logo
  • शनिबार, साउन ३० २०८३

युवा नेतृत्वको उदयसँगै नागरिकमा देखिएका अपेक्षाहरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

-चक्र चन्द ।
राजनीति भन्ने बित्तिकै नाक खुम्च्याउनु पर्ने अवस्था सृजना भैरहेको पछिल्लो समय युवाहरु राजनितीको मुल नेतृत्वमा आउनुले नागरिकमा नयाँ आसाका पालुवाहरु अंकुरित हुन थालेका छन् । विकास, परिवर्तन, सुशासन, स्थिरता र रुपान्तरणका नाराहरु नसुनिएका पनि होइनन् तर नागरिकमा परिवर्तनको चेत बदलिन नसक्दा यी सबै कोरा नारा मै सिमित रहे ।
“जनता परिवर्तनको संवाहक हो” । देशभित्र बस्ने नागरिक कति विवेकी र चेतनशील छन् भन्ने कुराले पनि परिवर्तन छिटो वा ढिलो गर्ने भन्ने कुरा तय गर्दछ । देश दुनियाँलाई जब जनताले नियालेर हेर्छ, बुझ्छ र अनुभव गर्छ तबमात्र उ आफु,समाज र देश रुपान्तरणको सपना देख्न थाल्छ । आज विश्वमा धेरै देश हरु विकास र समृद्धिले सम्पन्न छन् त्यसको मुख्य आधार जनताको विवेकपुर्ण निर्णय नै हो ।

जब नेतृत्वले सहि र गलत गरेको नागरिकले थाहै पाउन सक्दैनन् वा भनौं राम्रोलाई स्वीकार अनि गलतलाई अस्विकार गर्न सक्दैनन् देश बन्ने भन्ने कुरा सपना बाहेक अरु हुन सक्दैन । हाम्रो देश नेपाल विश्वमा अत्यन्तै संभावना बोकेको मुलुक भए पनि विगत ५० औं वर्षदेखी सत्ता र शक्ति केन्द्रहरुले खेल मैदानको रुपमा प्रयोग गर्दै आफू अनुकूलको सरकार बनाउने वा हटाउने बाहेक अरु काम गर्न दिएका छैनन् ।

हाम्रा वीर पुर्खाले रगतसँग साटेर बचाएर राखेको मुलुक आफ्नै सन्तानले किन सजाएर राख्न सकेनन प्रश्न गम्भीर छ..? यसमा सबै नेपालीको दोष छ । नेतृत्वलाई मात्रै गाली गरेर उम्कने छुट आज कसैलाई छैन । मुलुकलाई विकास, समृद्धि र सुशासन दिलाउन खबरदारी गर्नुपर्ने जनता जब आफै कोही कसैको लगोटी,टिके,चम्छे,च्याप्लुसी,झोले र अन्धभक्त बन्छ र उस्ले जति नै ठूलो गल्ती गरेपनी ढाकछोप,बचाउ मै समय खर्चन्छ नि मुलुक बनेन भनेर जतिसुकै चर्को नारा लगाए पनि कुनै अर्थ हुँदैन । आज हाम्रो देश पछाडि पर्नुको पछाडि हाम्रै कारण छ ।

पछिल्लो पटक काँग्रेस महाअधिवेशनबाट युवाहरू नेतृत्वतहमा आउनु राप्रपा अध्यक्षमा युवा निर्वाचित हुनुले अब जनता परिवर्तनको लागि तयार छ भन्ने संकेत गरेको पाईन्छ । यो चेत पहिल्यै आउनु आवस्यक थियोे खैर अहिले भएपनी अब ढिलो नहोस् भन्ने न हो । पार्टी दोस्रो कुरा हो देश पहिलो हुनुपर्छ, देशले जित्नुपर्छ ।

देशका समस्या हल हुनुपर्छ । सबै पार्टीमा युवा र केही गरौ भन्ने सोच राख्ने हरु छन तर पार्टीको कब्जामा छन् मानौँकी उनिहरुका हात खुट्टा बाँधिएका छन् । पार्टीको नाम जोड्यो मन्त्री,संसद भयो पैसा कमायो परिवार र आफ्नो सन्तान हरुको लागि पुग्ने सेवा सुविधा उपभोग गर्यो अरुका समस्या भाँडमा ! कार्यकर्ताहरु कार्यक्रम आयोजना गरे नेताकै भजन गाए सकियो ।

अब यो परिपाटी तोडिनु पर्छ । यो पटक काँग्रेस महामन्त्रीमा बिजयी २ लोकप्रिय युवाबाट देश र नागरिकले ठूलो अपेक्षा राखेको छ । वर्षौं देखीको जनताको विकास र परिवर्तन को अपेक्षा उनिहरुसँग छ । लाग्छ अबको दशक यिनै नयाँ अनुहारको वरिपरि नेपाली राजनीति केन्द्रित रहने छ । उनीहरुको जितले नेपाली राजनीति पछिल्लो पटक तरंगित छ ।

हुनत युवा नेतृत्व आउने बित्तिकै देशमा चमत्कार हुने भन्ने त होइन तर आशावादी रहौँ कि उनिहरु जनतामा जसरी लोकप्रिय भएर आएका छन् त्यसरी नै जनभावनाको कदर गरेर जनअपेक्षित काम गर्नेछन् ।

आजसम्म विकास र समृद्धिका कुरा गरेर नथाक्नेहरु जसले नेपाली राजनीतिलाई दुषित बनाए अब बिस्तारै राजनीतिक क्षेत्रबाट बिदा लिने समय आएको छ । हरेक पार्टीभित्र वैकल्पिक दृष्टिकोण,नीति र नेतृत्वको बहस हुन सकोस् । समय,परिस्थिति र आवस्यकता अनुरुप नेतृत्व परिवर्तन वा हस्तान्तरण गर्नेमा सबैले विवेकपुर्ण निर्णय गर्न सचेत बन्न सकुन् ।

नयाँ विचार,नयाँ जोस,नयाँ योजना सहित देश विकासको रोड म्याप अबको युवा नेतृत्वले बनाउने छ । जनतालाई विकास,स्थिरता,सुशासन र परिवर्तनको अनुभुती दिलाउन अबको युवा नेतृत्व सफल रहोस् । देशभित्रै सम्भावनाको खोजी गर्दै युवा पलायनलाई रोक्न विभिन्न विकल्प सहित रोजगारीका अवसरहरुको खोजी गर्न सकोस् ।

अब अरुको पछाडी लागेर होइन आफ्नै स्व-विवेकले राम्रो र नराम्रो नेतृत्व छुट्याउन सकौँ । देश नेताले होइन आफैंले बनाउने प्रण गरौं । जय युवा ।।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend