साझा नेटवर्क
कहाँ खोज्छौ मलाई
बिहान मन्दिरमा भेटिने छु
दिनमा चिया चुरोट संग
साँझ भट्टीमा गिलांस दालमोठ
कहिले खुसि कहिले चोट संग
चौरी खर्क कहिले गाई गोठ संग
बिमान स्थलमा पासपोर्ट संग
आइतबार गुम्बामा भेटिने छु
सुक्रबार मस्जिद मदर्शा
सनिबार यसु भेट्न चर्च पुगेको हुन्छु
कहिले खुसि खोज्न ओशो पढ्छु
कहिले संसार बुझ्न सुकरात र प्लेटो
संसार जित्न हिटलर र गान्धी
ए कहाँ खोज्छौ मलाई
भूत भबिस्य वर्तमान
हिजो भोलि र आज
बिहान राती र साँझ
भगवानहरुको माझ
मुर्खहरुको भिडमा
वा राक्षसहरुको झुण्डमा
सायद नभेट्न सक्छौ
तिमिले खोजेको जस्तै ‘म’
तिमिले सोचेको जस्तै ‘म’
किनकी तिमिले वास्तविक ‘म’ होइन
तिम्रो हिसाबको ‘म’ खोजी हिँडछौ
तिमिले मस्जिदमा छिरेको ‘म’ चिन्दैनौ
तिमिले चिया चुरोट संगको ‘म’ चिन्दैनौ
हिजो र भोलिको ‘म’ छुट्ट्याउन सक्दैनौ
भगवानहरुको बीच भगवान देख्छौ
मुर्खहरुको बीच मुर्ख देख्छौ तिमि
टाइ कोटमा भलादमी देख्छौ मलाई
तिमिलाई के थाहा
‘म’ भित्रको ‘म’
आफ्नै सपनाको लागि जीउन सक्छ
आफ्नै सपनाको लागि ‘म’ लाइ मार्न सक्छ।।
बादल बस्नेत
पोखरा नेपाल
हाल : भारत
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend