साझा नेटवर्क
साझा नेटवर्क, कतार असोज २९।
गुल्मी सेवा समाज कतारद्वारा आयोजित वृहत शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रमको तयारीलाई तीव्रता दिइएको छ । समाजले हिन्दु धर्मावलम्विहरुको दोश्रो महान पर्व शुभ दीपावलीको अवसर पारेर यहि आउदो २८ अक्टोबर २०२२ का दिन वृहत शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रम आयोजना गरेको हो ।
समाजले शुभ दीपावलीको अवसर पारेर हरेक वर्ष शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रम आयोजना गर्दै आइरहेको छ । नेपाली रिति रिवाज र धर्म संस्कृतिकको जगेर्ना गर्दै प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने देउसीभैलो, मारुनी नाच, सोरठी नाच लगायतका विभिन्न सांगीतिक प्रस्तुतिहरु रहने समाजका अध्यक्ष कुमार अविरल पन्थीले साझा नेटवर्कलाई जानकारी दिए ।
देउसीभैलो कार्यक्रममा कुनै पनि कमि हुन नदिई उपस्थित सम्पूर्ण दर्शक महानुभावहरुलाई स्वदेशमा रहेको झल्को मेटाउने प्रस्तुतीहरु प्रस्तुत गरी मनोरञ्जन प्रदान गर्नेमा ढुक्क रहेको समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक कमल अर्यालले बताए ।
प्रवासमा रहेका गुल्मेली तथा गैर गुल्मेली कलाकारहरुको साथमा कार्यक्रममा विशेष आकर्षणका रुपमा देउसीभैलो, मारुनी नाच, सोरठी नाच, गुल्मी जिल्ला लगायत पश्चिमी छिमेकी जिल्लाहरुमा नाचिने विभिन्न नाचहरु, तथा मगर समुदायमा नाचिने मारुनी नाच लगायतका प्रस्तुतिहरु रहने साँस्कृतिक संयोजक मित्र विएसले जानकारी दिए ।
समाजले कतारमा स्थापित विभिन्न वैचारिक संघ-संस्थाहरु, प्रदेश संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, वुद्धिजीवी, समाजसेवी, व्यवसायी लगायत गुल्मेली तथा गैर गुल्मेलीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सभ्य एंव भव्य रुपमा सफल बनाईदिन समेत अनुरोध गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend