logo
  • शनिबार, भाद्र २० २०८३

विदेशमा अलपत्र नागरीकको उद्दारमा कोषको रकम खर्च गर्न कतारमा रहेका नेपालीको सरकारसँग माग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल,कतार ।

नेपाल पत्रकार महासङ्घ कतार शाखाले बुधवार साँझ कोरोना कहर, आप्रवासीको स्वदेश फिर्ती र समुदायको दायित्व विषयक एक भर्चुअल अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष मोहम्मद मुक्तदा पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष करीम बक्स मियाँ लगायत सामाजिक अगुवाहरूले आफ्ना बिचार व्यक्त गरेका थिए ।प्राथमिकता र आवश्यकताको आधारमा प्रवासबाट २५ हजार नेपालीलाई स्वदेश ल्याउने नेपाल सरकारले गरेको निर्णय, नियम र तयारीका सन्दर्भमा कतारको नेपाली समुदायको दायित्व र भूमिकाबारे कार्यक्रममा अन्तर्क्रिया गरिएको थियो । कार्यक्रममा सहभागीहरूले आआफ्नो राय राखेका थिए ।

नेपाल सरकारले प्रवासी नेपालीलाई तत्काल लैजाने गरी ल्याएको योजना राम्रो भए पनि सङ्ख्यात्मक रूपमा त्यो अपुग हुने बताउँदै प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष चानक पोखरेलले सङ्ख्या र प्राथमिकतामा जोड दिनुपर्ने बताएका थिए । जनसम्पर्क समितिका सभापति शङ्कर न्यौपानेले यो सूचना सबै आप्रवासी नेपालीसम्म नपुगेको र वास्तविक रूपमा उद्दारको आवश्यकता भएका मजदुरहरू छुट्न सक्ने भएकोले विश्वासिलो आधार तयार पार्नु पर्ने कुरामा जोड दिएका थिए ।

त्यस्तै गैह्रआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष मोहमद मुक्तदाले सरकारले आप्रवासी कामदारको उद्दारमा देखाएको तदारुकताको संस्थागत स्वागत गर्दै सरकारलाई धन्यवाद समेत दिएका थिए । उद्दारको आवश्यकता हेरेर प्राथमिकता तय गर्न एनआरएन जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउँदै मोहम्मद मुक्तादाले स्वयम् खर्च बेहोर्नु पर्ने कुराको पनि बचाउ गरेका थिए ।

कार्यक्रमका टिप्पणीकार विल गुरुङले वास्तविक पीडितहरूलाई राहत थापेर खाने दिनको अन्त्य गरी नेपाल पुऱ्याउन पहल गर्न र वैदेशिक कल्याणकारी कोषको रकमलाई प्रयोग गर्न दबाब दिन सुझाव दिएका थिए । पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष करीम बक्स मियाँले पीडित फिर्तीमा नातावाद र कृपावाद नगरिदिन कतारका पहुँचवाला नागरिकसँग आग्रह गरेका थिए ।

त्यस्तै सामाजिक अगुवाहरू हिराधन राई, सुरेश भट्ट, लुमाकान्त पुन मगर, सिताराम थापा, अमिना खान, अब्दुल करिम र शिव भुजेल लगायत वक्ताहरूले आफ्नो बिचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend