साझा नेटवर्क
हुमाकान्त पोखरेल,गुल्मी पौष १६ ।
जिल्लाको सत्यवती गाउँपालिकाका सरोकारवालाहरुले स्वास्थ्य र पोषणको क्षेत्रमा सुधार गर्न प्रतिवद्धता जनाएका छन् । एकीकृत ग्रामीण विकास समाजद्धारा संचालित सुआहारा कार्यक्रमले आयोजना गरेको दुई दिने गोष्ठिमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरु, स्वास्थ्यकर्मीहरु लगायतले गाउँपालिकामा स्वास्थ्य र पोषणको क्षेत्रमा सुधार गर्न प्रतिवद्धता पत्रमा मंगलबार हस्ताक्षर गरेका छन् ।
एकीकृत पोषणसँग सम्बन्धित नीतिगत ब्यवस्थालाई कार्यान्वयन गर्न स्थानीय पोषणयुक्त खानालाई प्रोत्साहन गर्ने तथा व्यवहार परिवर्तनमा दिगोपना ल्याउनका लागि प्रचारप्रसार गर्ने निर्णय गरिएको छ । गुणस्तरीय सेवा सबै शाखाहरुमा सुनिश्चित गर्ने, आारभूत स्वास्थ्य र पोषण सेवा प्रत्येक घरसम्म पु¥र्याउने प्रतिवद्धता गरेको छ । त्यस्तै गाउँपालिकाका सबै घरमा पिउने पानीको पहुँच, पूर्ण सरसफाईयुक्त गाउँपालिका, एक घर एक करेसावारी, विद्यालयभित्र जङ्क फुड निरुत्साहित गर्ने तथा एकीकृत पोषणका कार्यक्रम संचालन गर्न आवश्यक पर्ने सहजकर्ता गाउँपालिकाले नियुक्ति गरी परिचालन गर्ने गर्ने निर्णय गरिएको छ ।
स्वास्थ्य संस्था, गाँउघर क्लिनिक र खोप क्लिनिकहरुले निरन्तर रुपमा बच्चाको बृद्धि र वाल स्वास्थ कार्ड निरन्तर रुपमा अद्यावधिक गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । त्यस्तै जन्मेको दुई बर्षभित्र २४ पटक बृद्धि अनुगमन पुरा गर्ने बच्चाका आमालार्ई पुरस्कृत गर्ने, स्वास्थकर्मीले उचित तथ्याङ्क समावेश गर्ने, स्वास्थ्य तथा पोषण सम्बन्धि नियमित अभिलेख एवं मासिक तथ्याङ्कको नियमित रुजु गर्ने लगायतका नीतिहरु अबलम्बन गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले जानकारी दिए । घरमा हुने सुत्केरी तथा शिशु मृत्युलाई शुन्यमा झारी गाउँपालिकालाई पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने, गाउँपालिकालाई पुर्ण पोषण युक्त गाउँपालिका घोषणा गर्ने र गाउँपालिका तथा प्राथमिक स्वास्थ्य केन्द्रमा स्तनपान कक्ष स्थापना गर्ने निर्णय गरिएको छ ।
कृषि तथा पशुसेवातर्फ पोषणयुक्त खानाको प्रदर्शनी गर्ने, थोपा सिंचाई प्रविधि प्रबद्र्धन गर्ने, हाटबजार तथा कृषि उपज संङ्कलन केन्द्र स्थापना एवं ब्यवस्थापन गर्ने नीति लिने, प्रत्येक वडामा स्वयंसेवी कृषि÷पशु प्राविधिकहरु व्यवस्था गर्ने, तथा प्रत्येक वडामा तीनदेखि पाचँजनामसम्म नमुना कृषक छनौट गर्ने सुआहाराका नविन अर्यालले बताए ।
प्रत्येक घरमा फिल्टर
गाउँपालिकाले खानेपानीको मुहान संरक्षण गर्दै ‘एक घर–एक धारा–एक फिल्टर’ अभियान सञ्चालन गर्ने भएको छ । जसको लागि घरमा धारा गाउँपालिकाले पु¥र्याउने र फिल्टर नागरिकले ल्याउनुपर्ने छ । त्यसका साथै सबै वडाहरुमा पूर्ण सरसफाई अभियान संचालन गर्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा जोड दिने, बाल विवाह गर्दा देखिने असर सम्बन्धी जनचेतनामूलक अभियान चलाउने पनि निर्णय गरिएको छ । लागु पदार्थ नियन्त्रण, आयमुलक कार्यक्रम संचालन, जनचेतनात्मक कार्यक्रममा महिला तथा पुरुषको समान सहभागिता लगायतका पक्षमा विशेष जोड दिने उल्लेख गरिएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।
कार्यक्रममा पोषण तथा खाद्य सुरक्षा समितिहरुको नियमित वैठक राख्ने, स्वास्थ्य र पोषण सम्वन्धी सामग्रीको उत्पादन, प्रयोग र व्यवस्थापनका लागि रकम छुट्याउने, महिला स्वास्थ्य स्वयम् सेविकाहरुको क्षमता अभिवृद्धि गर्ने लगायतका प्रतिवद्धता गाउँपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले प्रतिवद्धता कार्यान्वयनको लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमै पुगेर जनचेतना जगाउनुपर्ने बताए । त्यसका साथै उनले सबै जनप्रतिनिधिहरुले आफ्नो कार्यकालभर गाउँपालिकामा गर्ने विकासको नमुना बनाउनुपर्नेमा जोड दिए ।
सुआहाराले विगत चार बर्षदेखि जिल्लाका सबै स्थानीयमा स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएको छ । यसले सुनौला हजार दिनका आमा, खानेपानी तथा सरसफाई, किशोर–किशोरीहरुको लागि विशेष तालिम, कृषि तथा पशुपालन, शिक्षा लगायतका विभिन्न क्षेत्रमा एकीकृत ढङ्गले काम गर्दै आएको छ । सत्यवतीमा दुई दिनसम्म संचालित गोष्टिमा सुआहाराले हालसम्म गरेका काम, पोषण र स्वास्थ्यको क्षेत्रमा गाउँपाकिलाले गरेका काम तथा गाउँपालिकाका आगामि योजनाहरुको बारेमा छलफल गरिएको सुआहाराका फिल्ड संयोजक राजेन्द्र विकले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend