logo
  • शुक्रबार, साउन ८ २०८३

रिडीमा बृहत निःशुल्क स्वास्थ्य शिविर दुई हजार बढीले लिए सेवा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असोज १० ।
पाल्पाको रिब्दिकोट गाउँपालिका –१ की ज्ञानीकला कुमाललाई केही समय पहिलेबाटै कान कराउने, निद्रा नलाग्ने जस्ता समस्या देखा पर्न थाल्यो ।
उक्त रोगको उपचार गराउन उनी पाल्पाको प्रवास अस्पतालमा जानुपथ्र्यो । तर आर्थिक अभावका कारण उनले उपचार गराउन सकेकी थिइनन् । उनले स्थानीय सञ्चार माध्यमबाट गुल्मीको रुरुक्षेत्र गाउँपालिका –१ रिडीमा निःशुल्क स्वास्थ्य शिविर हुने थाहा पाइन् र उपचार गराइन् । ‘उपचार गराउन पाल्पाको मिसन वा प्रवास अस्पताल जानुपथ्र्यो, खर्च (पैसा) नभएर जान सकेकि थिइन ।’ उनले भनिन्, ‘नजिकै (रिडी) शिःशुल्क औषधीसहित डाक्टर आउँदा धेरै राहत भयो ।

’ उनले आफुलाई डाक्टरले जाँच गरेको र औषधी पनि निःशुल्क पाएकोमा खुसि व्यक्त गरिन् । रिडी र रिब्दिकोट फरक जिल्ला भएपनि सिमाना जोडिएका ठाउँ हुन् । रुरुक्षेत्र गाउँपालिका–१ रिडीकै सीमा ज्ञवालीले पनि यही असौज ७ गते स्वास्थ्य शिविरमा गइन् र उपचार गराइन् । आफ्नो समस्या भन्न नचाहेकी उनले शिविर संचालन गरेपछि धेरै राहत मिलेको प्रतिक्रिया दिइन् । ‘विपन्न परिवारलाई शिविरले धेरै सहजता दियो ।’ उनले भनिन्, ‘हाम्रो ठाउँमा यत्ति ठुलो शिविर पहिलोपटक हो, आयोजकलाई धन्यवाद दिन चाहान्छु ।’ त्यसका साथै उनले आफुलाई बुटबल वा काठमाण्डौ जानुपर्ने रोगको उपचार रिडीमै भएकोमा खुसि व्यक्त गरिन् ।

कुमाल र ज्ञवाली त रुरुक्षेत्र गाउँपालिकाले आयोजना गरेको शिविरबाट लाभाम्बित हुने केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । उनीहरु जस्ता थुप्रैले शिविरबाट सेवा लिएका छन् । रुरुक्षेत्र गाउँपालिकाले यही असौज ७, ८ र ९ गते गरी तीन दिनसम्म ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’को अयोजना गरेको थियो । शिविरमा मुटु, पेट, स्त्री रोग, आँखा लगायतका रोगको उपचार गरिएको छ । औषधी पनि निःशुल्क रुपमा प्रदान गरिएको छ भने आँखाको शल्यक्रिया पनि निःशुल्क गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

शिविरमा ८१२ पुरुष र एक हजार २१९ महिला गरी कुल दुई हजार ३१ जनाले सेवा लिएका छन् । शिविरमा ८६१ जनाले आँखाको जाँच गराएका छन् । जसमा ४५० जनालाई चस्मा वितरण गरिएको छ भने २८ जनाको मोतियोबिन्दुको शल्यक्रिया गरिएको छ । त्यस्तै २५७ जनाले पेटसम्बन्धि, ३८९ जनाले मुटुसम्बन्धी, १०७ जनाले स्त्री रोगसम्बन्धि र ७४६ जनाले जेनेरल मेडिसिनसम्बन्धि सेवा लिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत इश्वरी न्यौपानेले जानकारी दिए । जसमा नेपाल ह्दयरोग प्रतिष्ठान, नेपाल नेत्र ज्योती संघ, लुम्बिनी मेडिकल कलेज पाल्पा र नेपाल औषधी व्यवसायी संघको सहयोग रहेको थियो । शिविरमा सम्बन्धित रोगका विशेषज्ञ डाक्टरको समुहले जाँच गरेको थियो ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका साथसाथै चन्द्रकोट, कालिगण्डकी, छत्रकोट, गुल्मीदरबार एवम् पाल्पाका विभिन्न स्थानीय तहका नागरिकले समेत स्वास्थ्य शिविरबाट सेवा लिएका थिए । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले आफुहरुले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको प्रतिक्रिया दिए । ‘पालिकाभित्र धेरैजना सामान्य रोगले पनि पीडित बनेको जानकारी पायौँ ।’ ज्ञवालीले भने, ‘छलफल गर्दै जाँदा बृहत शिविर राख्ने योजना बन्यो, धेरैजनाले सेवा पाउदाँ खुसि लागेको छ ।

’ अध्यक्ष ज्ञवालीले अब छिट्टै घर–घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्ने पनि जानकारी दिए । उक्त कार्यक्रमअन्तरगत बृद्ध, अशक्त एवम् अपाङ्गहरुलाई घरमै पुगेर प्राथमिक तहको स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend