकम असुलेर अधिकृत महतोले ढाडामा सवारी धनी र खरिदकर्ताको ठाउँमा बिचौलियाबाट नै नक्कली ल्याप्चे लगाईएको स्रोतको कथन रहेको छ । यदि नियमनकारी निकायले सवारी धनी जाबेद अख्तरको नामले लगाईएको ल्याप्चे अख्तरको नागरिक्ता वा राष्ट्रिय परिचयपत्रको ल्याप्चेसँग परीक्षण गराईएको खण्डमा स्वतः नक्कली ल्याप्चे भएको पुष्टि हुने स्रोतको जिकिर रहेको छ ।

सनाखत नामसारी गरेर बदनामी कमाएका अधिकृत महतोले हजारौं सनाखत नामसारी गर्दा प्रायःको ढाडामा उल्लेख नरहेको र हाल दैनिक करिब ५÷६ जना सेवाग्रहीले सो प्रकृतिका ब्लुबुक लिएर यातायात कार्यालय वीरगंजमा पुनः नामसारीको लागि आउंदा अधिकृत महतोले मेरो सही नै होईन भन्दै थप पिडा दिई फर्काउने गरेको स्रोतको भनाई रहेको छ ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को ११.१.८ मा सवारी नामसारी गर्दा अवलम्बन गर्नुपर्ने विषयहरु प्रष्ट रुपमा लेखिएको छ । सवारी धनीले आफ्नो सवारी विक्री वा नामसारी गर्नुपरेमा प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर तिरी सवारी विक्री गर्ने तथा खरिद गर्ने दुबै पक्षको रोहबरमा निम्न अनुसारको प्रक्रिया पुरा गरेको हुनुपर्नेछ । नियमावलीको अनुसुचि –१२ को ढांचामा निवेदन फारम भरी रु. १० को टिकट टांसी कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।

सवारी साधन कार्यालयमा अनिवार्य रुपमा ल्याई सवारीको नामसारी गर्दा खरिदकर्ता तथा विक्रीकर्ता दुबै जना कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । सवारी विक्री गर्ने सवारी धनीले नामसारीका बखत उपस्थित हुन नसक्ने भई सो नामसारी हुने मिति भन्दा अगाडि सवारी धनी कार्यालयमा उपस्थित भई सम्बन्धित श्रेस्ता एवं नामसारी फारममा ल्याप्चे सही छाप सहित सनाखत गर्न कार्यालयमा निवेदन दिएमा सो निवेदन मोनासिव लागेको खण्डमा सम्बन्धित फाँंटका अधिकृतले निजको सक्कल नागरिकता सहितको कागजात हेरी सो व्यवहोरा प्रमाणित गरि दिएको अवस्थामा मात्र सोही सनाखतको आधारमा सनाखतको मितिले ३५ दिन भित्र नामसारी गर्न सकिने व्यवस्था रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले अधिकृत महतो माथि सनाखत नामसारी देखि लिएर राजस्व छली सम्मको सन्दर्भमा छानबिन प्रक्रिया अगाडि बढाउदै उनको राष्ट्रिय परिचयपत्रको फोटोकपी, खाता नम्बर लगायतका आवश्यक कागजातहरु लगेर ढिलासुस्ती गरिरहेकोमा पिडित सेवाग्रहीहरु आश्चर्यमा परेका छन् । यता अधिकृत महतोले आफु माथि मधेश प्रदेश श्रम तथा यातायात मन्त्रालयले छानबिन समिति गठन गरेर कारवाही प्रक्रिया अगाडि बढाएकोमा सो समितिलाई जसरी प्रभावित गरेर वीरगंज आउन सफल भए, त्यसैगरी अख्तियारलाई पनि प्रभावित गरेर वीरगंजमा नै बस्छु भन्दै अख्तियारलाई चुनौती दिदै बकबकाउदै हिडने गरेको उनका आसेपासेहरु बताउंदछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend