साझा नेटवर्क
रमेश विश्वकर्मा, गुल्मी माघ १७।
जिल्लाको रेसुङ्गा नगरपालिका २ वडा कार्यालयले विपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । वडा कार्यालयले रेसुङ्गा माध्यमिक विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीलाई एक कार्यक्रमका बीच दुई लाख आर्थिक सहयोग गरेको हो ।

प्राथमिक तहमा अध्ययन गर्ने ३७ जना विद्यार्थीलाई २ हजार ७ सय ५० का दरले र माध्यमिक तहमा अध्ययन गर्ने २८ जना विद्यार्थीलाई ३ हजार ५ सयका दरले आर्थिक सहयोग गरिएको वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय बहादुर थापाले जानकारी दिए ।
दलित, गरिव र विपन्न परिवारका विद्यार्थीहरु शिक्षाबाट बञ्चित नहुँन भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको अध्यक्ष थापाले बताए । उनले भने ‘आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठनपाठनमा सानो सहयोगले महत्वपूर्ण टेवा पुग्नेमा आफुहरु विश्वस्त रहेका छौं ।
वडाका सबै बालबालिकाहरुलाई विद्यालय शिक्षामा समाहित गराउने योजनाका साथ वडाले शिक्षालाई प्राथमिकतामा राखेको वडा अध्यक्ष थापाले बताए । ‘स्थानीय सरकार निर्माण भएका छन्, जनताले जनप्रतिनिधिहरुलाई विकासका लागि जिम्मा दिएका छन ।’
विद्यालयका प्रधानाध्यापक प्रेमनारायण भण्डारीले विपन्न विद्यार्थीहरुलाई वडाले गरेको सहयोग र सद्भावप्रति धन्यवाद व्यक्त गरे । प्रधानाध्यापक भण्डारीले आर्थिक अवस्था कमजोर भएका कारण बीचमै कक्षा छोड्ने विद्यार्थीहरुका लागि वडाले गरेको सहयोगले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडा सदस्यहरु कृष्ण बहादुर थापा, शेर बहादुर विश्वकर्मा, गंगा थापा, नारायणी पाध्यवती, विद्यालयका सहायक प्रधानाध्यापक भागिरथ भण्डारी, विद्यालयका अन्य शिक्षक तथा कर्मचारी, विद्यार्थी र अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
2 Attachments
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend