साझा नेटवर्क
शिव सुवेदी काठमाडौ २ मंसिर। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जनताको अपार माया, समर्थन र जनमत प्राप्त राजनीतिक शक्ति भएकाले चोर बाटोबाट नभई मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्ने बताएका छन् । काठमाडौँमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे । उनले सरकार स्वेच्छाचारी ढंगले अघि बढिरहेको, जनतामा भय र आतंक सिर्जना गर्ने काम भइरहेको तथा राज्यका निकायहरू आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेको आरोप लगाएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले एमाले संघर्षबाट स्थापित पार्टी भएको उल्लेख गर्दै राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध लडेर आएको राजनीतिक शक्ति भएको बताए। गैरजिम्मेवार अभिव्यक्ति र मनोवैज्ञानिक आतंक फैलाएर एमालेको राजनीतिक शक्ति कमजोर बनाउने प्रयास भइरहेको भन्दै उनले यस्ता गतिविधिबाट पार्टी नहल्लिने चेतावनी दिए। ‘नेकपा एमाले दया, माया, कृपाले बाँचेको पार्टी होइन। संघर्षको मैदानबाट आएर, लडेर, जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ। सरकारको नेतृत्व जनताको कृपाले गएका हौँ। अरू कुनै प्रतिक्रियावादी शक्ति, जनविरोधी शक्ति, देशद्रोही शक्ति वा नेपालको अहित चाहनेहरूको कृपा र आशीर्वादमा एमाले सरकारमा गएको होइन,’ ओलीले भने।
उनले एमालेको राजनीतिक आधार जनताको विश्वास र संघर्ष भएको भन्दै पार्टीलाई कमजोर बनाउने उद्देश्यले फैलाइएका प्रचार, धम्की र आतंकबाट विचलित नहुने स्पष्ट पारे। वर्तमान सरकार स्वेच्छाचारी भएको ओलीको आरोप छ । वर्तमान सरकार जनताको भावना बुझेर अघि बढ्नुपर्नेमा उल्टै जनतामा डर, त्रास र आतंक सिर्जना गर्ने गतिविधिमा लागेको ओलीको आरोप छ। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि समाज गलत दिशातर्फ अघि बढेको र सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको उनले टिप्पणी गरे। सरकारको कार्यशैली लोकतान्त्रिक मान्यता, संविधान र कानुनी मर्यादाअनुकूल नभएको दाबी गर्दै ओलीले सरकारका गतिविधिले राजनीतिक अस्थिरता र अन्योल बढाएको बताए। जनताको मत र भावनालाई सम्मान गर्नुको सट्टा राज्यशक्तिको प्रयोग गरेर नियन्त्रण र दबाब सिर्जना गर्न खोजिएको उनको भनाइ थियो।
प्रधानमन्त्री संसद्को निर्धारित कार्यसूचीमा सहभागी नभई आफूखुसी संसदमा पुगेर बोल्ने समय माग्ने तथा राष्ट्रियतासँग जोडिएका विषयमा विवादास्पद अभिव्यक्ति दिने गरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे। संसद् जनताको आवाज अभिव्यक्त गर्ने सर्वोच्च राजनीतिक थलो भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री र सरकार संसद् तथा जनताप्रति जवाफदेही हुनुपर्ने बताए। राष्ट्रियता, स्वाधीनता र देशको हितविपरीत हुने अभिव्यक्ति तथा गतिविधिले मुलुकलाई कमजोर बनाउने उनको टिप्पणी थियो। ओलीले राज्यका विभिन्न अंग तथा निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको बताए। ‘राज्यका अंगहरू, निकायहरू आफ्नो काम गर्न र कर्तव्य पालना गर्न सक्ने अवस्थामा छैनन्, कारण मैले भनिरहनुपर्दैन सबैलाई थाहा छ,’ ओलीले भने, ‘यस्तो स्थितिमा देशको अस्मिता, स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्न आवश्यक छ। त्यसका लागि जनता अघि बढ्नुपर्ने अवस्था आइसकेको छ।’ ओलीले जेनजी विद्रोहलाई बहाना बनाएर तालिमप्राप्त अपराधी परिचालन गरी देशमा वितण्डा मच्चाउने काम भएको दाबी गरे।
राजनीतिक परिवर्तन र आन्दोलनका नाममा हिंसा, अराजकता तथा अस्थिरता फैलाउने प्रयास भइरहेको भन्दै उनले त्यसको राजनीतिक रूपमा प्रतिवाद गर्नुपर्ने बताए। राज्यको जिम्मेवारी देशमा शान्ति, सुरक्षा र सुशासन कायम गर्नु भए पनि वर्तमान सरकारले त्यसको विपरीत वातावरण सिर्जना गरिरहेको उनको आरोप थियो। सरकारका गतिविधिले नागरिकमा असुरक्षा र राजनीतिक शक्तिहरूबीच अविश्वास बढाएको भन्दै ओलीले देशको स्वाधीनता र लोकतान्त्रिक प्रणालीको रक्षा गर्न जनतालाई सचेत हुन आग्रह गरे।
प्रहरी नेतृत्वबाट राजनीतिक नेताहरूलाई पक्राउ गर्ने विषयमा आएका अभिव्यक्तिप्रति ओलीले कडा आक्रोश व्यक्त गरे। आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिने अभिव्यक्ति गैरजिम्मेवार भएको उनको टिप्पणी थियो। ‘छ महिनाको जागिर खाने, आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म— म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु। केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् यिनका? थुन्दिन्छु अरे!’ ओलीले आक्रोश व्यक्त गरे। उनले राजनीतिक नेतृत्वलाई धम्की दिने र राज्यका सुरक्षा निकायलाई राजनीतिक प्रतिशोधको माध्यम बनाउने प्रवृत्ति स्वीकार्य नहुने संकेत गरे।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend