साझा नेटवर्क
हुमाकान्त पोखरेल
गुल्मी, ७ असाेज । स्थानीय तहका प्रतिनिधिहरुले शपथ ग्रहण गरेका एक सय दिन पुगेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पालिका अध्यक्ष-प्रमुखहरुले जेठ ६ गते शपथ ग्रहण गरेका थिए । उनीहरुको भदौ १२ गते एक सय दिन पुरा भएको छ । शपथ ग्रहण पछि पदभार ग्रहण गर्दा नै कतिपय पालिकाहरुले महत्वपूर्ण निर्णय गरे भने कतिपयले औपचारिकताका लागि मात्र निर्णय गरे । पदभार ग्रहण गर्दाका निर्णयहरु कार्यपालिकाको बैठक एवम् पालिकाको नीति तथा कार्यक्रममार्फत अहिले कार्यान्वयनको चरण्मा छन् । विपन्नलाई स्वास्थ्य बीमामा ५० प्रतिशत छुट, २० युनिटसम्मको विद्युत निःशुल्क, सुत्केरीको लागि निःशुल्क यातायात लगायतका कार्यक्रम पालिकाका साझा कार्यक्रम जस्तै हुन् ।

धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पाेखरेल
धुर्कोट गाउँपािलकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दाकै दिन चार निर्णय गरे । विद्युतीय चुलोम ५० प्रतिशत छुट दिने, दलित एवम् विपन्न परिवारका १० जना विद्यार्थीलाई एसइइपछिको तीन बर्षे प्राविधिक शिक्षामा छात्रबृत्ती दिने, बुवा–आमा नभएका २० जना विद्यार्थीहरुलाई कक्षा १२ सम्मको आवासीय शिक्षाको व्यवस्था गर्ने र घरको बीमामा ५० प्रतिशत छुट दिने निर्णय भयो । उक्त निर्णय अहिले कार्यान्वयनको चरण्मा छन् । छात्रबृत्तीको लागि पालिकाले सूचना प्रकाशन गरेको छ । आवासीय शिक्षाको लागि जैसिथोकमा निर्माण गरिएको भवनलाई व्यवस्थापन गरिएको छ भने घर बीमाको लागि शिखर इन्स्योरेन्ससँग सम्झौता गरेको छ । अब केही समयपछि घरको बीमा गर्न सुरु गरिने गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । हालैमात्र पालिकाले वस्तुस्थित विचित्र गुफानजिकैदेखि बुल्म चौरको फेदीसम्म पुग्ने झोलुङ्गे पुलको शिलन्यास गरेको छ । पुल निर्माण भएपछि गुफासम्म पुग्ने पर्यटकको सङ्ख्यामा पनि बृद्धि हुने पोखरेलले बताए ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी
रेसुङ्गा नगरपालिकामा प्रमुख र उप–प्रमुखले पदभार ग्रहण गर्दाकै दिन मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने, डायलोसिसको लागि गुल्मी अस्पताललाई निःशुल्क सामग्री दिने, पञ्जिकरणका सेवा घर–घरमै उपलब्ध गराउने निर्णय गरेका थिए । जसअन्तरगत जन्मदर्ताको प्रमाण–पत्र घरमै पु¥याइएको छ । जिल्ला आँखा अस्पतालमा अहिले नगरभित्रका नागरिकको निःशुल्क शल्लिक्रिया भइरहेको छ भने डायलोसिसको सामग्री दरिद प्रक्रियामा रहेको नगरप्रमुख खिलध्वज पन्थीले बताए । नगरपालिकाले एसइइमा पालिकाभित्रका ३.२ जिपिए भन्दा बढी ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । पालिकाभित्रकै विद्यालयमा कक्षा ११, १२ मा पढ्ने विद्यार्थीको लागि दुई बर्षसम्म मासिक चार हजारका दरले उपलब्ध गराउने निर्णय गरिएको मेयर पन्थीले जानकारी दिए ।

मालिका गाउँपालिकाले स्वास्थ्य बीमामा विपन्न नागरिकलाई ५० प्रतिशत छूट दिने निर्णय गरेको छ । त्यस्तै पशुको गोबर र गर्भ परीक्षणको लागि ल्याब स्थापना कार्यलाई पनि अगाडी बढाएको अध्यक्ष देविराम अर्यालले जानकारी दिए । अहिलेसम्म सबै वडाका ९० जनालाई आठ लाख बढी रकम टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बैंकमा जानैपर्ने तर जान नसक्ने बृद्धबृद्धाको लागि टोलमै बैंकका प्रतिनिधि र जनप्रतिनिधि पुगेर भत्ता वितरण गरिएको अर्यालले बताए । मालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्यलाई अगाडी बढाएको छ ।
आगामी शैक्षिक सत्रदेखि कक्षा १–८ सम्म लागु गर्नेगरी निर्माणकार्य अगाडी बढाइएको छ । अहिले पाठ्यक्रमको अन्तिम मस्यौदा तयार भएको छ । नेटा–गंगरे सडकको लागि दुई करोड ८० लाख टेन्डर प्रकाशित भएको छ । त्यस्तै अर्जै र घमिर–सिलादी सडकको लागि बजेट बिनियोजन गरिएको अर्यालले बताए ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसी
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले पदभार ग्रहण गर्दाकै दिन विपन्न नागरिकको स्वास्थ्य बीमामा ५० प्रतिशत छूट दिने, स्थानीय स्वास्थ्य संस्थामा प्रसुती हुन नसक्ने महिलाहरुको लागि बाहिर जाने यातायात खर्च पालिका उपलब्ध गराउने निर्णय गरे । उक्त निर्णयहरु अहिले कार्यान्वयन भइरहेका छन् । पालिकाले हालसम्म शान्तिपुर र मजुवा बजारमा सडकबत्तिको व्यवस्था गरेको छ ।
‘सफा चन्द्रकोट’ अभियानअन्तरगत हालसम्म ३९० वर्गिकृत डस्विन वितरण गरिएको छ । विद्यालय, स्वास्थ्य चौकी, पर्यटकीय क्षेत्र लगायतका क्षेत्रमा वितरण गरिएका डस्विनमा कुहिने र नकुहिने फोहोर राखिने पालिका अध्यक्ष युवराज केसीले जानकारी दिए । रुपाकोट, शान्तिपुर र तुराङमा बृक्षारोपण गरिएको छ ।
पालिकाभित्रका भुस्याहा र निजि कुकुरलाई रेबिज र बाख्राको लागि पिपिआर खोप निःशुल्क वितरण गरिएको केसीले बताए । गाउँपालिकामा आएका नयाँ जनप्रतिनिधिहरुले हालसम्म सातवटा कार्यविधि, दुईवटा ऐन र एउटा नियमावली समेत पारित गरेको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिए ।

गुल्मी दरबार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डे
गुल्मीदरबार गाउँपालिकाले सुत्केरीको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । प्रतिनिधिहरुको पहिलो बैठकले स्थानीय स्वास्थ्य संस्थामा प्रसुती हुन नसक्ने महिलाहरुको लागि तम्घास, पाल्पा र बुटबलसम्मको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको हे ।सोही कार्यक्रमको लागि यो बर्ष २५ लाख बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए । यसबाट महिलाहरुले सेवा पनि लिइसकेका छन् । पालिकाले विपन्न र असहाय नागरिकको लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम ल्याएको छ ।
उक्त कार्यक्रमको लागि ३० लाख बजेट व्यवस्थापन गरिएको छ । त्यस्तै २० युनिटसम्मको विद्युत महसुल गाउँपालिकाले तिर्ने निर्णय गरिएको छ । यसका लागि २० लाख बजेट बिनियोजन गरिएको छ । सामुदायिक विद्यालयबाट एसइइ दिने एक जनालाई एम्.बी.बी.एस्. सम्मको पढाई खर्च पालिकाले व्यहोर्ने भएको छ ।उल्लेखित कार्यक्रमबाहेक जनप्रतिनिधिहरुको सय दिनको अवधिमा जनतासँग गाउँपालिका कार्यक्रम, अध्यक्ष अशोककुमार थापा छात्रबृत्ति कोष, मेरी आमा–स्वस्थ आमा लगायत कार्यक्रम संचालन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

मदाने गाउँपालिका अध्यक्ष महेन्द्र कुँवर
मदाने गाउँपालिकाले २० युटिनसम्मको विद्युत महसुल पालिकाले तिरिदिने निर्णय गरेको छ । त्यस्तै स्थानीय बर्थिङ सेन्टरमा प्रसुती हुन नसक्ने महिलाहरुको लागि बाहिर लैजानुपरेमा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरिएको पालिका अध्यक्ष महेन्द्र कुँवरले जानकारी दिए ।

सत्यवती गाउँपालिकाका सूचना अधिकारी नेत्र प्रसाद पाण्डे
सत्यवती गाउँपालिकाको वडा नम्बर ३ मा छ रोपनी जग्गामा चिया खेती सुरु गरिएको छ । पहिलो चरणमा तीन हजार चियाका बिरुवा रोपिएको गाउँपालिकाका सूचना अधिकारी नेत्र प्रसाद पाण्डेले जानकारी दिए । वडा नम्बर ३ कै स्वास्थ्य चौकीमा डिजिटल एक्सरे सुरु गरिएको छ भने वडा नम्बर १ को रुद्रवेणी र ५ को साहाघाटमा सार्वजनिक शौचालय निर्माण गरि प्रयोगमा ल्याइएको छ ।

छत्रकाेट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे
छत्रकोट गाउँपालिकाले पालिकाभित्र निःशुल्क फोटोकपि सुविधा उपलब्ध गराएको छ । नजिकमा पसल नभएकोले सानो कामको लागि फोटोकपि गर्न आधा घण्टाभन्दा बढी हिड्नुपर्ने भएकोले यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । २० युनिटसम्म बिजुलीको शुल्क पालिकाले व्यहोर्ने, स्थानीय स्वास्थ्य संस्थाभन्दा बाहिर प्रसुती हुनुपर्ने महिलालाई निःशुल्क एम्बुलेन्स सुविधा, दुईवटा एम्बुलेन्स खरिद गर्ने लगायतका निर्णय छत्रकोटले गरेको छ । कक्षाकोठामा शिक्षकलाई मोबाइल फोन निषेध गरिएको छ । गाउँपालिकाले यस आर्थिक बर्षमा युवा उद्यमी कार्यक्रम अन्तरगत सय जना युवाहरुलाई ७५ प्रतिशत व्याज मिनाहाको कार्यक्रम ल्याएको छ । जसमा वित्तीय संंस्था र बैंकसँग समन्वय गरी सवा पाँच करोडसम्म ऋण वितरण गर्ने योजना रहेको अध्यक्ष पाण्डेले बताए । यस कार्यक्रममा व्याज मिनाहाको लागि पालिकाले चालु आर्थिक बर्षमा २० लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै वडा नम्बर १ हुँगा र २ पल्लिकोटमा टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता दिने पनि पालिकाले तयारी थालेको छ ।

कालीगण्डकी गाउँपालिका उपाध्यक्ष मन्जु कुमारी दर्लामी
कालिगण्डकी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दाकै दिन विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेका थिए । उक्त निर्णय कार्यान्वयनको चरणमा छ । जसमा पालिकाले ३० लाख बजेट बिनियोजन गरेको छ । २० युनिटसम्मको विद्युत महसुल पालिकाले तिरिदिने एवम् महिला स्वास्थ्य स्वयम् सेविकालाई एक हजार थप गर्ने निर्णय गरेको छ । यसै शैक्षिक सत्रबाट गाउँपालिकाले सिटिइभिटीअन्तरगतको प्राविधिक कक्षा संचालन गर्ने भएको छ । १८ महिने कक्षामा यो बर्षको लागि ४० जनाको दरबन्दी छ । आगामी असोज १ गतेबाट कक्षा संचालन हुने गाउँपालिका उपाध्यक्ष मन्जु कुमारी दर्लामीले जानकारी दिइन् । गाउँपालिकाले छोरी जन्मिदा पाँच हजार दिने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।

मुसीकाेट नगरपालिकाकी उप–प्रमुख गंगा श्रेष्ठ
मुसिकोट नगरपालिकाले उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण गर्ने निर्णय गरेको छ । पालिकाभित्रका गरिब, विपन्न एवम् जेहेनदार विद्यार्थीको लागि छात्रबृत्ति कार्यक्रम संचालन गरिऐका छ । जसमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई पोशाक खरिद एवम् शिक्षण शुल्क तिर्नको लागि प्रति विद्यार्थी १५ हजारसम्म नगरपालिकाले दिएको उप–प्रमुख गंगा श्रेष्ठले जानकारी दिइन् । पालिकाले सडकको नियमित सुचारु भएको जनाएको छ । उपचारमा सहजता ल्याउने उदेश्यले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्राथमिक उपचारका सामग्री पनि प्रदान गरिएको उप–प्रमुख श्रेष्ठले बताइन् ।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दाकै दिन २० युनिटसम्मको विद्युत महशुल निःशुल्क उपलब्ध गराउने निर्णय गरेका थिए । त्यस्तै हालसम्म रानिबासमा दुई सय मिटर सडक पक्की गरिएको छ भने ट्रि हाउसमा सिढी निर्माण गरी थप व्यवस्थित बनाइएको छ । कफि अनुसन्धान केन्द्रसम्म पुग्ने सडकलाई नाली निर्माण गरी हिउँद र बर्षायाममा चल्न सक्ने बनाइएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । यसै बर्षबाट ‘घर–घरमा स्वास्थ्य’ कार्यक्रम संचालन गर्ने र उक्त कार्यक्रमअन्रतगत अपाङ्ग, ज्येष्ठ नागरिक, गर्भवती महिला र अशक्तहरुलाई घरमै गएर सेवा प्रदान गर्ने निर्णय गरिएको ज्ञवालीको भनाई छ । पालिकाले माटो परीक्षणको ल्याब संचालन गर्ने, कुकुरको बन्ध्याकरण गर्ने लगायतका निर्णय गरेको र उक्त निर्णयहरु अब कार्यान्वयनको चरणमा जाने गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।

इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुवँर
इस्मा गाउँपालिकाले कक्षा ११ र १२ मा निःशुल्क शिक्षा कार्यान्वयन गरेको छ । जसमा मासिक शुल्क छुट गरिएको छ । कुनै पनि शिक्षिकाको सुत्केरी बिदा ९८ दिन र श्रीमानको सुत्केरी स्याहार बिदामा १५ दिनको लागि पालिकाले वैकल्पिक व्यवस्था गरेको छ । जसका लागि गाउँपालिकाले स्वयम्सेवक शिक्षक नियुक्त गर्ने र खाली भएको विद्यालयमा पठाउने निर्णय गरेको उपाध्यक्ष एवम् प्रवक्ता पार्वती कुँवरले जानकारी दिइन् । ‘प्राविधिक शिक्षालय उपाध्यक्ष छात्रबृत्ति कोष’ अन्तरगत अमिन र ल्याब पढ्नेलाई छात्रबृत्ति प्रदान गर्ने कार्यक्रम अन्तरगत तीन लाख बजेट व्यवस्थापन गरिएको छ । पालिकाले ५५ बर्षभन्दा माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने, आँखाको निःशुल्य शल्यक्रिया र यातायात खर्च उपलब्ध गराउने एवम् उपाध्यक्ष बस्ने आवाशलाई छलफल कक्ष बनाउने र ३५ दिनभित्र सबै निवेदनको किनारा लगाउने निर्णय गरेको उपाध्यक्ष कुवँरले बताइन् । त्यस्तै हिमालय माविबाट कृषि प्राविधिकतर्फ उत्कृष्ट अंकसहित उत्तिर्ण हुने एकजनालाई पालिकाले सेवा सुविधासहित कृषि प्राविधिकको रुपमा नियुक्त गर्ने निर्णय गरेको कुँवरले बताइन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend