साझा नेटवर्क
काडमाडौं, भदौ ११।
गत आर्थिक वर्ष विप्रेषण (रेमिट्यान्स) आप्रवाह ७.७ प्रतिशत वृद्धि भई ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १३.६ प्रतिशतले वृद्धि भई ६ खर्ब १७ अर्ब २७ करोड रुपैयाँ थियो ।
समीक्षा वर्ष विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँग अनुपात २९.६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो अनुपात २९.१ प्रतिशत थियो । विप्रेषण बढेपनि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा कमी आएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत आवमा १८.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या २.८ प्रतिशतले घटेको थियो ।
कामदारको संख्याका आधारमा समीक्षा वर्ष गन्तव्य मुलुकको संरचनामा परिवर्तन आएको छ । समीक्षा वर्षमा साउदी अरब, कतार र मलेसिया क्रमशः पहिलो, दोस्रो र तेस्रो गन्तव्यको रुपमा रहेका छन् । अघिल्लो आर्थिक वर्ष मलेसिया, कतार र साउदी अरब, क्रमशः पहिलो, दोस्रो र तेस्रो गन्तव्य थिए ।
यस्तै गत वर्ष शोधनान्तर वचत १ खर्ब ९१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो बचत १ खर्ब ४५ अर्ब ४ करोड थियो । नेपाल राष्ट्र बैंकबाट लिइएको स्वीकृतिका आधारमा समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानीमा ६ अर्ब २५ करोड लाभांश भुक्तानी भएको छ । गत आर्थिक वर्षमा प्रत्यक्ष वैदशिक लगानीको लाभांश स्वरूप ७ अर्ब २१ करोड रुपैयाँ भुक्तानी भएको थियो ।
यस्तै विदेशी विनिमय सञ्चिती २६.१ प्रतिशत बढेर १० खर्ब ३९ अर्ब २१ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । ०७२ असार मसान्तसम्म ८ खर्ब २४ अर्ब ६ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चितमा थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend