साझा नेटवर्क
हुमाकान्त पोखरेल
२० भदौ, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एमालेमै फर्किएका छन् । सोमबार एमाले पार्टी कार्यालयमा एकता घोषणा कार्यक्रमको आयोजना गरी समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल, अध्यक्ष नरेश भण्डारी, युवा संघका नेता हिमाल श्रेष्ट लगायतका नेताहरु एमालेमै फर्किएका हुन् । आफुहरु जुन लक्ष्य लिएर समाजवादी पार्टीमा लागेको हो, त्यसअनुसार काम हुन नसक्दा एमालेमै फर्किएको जिल्ला अध्यक्ष नरेश कुमार भण्डारीले बताए ।
‘स्थानीय तहको निर्वाचनमा आफ्नै मित्रहरुलाई पराजित गर्नमा हामीहरुले ठुलो भूमिका खेल्यौ ।’ भक्कानिदैँ भण्डारीले भने, ‘त्यो हाम्रो तर्फबाट गरिएको भुल थियो, अहिले त्यसलाई सच्चाएका छौ ।’ जिल्ला इन्चार्ज गणेश खनालले आफुहरु कम्युनिष्ट भएर काँग्रेससँग सहकार्य गरेर समाजवाद नआउने भएकोले समाजवादी छोडेको बताए । कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले गुल्मी जिल्लाबाट एकताको संदेश दिएको उल्लेख गरे । साथै अब पार्टीमा काम गर्ने शिलशिलामा पनि कहिल्लै भेदभाव नगर्ने समेत प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उप–महासचिव प्रदिप ज्ञवालीले समाजवादीका नेताहरुले सही समयमा सही निर्णय गरेको बताए ।
पछिल्लो समय गठबन्धनको सरकारले जनपक्षीय काम नगरेकोले समाजवाद निर्माणका लागि एमालेमा आउनु राष्ट्र निर्माणको महत्वपूर्ण बिषय भएको ज्ञवालीको भनाई छ । उता एकीकृत समाजवादी गुल्मीले भने नेता भण्डारी र खनाललाई पदको दुरुपयोग गरेको आरोप लगाएको छ । समाजवादीका जिल्ला सह–इन्चार्ज गणेश विश्वकर्मा, उपाध्यक्षद्धय चन्द्र सुनार र राममल्ल ठकुरीद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा पार्टी हितविपरित काम गरेकोले निज भण्डारी र खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको उल्लेख गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend