साझा नेटवर्क
दर्शन सुनार, कतार माघ २४ ।
“तमु समुदायको मौलिक संस्कृति, परम्परा र चेलीबेटीप्रतिको “सम्मान”भावलाई जीवन्त राख्ने उद्देश्यका साथ तमु (गुरुङ) समाज कतार र प्ये ल्हु संघ शाखा कतारको संयुक्त आयोजनामा “माङी त्हे चेलीबेटी भेटघाट (रि-च्हमी कै पिवा) सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

शुक्रवार फूलबारी रेस्टुरेन्टको सभा हलमा कतारमा रहेका तमु समुदायका चेलीबेटी तथा गैर गुरुङ चेलीहरूको उल्लेखनीय सहभागितामा चेली र माइतीहरूको सम्बन्ध, माया,सद्भाव सहित दाई र बहिनीको पवित्र सम्बन्धलाई आजीवन दिगो राख्न”माङी त्हे चेलीबेटी भेटघाट (रि-च्हमी कै पिवा) कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।

तमुहरूको संस्कार अनुसार विधिगत रूपमा नवीन टु क्ल्हेप्री,गुरुले पुजा अर्चना गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा आसन ग्रहण सगैं सभापति, क्ल्हेप्री गुरुहरु,पच्यु गुरुहरु,बोन्पो लम गुरुहरुलाई (क्रेगी) फेटाले सम्मान गरिएको थियो। भने प्रमुख अतिथि श्रेष्ठलाई भाङ्ग्रा र फेटाले समेत सम्मान गरिएको थियो ।

तमु गुरुङ समाज कतारका अध्यक्ष चन्द्र प्रकाश् (दिनेश) को सभा अध्यक्षता तथा नेपाल आदिवासी जन जाती महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
तमु प्ये ल्हु संघ कतारका अध्यक्ष तथा कार्यक्रम संयोजक राम ल्हेगे तमुले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए । ल्हेगे तमुले चेलीबेटी भनेको माइतीको गहना र माइती भनेको चेलीबेटीहरूको ईज्जत् रहेको उनले बताए । जन्म संस्कार देखी मृत्यु सस्कार सम्मको एकाध र युग युग सम्मको सम्बन्ध रहने उनको भनाई रहेको थियो ।
गुरु नवीन टु क्ल्हेप्रीले आशिमाला समेत पढेका थिए ।
प्रमुख अतिथि श्रेष्ठ आफ्नो मन्तव्य बोल्दै विगतका बर्षहरुमा भन्दा यो वर्ष तमु ल्होसार र”चेलीबेटी भेटघाट कार्यक्रम”दुई संस्थाले संयुक्त रूपमा मिलेर गरेकोमा खुसी व्यक्त गरे । श्रेष्ठले समाजमा मेलमिलाप र एकताको प्रतीक देखाएका दुई संस्थाहरूले समाजमा अन्य संस्थाहरूलाई समेत एकतामा बाँध्न थप प्रेरणा दिएको बताए ।
उनले वैदेशिक भूमिमा रहेर पनि तमु संस्कार, संस्कृति र आपसी एकतालाई मजबुत बनाउँदै लैजान यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने र चेलीबेटी भेटघाटमार्फत आपसी आत्मीयता, सद्भाव र भाइचारा थप प्रगाढ रहने उनको भनाई रहेको थियो । श्रेष्ठलाई स्टेजमै मायाको चिनो सहित सम्मान गरिएको थियो ।
दुई संस्थाले संयुक्त रूपमा आयोजना गरेको “आत्मीय भेटघाट तथा सम्मान” कार्यक्रममा चेलीबेटीहरूलाई सम्मानपूर्वक सद्भाव व्यक्त गर्दै मायाको प्रतीक स्वरूप कोसेली प्रदान गरेका थिए । नेपाल प्रवासी तामाङ समाज कतार,लमजुङ समाज कतारले उपहार स्वरूप (सगुन) कोसेली प्रदान गरेका थिए । त्यस्तै पाल्पाली सेवा समाज, हरिनास गाउँपालिका इकाई कतारले कोसेली सहित दुई संस्थाका महिला संयोजक र तमु (गुरुङ) समाज, कतारका निर्देशक सल्लाहकार टौमाया गुरुङलाई पछ्यौरी ओढाएर सम्मान गर्दै गुन्यु चोली प्रदान गरेको थियो । कार्यक्रममा कोसेली प्रदान गरेका संस्थाहरूलाई गुरुङहरूको संस्कार अनुसार दस्तुर सहित चेलीबेटीलाई बिदाइ गरिएको थियो ।
समाजले आयोजना गरेका हरेक कार्यक्रममा गायन तथा नृत्यमा प्रस्तुति दिएका तमु सांस्कृतिक परिवारका कलाकारहरूलाई र “तमु ल्होसार कार्यक्रमलाई विभिन्न कोणबाट सहयोग गरेका सहयोगी संघ संस्था, सहयोगी दाता तथा कार्यसमितिका पदाधिकारीहरूलाई सम्मान पत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
तमुहरूको पहिचान सहितको झल्को मेटिएको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति चन्द्रले चेलीबेटीहरू समाजको आधार, संस्कार र पहिचानको संवाहक भएको उल्लेख गर्दै उनीहरूको सम्मान गर्नु समुदायको दायित्व भएको धारणा राखे । उनले यो वर्ष मात्र न भएर भविष्यमा पनि दुई संस्था सामूहिकमा मिलेर तमुहरूका हरेक चाडहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे । माङी त्हे तमु समुदायको पहिचान र संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण पर्व हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend