साझा नेटवर्क
चक्र चन्द,साउन ३० गुल्मी ।
“रुख रोपौं, वन जोगाऔं” भन्ने मूल नाराका साथ गुल्मीको मदाने गाउँपालिका वडा नं. १, अग्लुङ्ग स्थित निपानेमा भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सरगम सञ्जाल युवा क्लब, मधाने १ अग्लुङ्गको आयोजनामा सम्पन्न यस कार्यक्रममा विभिन्न प्रजातिका गरी कुल ७५० वटा बिरुवाहरू रोपिएको थियो ।
निपाने पार्क तथा गाउँका अन्य आवश्यक सार्वजनिक स्थलहरूमा करिब ८ प्रजातिका बिरुवाहरू लगाइएको क्लबकी उपाध्यक्ष कल्पना खत्रीले जानकारी दिनुभयो । सरगम सञ्जाल युवा क्लबका अध्यक्ष अनिल खत्रीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत विकास संघ (युनेसीन) का अध्यक्ष प्रेमचन्द ज्यूको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा युनेसीनकै सदस्य शेरबहादुर खड्काको पनि विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै, कार्यक्रममा गाउँका बुद्धिजीवीहरू, क्लबका पदाधिकारीहरू, समाजसेवीहरू, आमा समूह तथा सम्पूर्ण अग्रज अभिभावकहरूको गरिमामय उपस्थिति रहेको थियो ।
बृक्षारोपणको सहजीकरण गौतम न्यौपाने र विवश विष्टले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्लबका पूर्व अध्यक्ष बाबुराम खत्रीले गर्नुभएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि एवं एकीकृत विकास संघ (युनेसीन) का अध्यक्ष प्रेमचन्दले संस्थाले गाउँठाउँमा विभिन्न किसिमका सामाजिक सहयोगका कार्यहरू गर्दै आएको उल्लेख गर्नुभयो । विगतमा पनि विभिन्न ठाउँमा यस्तै किसिमका वृक्षारोपण कार्यहरू गरिएको र धेरै विद्यालयहरूमा निःशुल्क छात्रवृत्तिसमेत प्रदान गरिएको जानकारी दिँदै उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी, कार्यक्रममा क्लबका पूर्व अध्यक्ष शेरबहादुर खत्रीले मन्तव्य राख्दै आफ्नो ठाउँमा यस्तो महत्त्वपूर्ण कार्यक्रम ल्याउन पाउँदा अत्यन्तै खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनहरूमा पनि यस्ता सामाजिक विकासका कार्यहरू निरन्तर हुनुपर्नेमा जोड दिँदै सहयोगका लागि एकीकृत विकास संघलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष एवं क्लबका अध्यक्ष अनिल खत्रीले मन्तव्य राख्दै यस वृक्षारोपण कार्यक्रमलाई सफल बनाउन विशेष रूपमा साथ र सपोर्ट दिनुहुने एकीकृत विकास संघ (युनेसीन), मदाने गाउँपालिका, गुल्मी, तथा मदाने मालिका सबडिभिजन वन कार्यालय प्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको ।
उहाँले यी निकायहरूको अमूल्य साथ र सहयोगले नै कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन सकेको बताउँदै समाजप्रतिको यो माया आगामी दिनमा पनि निरन्तर रहनेमा आफूहरू पूर्ण विश्वस्त रहेको कुरा क्लबकी उपाध्यक्ष कल्पना खत्रीले बताएकी छिन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend