साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी पुष २१ ।
चन्द्रकोट गाउँपालिका ४ की तारा गलामीले उमेर ढल्किने बेलासम्म दाउराकै प्रयोगबाट खाना पकाइन् । पहिले शिक्षा र सचेतना थिएन् । अन्य उर्जाका बैकल्पिक स्रोत कम थिए ।

गलामीले श्वासप्रश्वासको समस्या आएपछि मात्रै आगो र धुवाँको बेफाइदा पत्तो पाइन् । अहिले घरमा सुधारिएको चुलो छ । तीन÷चार बर्षदेखि खाना पकाउन राइस कुक्कर र विकल्पकमा ग्यासको पनि प्रयोग गर्छिन् । ‘पहिले डेढ घण्टा हिडेर जंगल नगए चुलो बल्थेन, बैश दाउरा, घाँस र पानी बोकेरै गयो,’उनले भनिन,‘मर्ने बेलामा रोग लागेपछि चेतना पाइयो ।

चन्द्रकोट गाउँपालिका ६ हरेवाकी सिता शर्माले दुई बर्षदेखि सुधारिएको चुलो मार्फत खाना पकाउँछिन् । खाना छिटो पाक्ने, धुँवा नहुने र भाडा पनि बढि कालो नहुने भएकाले खुसी छन् । शर्माका अनुसार आफ्नो अनुभवसंगै गाउँका अन्य २५ देखि ३० घरले पनि सुधारिएको चुलोको प्रयोग गर्न थालेका छन् ।

नेपाली उखान ‘खानु गुप्तचुप्त मर्नु फर्कट्ट’ भने जस्तै गाउँमा भान्सा गोप्यमै हुन्छन् । परम्परागत चुलो र घरको गोप्य ठाउँमा भान्सा भएकाले धुवाँले स्वास्थ्यमा झनै असर गर्ने गर्दछ । पिपलबोट आमा समुहकी उपाध्यक्ष कमला शर्माले चुलोचौकोमा बढि महिला हुने भएकाले महिलाहरुलाईनै सचेतना अति आवश्यक रहेको बताइन् ।

उनले ग्रामीण प्रविधी केन्द्रबाट हरित तथा समावेशी उर्जाका बिषयमा तालिम लिएकी छन् । ‘गाउँका अधिकांश चुलोहरु अधेँरा कुनामा र परम्परागत छन्, त्यो स्वास्थ्यको दृष्टिकोणले घातक रहेछ,’गौतमले भनिन,‘प्रशिक्षणपछि मैले पनि बुझ्ने मौका पाएँ ।
केन्द्रले चन्द्रकोट गाउँपालिकाका आमा समुह, क्लव र बिद्यार्थीहरुलाई हरित तथा समावेशी उर्जाको बारेमा चित्रकला, निबन्ध लेखन, तीज गीत प्रतियोगीता, प्रभातफेरी तथा अन्य सचेतनामूलक कार्यक्रम संचालन गरेको छ । जसका कारण पनि समुदाय स्तरमा नविकरण उर्जाको महत्व, प्रयोग र खोजका बिषयमा चासो बढ्न थालेको उदय माविका प्रध्यानाध्यापक श्यामलाल गौतमले जानकारी दिए ।
उनले ग्रामीण प्रविधी केन्द्रले गीत संगीत, लेख र रचनाहरु मार्फत बिद्यार्थीहरुलाई प्रशिक्षित गरेका कारण परिवारमा छिटो सचेतना पुगेको बताए । त्यो अझै प्रयाप्त नभएकाले स्थानीय तहले थप योजना बनाउनुपर्नेमा जोड दिए ।
उदय मावि शान्तिपुरकी रमा नेपाली कक्षा ११ मा पढ्छिन् । उनले ग्रामीण प्रविधी केन्द्रको कार्यक्रममा सहभागी हुने मौका समेत पाइन् । नेपाली परम्परागत ठोस जैविक इन्धन प्रयोगको बिषयमा आफु सचेत भएकी छन् । साथै घरपरिवार र समुदायमा समेत हरित तथा समावेशी उर्जाको बिषयमा जानकारी गराउने गरेकी छन् ।
उनले टोल–टोलमा अझै परम्परागत प्रयोग र सोच रहेकाले सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताइन् । कालिका जागृति आमा समुहकी अध्यक्ष कमला सुवेदीले करिव १० बर्ष अघिसम्म दाउराकै प्रयोग मार्फत भान्साको काम गर्थिन् । अहिले अधिकांश समय बिद्युतीय सामग्री मार्फत खाना पकाउँछिन् ।
बिद्युत नभए मात्रै सुधारिएको चुलो प्रयोग गर्ने बताइन् । उनले गाउँमा साँघुरा घरमा परम्परागत चुलो र दाउरा मार्फत खाना पकाउने, पानी तताउने, गाई भैसीलाई कुडो पानी लगायतका कामहरु हुने भएकाले धुवाँका कारण श्वासप्रश्वास र मुटुको रोगबाट गाउँकै मानिसहरु ग्रसित हुने गरेको सुवेदीले बताइन् ।
उनले गाउँपालिकाबाट अहिलेसम्म उर्जाको क्षेत्रमा कुनै ठोस योजना नभएकाले उर्जामा लैङ्गिक तथा सामाजिक समावेशिताकाको बिषय कार्यपालिकामा उठ्नुपर्ने बताइन् । चन्द्रकोट गाउँपालिका २, ३, ४, ५ र ६ मा शान्तिपुर इलाका सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समिति मार्फत तीन हजार उपभोक्ताले बिद्युत उपभोग गर्दै आएका छन् ।
समितिका अध्यक्ष सिद्ध बहादुर थापाको अनुसार पछिल्ला बर्षहरुमा बिद्युतको उपभोग दर बढ्दै गएको छ । महसुल बढि उठ्ने भ्रममा पहिले बिद्युतीय राइस कुक्कर, रड, जग, मिक्चर, चुलोको प्रयोग निकै कम हुन्थ्यो । अहिले चेतना र बिलासी बन्दै गएकाले पनि बिद्युतिय सामग्रीहरुको प्रयोग ह्वात्तै बढेको थापाले बताए ।
धौलागिरी सामुदायिक स्रोत केन्द्र मार्फत चन्द्रकोटमा विभिन्न स्थानमा करिव तीन सय घर जनालाई सुधारिएको धुवाँ रहित चुलो बितरण भएको छ । आर्थिक बर्ष ०७४÷०७५ मा संस्थामा आवद्ध तीन सय जनालाई चुलो वितरण भएकाले अहिले अन्य क्षेत्रमा पनि त्यसको प्रयोग बढ्दै गएको संस्थाको शाखा प्रबन्धक अनिश पोख्रेलले जानकारी दिए ।
चन्द्रकोट गाउँपालिकाले जैविक ऊर्जा उपयोग र त्यसबाट हुने वातावरणीय तथा मानविय नकारात्मक असरहरुको न्यूनिकरण गर्ने लक्ष्य लिएको छ । तर ठोस योजना छैनन् । गत बर्ष केन्द्रिय सरकार मार्फत उर्जाको क्षेत्रमा आएको नौ लाख बजेटबाट स्वास्थ्य संस्थाहरुमा बर्थिङ्ग सेन्टरको लागि सोलार खरिद गरिएको गाउँपालिका प्रमुख द्रोण बहादुर खत्रीले बताए ।
उनले अझै पनि गाउँमा दाउराकोे अत्यधिक प्रयोग भइराखेको सन्धर्बलाई नकार्न नसकिने बताउँदै आफुहरुले आगामी बर्ष ऊर्जा लक्ष्य नीति र कार्यक्रमहरु खनिज उर्जाको साटो नविकरणीय ऊर्जा तर्फ लक्षित गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले यो बिषयमा ग्रामीण प्रविधी केन्द्रले चन्द्रकोटका जनप्रतिनिधी, आमा समुह, बिद्युत उपभोक्ता समिति र बिद्यार्थीहरुलाई समेत थप सचेत बनाएकोमा खुसी व्यक्त गरे । उनले महिला, बिपन्न र सिमान्तकृत समुदायलाई सचेत बनाउँदै उर्जासंगै उद्यमलाई पनि जोड दिने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend