साझा नेटवर्क
हुमाकान्त पोखरेल
गुल्मी, २१ वैशाख । जिल्लामा पालिका अध्यक्ष र वडाध्यक्षबाट राजिनामा दिएर वडासदस्यमा उम्मेदवार भएका छन् । ०७४ को निर्वाचनमा चन्द्रकोट गाउँपालिकामा निर्वाचित अध्यक्ष दोर्ण खत्री र मुसिकोट नगरपालिका –३ मा निर्वाचित वडाध्यक्ष कर्णबहादुर घर्ती क्षेत्री वडासदस्यमा उम्मेदवार भएका हुन् । खत्री काँग्रेस एवम् क्षेत्री एमालेबाट निर्वाचित भएका हुन् । खत्री चन्द्रकोट –०३ मा काँग्रेसबाटै वडासदस्यका उम्मेदवार छन् भने जिसी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरी समाजवादीबाट उम्मेदवार भएका छन् ।

खत्री र जिसी वडासदस्यमै रहेर काम गर्न भने उम्मेदवार भएका होइनन् । उनीहरु जिल्ला समन्वय समितिको पदाधिकारीमा जानको लागि वडासदस्यको उम्मेदवार भएका हुन् । जसमध्ये निवर्तमान पालिका अध्यक्ष खत्रीलाई जिल्ला समन्वय समतिको प्रमुखको आश्वासन दिइएको छ भने जिसीलाई सदस्यको आश्वासन दिइएको छ । ‘गठबन्धनका दलहरुबीचमा म समन्वय समितिको प्रमुख बन्ने कुरामा छलफल भएको छ ।’ खत्रीले भने, ‘सरकार संचालनको अनुभवलाई समन्वयकारी भूमिकामर्फत समग्र जिल्लाको विकासमा सहयोग गर्ने चाहाना छ ।’ पहिले पालिका अध्यक्ष भएको व्यक्ति फेरी वडासदस्यमा उठ्दा मतदाताहरुले पनि चिन्ता व्यक्त गरेको खत्रीले बताए ।
मुसिकोट –३ बाट सदस्य पदका उम्मेदवार जिसीले पनि आफू समन्वय समितिमा जानकै लागि सदस्यको उम्मेदवार भएको स्वीकार गरे । ‘वडाध्यक्ष भएर सदस्यमा उठ्दा मतदाताले पनि प्रश्न गर्नुभएको छ ।’ उनले भने, ‘सत्तागठबन्धले नै समन्वय समिति बनाउने परिस्थिति बनेमा म त्यसको सदस्य बन्ने हो ।’
खत्री र जिसीले सदस्यमा जित्ने सम्भावना कति ?
गत निर्वाचनमा चन्द्रकोट र मुसिकोटमा माओवादी, एमाले र काँग्रेसबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । जसमा खत्रीको वडा चन्द्रकोट –३ मा काँग्रेसका किरण शाह ३३३ मतसहि विजयी भएका थिए । उनका प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार सिद्ध बहादुर थापाले २६६ मत ल्याएका थिए । गत निर्वाचनमा क्षेत्री दुई मतअन्तरले वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले ६२१ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी काँग्रेसका झविलाल भण्डारीले ६१९ मत ल्याएका थिए । अहिले दुवै ठाउँमा पाँच दलीय गठबन्धन छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend