साझा नेटवर्क
देवजल ठकुरी
उषाकाे लाली किरण बोकेर आउ मेरो देश
निदाेर्ष लाखौं भोका पेटहरु भर्न
निहत्था ती कयौं लाखौं पथिकहरुको चराईरहेको घाउमा मलम लगाउन ,
प्रदेशिएका मनहरुलाई फर्काउन ,
खुसीको वाहर बोकेर आउ मेरो देश
उजाड छन् ,तिम्रा वक्षस्थल,
निर्जन लाग्छन् ती बस्तीहरु,
जहाँ ,बुढा बुढी र बच्चाबच्चाहरुको चीत्कार मात्रै
सुनिन्छ ।
पसिना बगाउने कर्मविर छैनन् यहाँ
अाँट र साहसले भरिएका मनहरु छैनन् ।
जन्ती र मलामेको अभाव भैरह्न्छ यहाँ
उर्वरभूमि मरुभूमि बन्दैछ ।
त्यसैले खुसी बोकेर आउ मेरो देश
जहाँ लाखौं निर्दाेष भोका पेटहरु बाँच्न विवश छन,
सात समुन्द्रपारि छाती भरी तिम्रो तस्वीर च्यापेर
सुख र समृद्धिको सुनौलो सपना बोकेर,
आशा र भरोसाको दियो बालेर
अँह अधुरै छन ती सपनाहरू ,
भोकै छन ती निर्दाेष पेटहरु
जोडिएको छैन ,तोडिएका सम्बन्धहरु,
मन उस्तै फाटेको छ ,सिसा जस्तै चिराचिरा,
मन उस्तै हराएको छ ,विरानो शहरमा,
अाँसु उसै बगेको छ प्रदेशिको नयनमा,
रहर थिएन होला, ती मनहरुको पनि
गाउँ बस्ती उजाड बनाई
बिरानो शहरमा हराउने,
आफ्नै पाखा पखेरा जहाँ हुर्के,बढे,र पढे,
ती बस्तिहरुलाई पराई ठान्ने ,
आफ्नै आमाको न्यानो काखलाई तिरस्कृत गरि
बिरानो शहरमा रमाउने,
हो,त्यो बाध्यता थियो ,रहर थिएन ,
अब मेरो देश,
जहाँ बाझिएका बारीहरु छन।
त्यहाँ आधुनिक खेतीपाती सुरु गर ,
रित्ता शहरमा कलकारखाना खोल,
लाखौं युवाहरूलाई स्वदेश फर्काउ
भ्रष्टाचार जसले तिम्रो वक्षस्थलमा संगिन रोपिरन्छ ,
जसले तिमीलाई कलङ्कित बनायाे,
हो,ती भ्रष्टाचारीलाई गिरफ्तार गर र जेल हाल,
अनि मात्रै
लाखौं प्रदेशी मनहरुमा खुसी छाउने छ ।
तोडिएको मन जोडिने छ,
ऊ हाँस्ने म हाँस्ने छु ।
हामी सबै हाँस्ने छौ ।
त्यसैले खुसीको वहार बोकेर आउ मेरो देश ।

देवजल ठकुरी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend