साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी जेठ ०४।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की केन्द्रिय सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृह जिल्ला गुल्मीमा समावादी पार्टीका नौ जनाले वडासदस्य जितेका छन् ।
जिल्लाका विभिन्न पालिकामा पाँच दलीय गठबन्धन बनाएर समाजवादीका सदस्यले निर्वाचनमा जित हाँसिल गरेका हुन् । जसअनुसार मदाने र मुसिकोटमा तीन/तीन, मालिकामा दुई र इस्मा गाउँपालिकामा एकजना वडासदस्य विजयी भएको पार्टीका जिल्ला अध्यक्ष नरेशकुमार भण्डारीले जानकारी दिए ।
मदानेमा ‘रुख’ चिन्ह लिएर वडा नम्बर १ मा खिम बहादुर केसी, वडा नम्बर २ मा महेन्द्र जिसी र वडा नम्बर ३ मा सुन्तला विक वडासदस्यमा विजयी भए । मालिकामा ‘हँसिया हथौडा’ चिन्ह लिएर वडा नम्बर २ मा तातीदेवि विक, वडा नम्बर ८ मा ‘रुख’ चिन्ह लिएर सागर गिरी निर्वाचित भएका छन् । त्यस्तै ‘रुख’ चिन्हबाट इस्मा – ६ मा गोपाल सुनार, मुसिकोट – २ मा राधिका घिमिरे र राम बहादुर महत एवम् मुसिकोट –३ मा सावित्रा भण्डारी निर्वाचित भएको अध्यक्ष भण्डारीले जानकारी दिए । पार्टीले मुसिकोट र धुर्कोटमा उप–मेयर, उपाध्यक्ष उठाएपनि सफलता पाएनन् । जिल्लाभरी समाजवादीका २० जना उम्मेदवार रहेका थिए ।
पार्टीका जिल्ला अध्यक्ष भण्डारीले बुधबार एक विज्ञप्ती जारी गर्दै मतदाता एवम् मतदानलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद् दिएका छन् । स्थानीय तहको निर्वाचनमार्फत आफ्नो पार्टी सफल हुन नसकेपनि प्रतिगामीलाई पराजित गर्न सफल भएको भण्डारीले बताए । गुल्मीमा काँग्रेसले पाँच, माओवादी केन्द्रले चार एवम् एमालेले तीन पालिकामा प्रमुख जितेका छन् । ०७४ को निर्वाचनमा एमालेले सात, काँग्रेसले चार एवम् माओवादी केन्द्रले एक पालिकामा प्रमुख जितेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend