logo
  • शनिबार, कार्तिक २२ २०८३

तम्घासमा बालबालिकालाई न्यानो टोपी वितरण


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

रमेश विश्वकर्मा, गुल्मी माघ १।
गुल्मीको सदरमुकाम तम्घासमा बालबालिकालाई न्यानो टोपी वितरण गरिएको छ । चिसोले गर्दा बालबालिकाहरु विद्यालयमा जान निकै नै समस्या परेको थियो ।
चिसोको कारण बालबालिकालाई निकै नै कष्ट भएको भन्दै रेसुङ्गा नगरपालिका वडा नं. १, २ र ८ का बालबालिकाहरुलाई न्यानो टोपी वितरण गरिएको हो ।

रुडेक नेपालका कार्यक्रम व्यवस्थापक रमेश जङ्ग कुँवरको पहलमा ४० जना बालबालिकालाई फोर्टीन स्टार युवा क्लब तम्घासले एक कार्यक्रमको आयोजना गरि उक्त टोपी वितरण गरेको हो । पाँच वर्ष देखि दश वर्ष सम्मका विपन्न, गरिब र दलित परिवारका बालबालिकालाई टोपी वितरण गरिएको फोर्टीन स्टार युवा क्लबका अध्यक्ष विक्रम सिंह बुढाथोकीले जानकारी दिए ।

सनराईज चिल्ड्रेन्स एसोसिएसन इन्क अस्ट्रेलिया र रुडेक नेपालको सहयोगमा न्यानो टोपी बालबालिकाहरुलाई वितरण गरिएको फोर्टीन स्टार युवा क्लबका महासचिव नारायण आचार्यले जानकारी दिए । यसरी टाउकोमा न्यानो टोपी लगाउन पाउँदा बालबालिकाहरु अत्यन्तै हर्षित भएर एक आपसमा खुसी साटासाट गरेका थिए ।

न्यानो टोपी वितरण कार्यक्रमका प्रमुख अतिथि तथा रेसुङ्गा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष भरत भलामीले क्लबले यसरी सामाजिक कार्यमा हात हाल्नु एउटा उदाहरणीय कार्य भएको बताए । उनले समाजमा यस्तै अन्य राम्रा कामहरु यस फोर्टीन स्टार युवा क्लब गर्दै आएको बताए । आगामी दिनमा पनि अझ बढी सामाजिक कार्यमा कटिबद्ध भएर लाग्न आग्रह गर्दै भने-‘क्लबले सामाजिक कार्य संगसंगै खेलकुदको क्षेत्रमा पनि अत्यन्तै महत्त्वपूर्ण काम गर्दै आएको छ ।’

पछिल्लो समयमा युवाहरु नकारात्मक दिशातर्फ लागेकोले त्यसो नगरी सामाजिक कार्यमा यसै गरि लाग्न आग्रह गरे । उनले दिनानुदिन युवाहरु विदेश पलायन हुने कुरामा चिन्ता व्यक्त गरे । युवाहरूलाई विदेश नगई स्वादेशमै काम गरि सामाजिक क्षेत्रमा काम गर्न वडा अध्यक्ष भलामीले आग्रह गरे । उनले समाजमा राम्रो काम गर्ने युवाहरू वा जोसुकै होस् समाजमा भएका अग्रजहरुले सल्लाह सुझाव दिनुपर्ने बताए । सल्लाह सुझाव बिना कुनै पनि काम सफल नहुने भलामीको भनाई रहेको छ ।

आफु रेसुङ्गा नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष भएर आइसकेपछि वडा भित्रका विपन्न, गरिब, दलित र एकल महिलाका बच्चाहरुले सामुदायिक विद्यालयमा पढ्नको लागि कक्षा १२ सम्म नि:शुल्क पढ्ने व्यवस्था मिलाएको बताए । उनले रेसुङ्गा नगरपालिका भित्र रहेका अरु वडा भन्दा ८ नं. वडाले शिक्षा क्षेत्रमा निकै नै उदाहरणीय कार्य गर्दै आएको दाबी गरे । उनले शिक्षा क्षेत्रलाई राम्रो बनाउनका लागि आफुले गुरुयोजना नै बनाएर अगाडि बढेको बताए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष भरत भलामी, रेसुङ्गा नगरपालिका वडा नं. २ समाजसेवी अमृतादेवी कुँवर, समाजसेवी रुक बहादुर थापा, रेसुङ्गा नगरपालिका वडा नं. १ जनप्रतिनिधि मुकुन्दहरी गौतम, रेसुङ्गा नगरपालिका वडा नं. २ का जनप्रतिनिधि शेर बहादुर विश्वकर्मा, फोर्टीन स्टार युवा क्लबका अध्यक्ष विक्रम सिंह बुढाथोकी, उपाध्यक्ष सुरज पोख्रेल, महासचिव नारायण आचार्य, क्लबका सल्लाहकार इश्वरी प्रसाद बेल्बासे, शालिकराम बस्नेत, क्लबका सदस्य लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend