साझा नेटवर्क
दर्शन सुनार, कतार भदौ १४ ।
कतारदेखि गृह जिल्ला धनकुटासम्म सामाजिक कार्यमा सक्रिय रहेको धनकुटा सेवा समाज कतारले आन्तरिक रूपमा “तिज विशेष तथा चेलीबेटी भेटघाट कार्यक्रम”भव्य रूपमा सम्पन्न गरेको छ । समाजले शुक्रवार सनैयामा अवस्थित रेड चिल्ली रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष तिल विक्रम मगरको सभाध्यक्षमा, कोसी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष श्री पदम कुमार घिमिरे ज्युको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको हो ।

विधिगत रूपमा दीप प्रज्वलन गरेर अगाडी बढेको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष रबिन मगर मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यक्रमको बारेमा कार्यक्रम संयोजक अनु मगरले विगतका बर्सहरूमा जस्तै यो वर्ष पनि नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको प्रस्ट पारेकी थिइन ।

तिज विशेष कार्यक्रममा कतारमा स्थापित विभिन्न जिल्ला संस्था तथा जातीय संस्थाका दिदीबहिनीहरूले कार्यक्रममा सगुन (कोसेली) प्रदान गरेका थिए । कोसी प्रदेशमा आबद्ध रहेका विभिन्न जिल्ला संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति सहित मन्तव्य रहेको थियो । समाजले स्थापना काल देखी नै गृह जिल्लाको विकास सगैं कतारमा विभिन्न उत्कृष्ट सामाजिक कार्यहरू गर्दै आइरहेको र आगामी दिनमा समेत थप राम्रा काम गर्न सल्लाह सुझाव दिँदै सामाजिक कार्यमा अग्रसरको निमित्त वक्ताहरूले शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले प्रदेश भित्रकै सामाजिक कार्यमा सक्रिय रहेको धनकुटा सेवा समाजले सामाजिक कार्यमा अग्रसर रहेको बताउँदै मीठो प्रशंसा गरे । उनले “आन्तरिक तिज तथा चेलीबेटी भेटघाट कार्यक्रमले कतारमा रहेका धनकुटेली चेलीबेटीहरू र दाजुभाइको माया सम्बन्धमा सदैव कायम रहने बताए । उनले समाजले स्थापना काल देखी नै मनाउँदै आएको पर्वलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गर्दै सदैव सहकार्य गरेर अगाडि बढ्न समेत सुझाव दिए ।
कतारमा रहेका स्थानीय कलाकारहरूको समेत सागिंतिक प्रस्तुति रहेको कार्यक्रमको सहजीकरण समाजका महासचिव योगेन्द्र बरालले गरेका थिए । सभापति मगरले खाडी मुलुक कतारलाई कर्म थलो बनाउँदै आएका गृह जिल्लाका दाजु भाइ तथा कतारमा रहेका दिदीबहिनीहरूलाई चाडपर्वको अवसर पारेर समाजले पारिवारिक माहौलको सिर्जना गर्ने बताउँदै भई परि आएको खण्डमा समेत एक अर्काको दुखमा सहयोग पुग्ने बताए ।
मगरले कार्यक्रमलाई आर्थिक, नैतिक,भौतिक र सामाजिक रूपमा विभिन्न कोणबाट सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा गर्दै धन्यवाद व्यक्त गरे । धनकुटा सेवा समाज कतारमा स्थापित एक सामाजिक संस्था हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend