साझा नेटवर्क
नयाँ दिल्ली, भदौ ३०।
राजकीय भनिएको उक्त भ्रमणका बेला प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीसंग भेट्ने कार्यक्रम छ। ठूलो चासोकासाथ हेरिएको उक्त भ्रमण नयाँ सम्झौता गउर्नेमा नभइ पुराना सम्झौताहरु कार्यान्वयन गराउनेमा केन्द्रित हुने प्रचण्डले बताएका छन्।
प्रधानमन्त्रीका रुपमा दोस्रो पटक भारत जान लागेका प्रचण्डसंग चार दिने भ्रमणको व्यस्त तालिका छ । नयाँ सम्झौता नभइ पुराना सन्धिसम्झौता कार्यान्वयनलाई प्राथमिकतामा राखेको भनिएको भ्रमणको मुख्य दिन शुक्रबार प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जी तथा अन्य वरिष्ठ भारतीय मन्त्री र नेताहरुसंग भेट्ने कार्यक्रम तय भएको छ।
भ्रमण तालिकाबारे प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले भने, शुक्रवार बिहान विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री मोदीसंग छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम छ। त्यस्तै दिउंसो ४ बजे अर्थमन्त्रीसंग, ५ बजे उपराष्ट्रपतिसंग र ६ बजे राष्ट्रपतिसंग भेट्ने कार्यक्रम छ।
बुधबारसम्ममा प्रधानमन्त्रीको भ्रमण दलमा दुई मन्त्रीसहित केही सांसद, विभिन्न मन्त्रालयका सचिव, उच्चअधिकारीसहित ११६ सदस्य रहने बताइएको छ।
आठ वर्षअगाडि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्दा प्रचण्डले पहिलो विदेश भ्रमणमा त्यतिबेला ओलिम्पिक खेल आयोजना गरिरहेको चीनलाई रोजेपछि भारत चिढिएको बताइएको थियो। नेपालका प्रधानमन्त्रीहरुको पहिलो भ्रमण भारतमा हुने गरेको परम्परा तोडेको भन्ने टिप्पणीहरु भएपछि उनले पहिलो औपचारिक भ्रमण भारत नै हुने बताएका थिए।
यसपटक पहिलो भ्रमणमा भारत नै जान लागेका प्रचण्ड दिल्लीको मन नदुखाउनेमा बढी नै सचेत रहेका देखिन्छन्। उनले बुधबार संसदमा आफ्नो भ्रमणको औपचारिक जानकारी गराउँदै सम्बन्ध सुधारमा ध्यान दिने बताए। उनले भने, यसपटकको भ्रमणको प्राथमिकता असल नियतकासाथ नेपाल र भारतबिच विश्वासको वातावरण निर्माण गर्ने, यसअघि सहमतिमा पुगेका परियोजनाको प्रभावकारी र शीघ्र कार्यान्वयन गर्न जोड दिनुमा नै हुनेछू।
पूर्ववर्ती केपी ओलीले राजकीय भ्रमण गरेको झण्डै सात महिनापछि नै नेपालका प्रधानमन्त्रीले फेरि भारतको दौडाहा गर्न लागेका छन्। ओली नेतृत्वको सरकारले नेपालकी राष्ट्रपतिको भारत भ्रमण रोक्नुका साथै राजदूत फिर्ता बोलाएपछि चिसिएको ठानिएको सम्बन्धलाई पुनर्स्थापित गर्नमा यो भ्रमण महत्वपूर्ण हुने कतिपयको बुझाइ देखिन्छ। -bbc
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend