logo
  • शनिबार, भाद्र २० २०८३

बेलायतमा गुल्मेली समर महोत्सव भव्य रुपमा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

शिव भण्डारी, लण्डन ।
बेलायतमा रहेका गुल्मेलीहरुको वार्षिक भेला तथा समर भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आइतबार फार्नबरोको स्यामुएल कोडी स्कुलमा समाजले आयोजना गरेको वार्षिक भेला विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम सहित सम्पन्न भएको हो । समाजका अध्यक्ष वीर बलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, विशेष अतिथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, एवम् सल्लाहकार टाम ढेगा, पूर्व अध्यक्ष अर्जुन गौतम लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा लण्डनस्थित पशुपतिनाथ मन्दिरका मूल पूजारी निलहरी घिमिरेले मन्त्रोत्चारण गरी स्वस्ती शान्ति गर्दै दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रमको अर्को रोचक आकर्षण प्रथम नौमति बाजा गुल्मी यूके समूहको विशेष प्रस्तुति थियो । त्यससबाहेक कार्यक्रमस्थलमा सहभागीले फरक फरक समूहमा एकैसाथ मौलिक गुल्मेली ठाडो भाका, झयाउरे देखि रोइला, भजन र तीजगीतका नाचगानसम्म प्रस्तुत गरिरहँदा माहौल नेपालमय बनेको थियो ।

सो अवसरमा आकर्षक ३ तोला सुनको उपहार पुरस्कार सहितको राफल ड्र, नेपालबाट भ्रमणमा आएका अभिभावकहरुको सम्मान लगायतका कार्यक्रम पनि सम्पन्न भएका छन् । कार्यक्रममा सांस्कृतिक सचिव माया केसी,सचिब मोहन घिमिरे राफल ड्रका लागि कोअर्डिनेटर तारा भट्टराई र प्रवक्ता राधा खरेल लगायतले अतिथि सत्कार एवम् सयोंजन गरेका थिए ।कार्यक्रममा गुल्मेली गायिका शन्तिरानी परियारले लोक गीत प्रस्तुत गर्दै दर्शकहरुलाई नचाएकी थिईन् भने स्थानिय कलाकार तथा भाइ बहिनिहरुले नाच प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भाग लिन लण्डन र आसपासका क्षेत्रहरुबाहेक बर्मिंगहम, नटिंगहम, लेस्टर, पिटरबरो, स्कटल्याण्ड लगायतका क्षेत्रबाट १५ सय गुल्मेलीहरुको सहभागिता रहेको समाजका उपाध्यक्ष बरुण भण्डारीले बताए ।

कुशल कार्यक्रम संचालक एवम् समाजका महासचिब रुद्र थापाले संचालन गरेको कार्यक्रममा समाजकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक मञ्जु भण्डारीको स्वागत मन्तव्य रहेको थियो ।कार्यक्रममा काउन्सिलरहरु सहित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी सहभागी थिए । कार्यक्रमलाई स्थानीय काउन्सिलर नेम थापा,जित रानाभाट,जिब बेल्बासे र प्रवेश केसी लगायत सबै काउन्सिलरहरुले कार्यक्रम अत्यधिक राम्रो रहेको भन्दै नेपाली संस्कृति जोगाउन समेत महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।स्वादिष्ट खानाका लागि द प्यालेस अल्र्टसर्टले व्यवस्था गरेको थियो ।

सन् २००७ मा स्थापित बेलायतका गुल्मेलीहरुको यो साझा संस्थाले अहिलेसम्म नेपालमा विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै नेपालमा करोडौं रूपैयाँ बराबरको मानवीय सहयोग गरिसकेको छ । समाजले हरेक वर्ष गर्ने वार्षिक भेलाको कार्यक्रममा बेलायतको नेपाली समुदायमा आयोजना हुने ठूलो इभेन्टहरु मध्येको एक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend