logo
  • मंगलबार, कार्तिक १८ २०८३

मञ्जुको उद्यमशीलता खुर्सानी बेचेर एकै सिजनमा एक लाख आम्दानी


  • साझा नेटवर्क
  • मंगलबार, कार्तिक १८ २०८३

सज्जन ढकाल गुल्मी, कत्तिक १७ । विदेश नगई ठूलो लगानी नगरी आफ्नो नियमित पेसा नछोडी पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका वडा नम्बर ७, भुर्तुङ्ग तमेकी मञ्जु पौडेल। उनले खुर्सानी खेतीबाट एकै सिजनमा एक लाख रुपैयाँ आम्दानी गर्दै गाउँमै बसेर पनि आर्थिक आत्मनिर्भर बन्न सकिने सन्देश दिएकी छन्। सुरुवाती चरणमा अकबरे डल्ले खुर्सानीको बीउ र अन्य कार्यको लागि बीस हजार लगानी गरिएको थियो ।

पेसाले शिक्षिका रहेकी पौडेल दुर्गा भवन माध्यमिक विद्यालय छापचौरमा बाल कक्षामा अध्यापन गराउँछिन्। विद्यालयको जिम्मेवारी, घरपरिवारको हेरचाह र कृषि कर्मलाई सँगसँगै अघि बढाउँदै उनले हासिल गरेको सफलता अहिले धेरैका लागि प्रेरणाको विषय बनेको छ।

परम्परागत खेती गर्दा बाँदरले बाली नष्ट गर्ने र वर्षभरी दुःख गर्दा पनि उत्पादन जोगाउन मुस्किल हुने समस्या भोगेपछि उनी नगदेबालीतर्फ आकर्षित भएकी हुन्। साना छोरा छोरी र वृद्ध ससुरा बुवाको हेरचाह समेत गर्नुपर्ने भएकाले खेतीपातीमा पर्याप्त समय दिन नसक्ने अवस्था थियो। तर उनले हप्तामा दुई दिन हुने बिदा र बिहान बेलुकाको समयलाई सदुपयोग गर्दै खुर्सानी खेती सुरु गरिन्।

गाउँमा खुर्सानी खेतीको अभियान सञ्चालन हुँदा एकै सिजनमा लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने कुरा सुरुमा आफूलाई विश्वास नलागेको मञ्जु बताउँछिन्। त्यसैले परीक्षणका रूपमा एक हलको बारीमा मात्रै खुर्सानी लगाएकी थिइन्। तर सोचेभन्दा राम्रो उत्पादन भएपछि उनको उत्साह र आत्मविश्वास दुवै बढ्दै गयो।

‘खुर्सानी दिनहुँ पाक्छ, टिप्न जाँदा छुट्टै आनन्द आउँछ। बिहान कहिले होला र बारीमा पुगेर खुर्सानी टिपौँ जस्तो लाग्छ। दिनहुँ बिक्री गरेर पैसा हातमा पर्दा झनै खुसी लाग्छ,’ उनी आफ्नो अनुभव सुनाउँछिन्।

खुर्सानी खेतीबाट भएको आम्दानीले विदेशमा दुःख गरिरहेका श्रीमान लाई समेत केही आर्थिक सहयोग र राहत पुगेको उनको भनाइ छ। धेरै समय र श्रम खर्च नगरी घरपरिवारको जिम्मेवारी सँगै गर्न सकिने भएकाले आफू जस्ता महिलाका लागि खुर्सानी खेती राम्रो विकल्प बन्न सक्ने उनको अनुभव छ।सुरुवाती चरणमै चार कुईन्टल उत्पादन गरि बिक्रि गरिएको हो । प्रतिकिलो दुई सय पचास रुपैयामा स्थानीय स्तरमै बिक्रीबितरण गरिएको हो ।

कृषि उत्पादन गरेर मात्र किसान आत्मनिर्भर बन्न सक्दैनन्, उत्पादनको बजार सुनिश्चित हुनु पनि उत्तिकै आवश्यक हुन्छ। यही समस्यालाई मध्यनजर गर्दै गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालयले किसानले उत्पादन गरेको खुर्सानी खरिद गर्ने व्यवस्था मिलाएको छ।

वडाध्यक्ष घनश्याम थापाले सूचना नै जारी गरेर वडा कार्यालय मार्फत खुर्सानी खरिद तथा बिक्री वितरणको व्यवस्था गरेपछि किसानमा थप उत्साह थपिएको छ। उत्पादन गरेर कहाँ बेच्ने भन्ने चिन्ता कम भएपछि किसानहरू व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन्।

भुर्तुङ्गमा खुर्सानी खेतीलाई व्यावसायिक बनाउने र किसानलाई नगदेबाली तर्फ आकर्षित गर्ने अभियानको अगुवाइ स्थानीय सुरेश ढकालले गरेका हुन्। हाल उनी कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा कुसुम कोसेली घरका सञ्चालक हुन्।

उनले गाउँगाउँमा किसान भेला गराएर प्रशिक्षक सहित खुर्सानी खेती सम्बन्धी तालिम तथा प्रशिक्षण सञ्चालन गरेका थिए। किसानलाई खेती गर्न प्रोत्साहन गर्नुका साथै बजारको सुनिश्चितताका लागि समेत पहल गरेका थिए।भुर्तुङको महालक्ष्मी युवा क्लबले बीउमा लगानी गरी स्थानीय किसानलाई खुर्सानीको बीउ उपलब्ध गराएर अभियानमा साथ दिएको थियो।

लगानी गर्न नसक्ने किसानलाई समेत खेतीमा सहभागी गराउन ढकालले ६०/४० को साझेदारी मोडेल अघि सारेका थिए। उक्त मोडेलअनुसार कम्पनीले खेतीका लागि आवश्यक सम्पूर्ण लगानी गर्ने र उत्पादनबाट प्राप्त हुने हिस्सामध्ये ६० प्रतिशत किसान तथा ४० प्रतिशत कम्पनीले प्राप्त गर्ने प्रस्ताव गरिएको थियो। यसबाट किसानले लगानीको चिन्ता नगरी उत्पादनमा ध्यान दिन सक्ने र बजारको तनाव समेत कम हुने अपेक्षा गरिएको थियो।

अभियान सञ्चालन भए पनि सुरुमा सबै किसानले आँट नगर्दा यस वर्ष भुर्तुङ्गमा अपेक्षाकृत खुर्सानी उत्पादन हुन सकेको छैन यद्यपि खेतीमा संलग्न अधिकांश किसानले हजारौँ रुपैयाँ बराबरको खुर्सानी बिक्री गरिरहेका छन्।अकबरे डल्ले खुर्सानी करिब पाँच महिनाको छोटो अवधिमै आम्दानी लिन सकिने भएकाले आगामी दिनमा थप किसान यस खेतीतर्फ आकर्षित हुने विश्वास गरिएको छ। मञ्जु पौडेलको सफलता एउटा परिवारको आम्दानीमा भएको वृद्धि मात्र होइन,

यो गाउँका महिलाहरू, शिक्षक, गृहिणी र साना किसानका लागि एउटा बलियो सन्देश पनि हो।विदेशमा पसिना बगाएर मात्र समृद्धि खोज्नुपर्छ भन्ने छैन। आफ्नै गाउँको बारीमा सम्भावना खोज्न सकियो भने खुर्सानीको बोटबाट पनि लाखौँको सपना फलाउन सकिन्छ। भुर्तुङमा खुर्सानीका बोटमा फलेको उत्पादनसँगै अहिले आत्मनिर्भर गाउँ निर्माणको नयाँ आशा पनि पलाउन थालेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend