logo
  • शुक्रबार, साउन ८ २०८३

मधेसको भूमिमा राजनीतिक परिवर्तनको संकेत देखिएको छ: अमरेश कुमार सिंह


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

रंजित चौरसिया, वीरगंज माघ २४ ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ का उम्मेदवार अमरेश कुमार सिंहले मधेसको राजनीतिक परिदृश्यमा परिवर्तनको संकेत देखिन थालेको बताएका छन्। शनिबार वीरगंजस्थित गोपलमण्डलीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले जनतामा वैकल्पिक राजनीतिक शक्तिप्रति बढ्दो विश्वास देखिएको बताए।

सिंहले विगतका परम्परागत दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै भने, “अब जनता सचेत छन्। पुराना राजनीतिक शैली र डर देखाएर राजनीति चल्ने अवस्था छैन।” उनका अनुसार मधेसमा युवाको भूमिकाले राजनीतिक दिशानिर्देश परिवर्तन गरिरहेको छ।
उनले युवाहरू रोजगारीको खोजीमा विदेशिनु पर्ने बाध्यता अन्त्य गर्न देशमै अवसर सिर्जना गर्नु आवश्यक रहेको बताए।

बालेन साह नेतृत्वको सम्भावित सरकार बनेपछि देशमै रोजगारीका अवसर सृजना हुने दाबी गर्दै सिंहले विकास र सुशासनमा नयाँ अभ्यास सुरु हुने विश्वास व्यक्त गरे। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का विपक्षी उम्मेदवारतर्फ संकेत गर्दै सिंहले राजनीतिक नेतृत्वले “पानी, आगो र युवासँग खेलवाड गर्न नहुने” चेतावनी दिए। उनले युवाको शक्ति र जनभावनालाई कमजोर ठान्नेहरू आफैं कमजोर पर्ने उल्लेख गरेका थिए।
कार्यक्रममा सहभागी कार्यकर्ता तथा समर्थकहरूका अनुसार सिंहको अभिव्यक्तिले उत्साह थपिएको थियो।

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का रास्वपा प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेता सुनिल कुशवाह, नेकपा एमालेका रामबाबु सिंह (मधेश प्रदेश कमिटी सदस्य), मनोज शाह (एमालेका पूर्व विद्यार्थी नेता) तथा ठराब पूर्व स्ववियु सभापति निरज साहलगायत नेताहरूले पार्टी प्रवेश गरेका थिए।

पर्सागढी नगरपालिका, बहुदरामाई नगरपालिका तथा वीरगंज महानगरपालिकाका विभिन्न वडाबाट नेकपा एमाले, जसपा, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी उनीहरू रास्वपामा प्रवेश गरेको युवा नेता लखन गुप्ताले बताए । नवप्रवेशीहरूलाई सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ का उम्मेदवार तथा प्रमूख अतिथि अमरेश कुमार सिंहले खादा र अबिर लगाएर स्वागत गरेका थिए। बीरगंज १० स्थीत गोपलमण्डलीको कार्यक्रममा ठूलो संख्यामा नेता–कार्यकर्ता पार्टी प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend