साझा नेटवर्क
दर्शन सुनार, कतार साउन १०।
नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसीसी) कतारको महिला विभागको संयुक्त आयोजनामा कतारमा ‘रमाइलो हरितालिका तीज तथा विविध सांस्कृतिक कार्यक्रम’ हुने भएको छ ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कतारमा स्थापित सम्पूर्ण नेपाली संघ–संस्थाहरूको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो । मुन्ताजास्थित गोर्खाली रेष्टुरेन्टको सभाहलमा शुक्रबार विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पत्रकारहरूको उपस्थितिमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे औपचारिक जानकारी दिइएको हो ।
आयोजकका अनुसार कार्यक्रम आगामी सेप्टेम्बर ४ तारिकका दिन कतारको वक्रास्थित डिपिएस मोनार्क इन्टरनेसनल स्कुलको सभाहलमा आयोजना हुनेछ । कार्यक्रमलाई थप रोमान्चक बनाउन नेपालकी चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परियार दोहा आउने भएकी छन् । एनआरएनए एनसीसी कतारका सांस्कृतिक विभागका संयोजक जनक थापा मगरका अनुसार तीज कार्यक्रममा मौलिकतालाई विशेष ध्यान दिइनेछ ।
स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुतिसहित एकल तथा सामूहिक नृत्य र गायन कार्यक्रमका मुख्य आकर्षण रहनेछन् । कार्यक्रममा सहभागी हुने महिलाहरूका लागि प्रवेश निशुल्क गराइएको छ भने पुरुषहरूका लागी प्रवेश पासबापत तीस कतारी रियालशुल्क तोकिएको छ । हलमा प्रवेश गर्दा अनिवार्य रूपमा प्रवेश पास लिनुपर्ने आयोजकले जनाएको छ ।
कार्यक्रमको अनुमानित कुल बजेट झन्डै ४० हजार कतारी रियल रहेको उक्त कार्यक्रमको मुख्य प्रायोजक (मेन स्पोन्सर) भिक्टोरिया गोल्ड एन्ड डायमन्ड रहेको छ । कार्यक्रम सम्पन्न गर्नका लागि ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ, जसको संयोजक नेपाली महिला समाज कतारकी उपाध्यक्ष मेनुका खतिवडा रहेकी छन् ।
एनआरएनए एनसीसी कतारका उपाध्यक्ष तथा श्रमिक विभाग एवं तीज कार्यक्रमका आर्थिक संयोजक सन्तोष पौडेलले कार्यक्रममा हुने सम्भावित फजुल खर्चलाई कडाइका साथ नियन्त्रण गरिने बताए । कार्यक्रमबाट बचत भएको रकम पारदर्शिताका साथ दुवै संस्थाको संयुक्त कोषमा राखिने र उक्त रकम कतारमा समस्यामा परेका नेपाली श्रमिकहरूको उद्धार तथा राहतमा खर्च गरिने पौडेलले जानकारी दिए ।
सांस्कृतिक कार्यक्रमका साथसाथै कतारमा कार्यरत नेपाली महिलाहरूका लागि कानुनी साक्षरता, मानसिक स्वास्थ्य तथा श्रम अधिकार सम्बन्धी चेतनामूलक सत्र (सेसन) समेत सञ्चालन गरिने आयोजक संस्थाहरूले जनाएका छन् ।
आयोजक समितिले कतारमा स्थापित विभिन्न सामाजिक संघ,संस्थाहरुलाई सहआयोजकका रूपमा सहभागी हुन आह्वान गरेको छ । सहआयोजक बन्न इच्छुक संस्थाका लागी एक सय कतारी रियल शुल्क तोकिएको छ । सहआयोजक बन्ने प्रत्येक संस्थालाई आयोजकका तर्फबाट एउटा प्रवेश पास उपलब्ध गराइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend