-देबेन्द्र के.सी.नया दिल्ली भारत श्रावण १५।
भन्छन दिल्ली “दिलवाला”को शहर हो । दिलवाला त दिलदार हुनुपर्ने तर दिल्लीमा दिल अथवा मन कै कमी महसूस हुन्छ “दिन दुई गुना र रात चौगुना”को रफ्तारमा गन्तव्य खोज्दै दौडिने दिल्लीलाई कसैको दुखमा आँशु खसाल्ने फुर्सद छैन । यो महानगरमा कतिपय सपनाहरुले नाम र दाम दुबै कमाएका छन भने कतिपय सपनाहरु भाषमा कहिल्यै नउठ्ने गरि गडेका छन ।
नयाँ दिल्ली नेपाली नागरिक हरुको सबैभन्दा सस्तो गन्तव्यको रुपमा पर्दछ । यहाँ बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको स्थिति “हाँस्दा हाँस्दै रुने र रुँदा रुँदै हाँस्ने “को भएपनि “जिबी रोड” नामले कुख्यात रेडलाईट एरियामा धकेलिएका नेपाली चेलीहरुको स्थिति एकदमै दर्दनाक छ । कल्कलाउदो जवानीलाई जवानी मै मारेर जिबी रोडका कोठाहरुमा नरकिय जिबन बिताउन बाध्य नेपाली चेलीहरुको बेदना नजिकबाट नियाल्न यो पड्तिकार नातामा अंकल पर्ने एक समाजसेवीलाई साथी बनाएर जिबी रोडको नामले कुख्यात रेडलाईट एरियामा स्थित ६४ नम्बर कोठामा पुग्यो ।
मिसन जिबी रोड
नयाँ दिल्लीको मुटु क्नाट प्लेसबाट १५ मिनटको यात्रापछि पहाड़ गंजको कमला मार्केट पुग्यौ कमला मार्केटका गल्लीहरु छिचोल्दै पड्तिकारको टोली अजमेरी गेटलाई बाईपास गर्दै पहाड़ गंजको फ्लाई ओभरलाई दाँया बनाएर जिबी रोड पुग्यो । जिबी रोड अन्दाजी ३ किलोमीटर लामो छ ।
त्यसो त रेडलाईट एरियाको नामले कुख्यात यो रोडमा यौन व्यापार अरुपनि सामानको किनमेल हुदो रहेछ । सामान्य सामान देखी मेसिनरी पार्टपुर्जा पनि पाईने हुनाले जिबी रोडमा जाने हरेकलाई यौन प्यास मेटाउन आउने रहेछन भन्ने भ्रम रहेन अब ।
अजमेरी गेट तिरबाट शुरुभयो हाम्रो “मिशन जिबी रोड”को यात्रा । ठुला ठुला भवनहरु भवनको बाहिर सजाईएका न सप्रेका गमलाका फुलहरु, साना साना गल्लीहरु दिउसै साँझ पर्ने बातावरण ट्यापे, मुन्द्रे, जगल्टेहरुको ओहोरदोहोर, सोझा साझा केटाहरु देखेपछि देखिने उनिहरुको दूषित मनसाय केहि अनहोनीको आशंका पनि पलाउदै थियो मनमा । तर मन दह्रो थियो हामीहरु पनि “देश गुनाको भेष “भनेझै ट्यापे पना सरिरमा झल्काउदै आबस्यकिय रिपोर्ट सामाग्रीको चाँजो पाँजो मिलाएर कोठा नम्बर ६४ मा जाने निधो गर्यौ ।
त्यसो त जिबी रोडमा कोठा नम्बर ६४ जस्ता अन्दाजी ५०० भन्दा बढि कोठा छन । तर नेपाली चेलीहरु बढि परोसिने र यातना दिएर राख्ने गरेको खुफिया रिपोर्ट पाएको कारणले र अंकलको बिशेष आग्रहले पनि कोठा नम्बर ६४ जाने निधो भयो ।
रातो लाईटको कालो कहानी
“सर बढिया माल मिलेगा मेरे साथ चलो “गेटमै हात समायो एउटा दलालले । कुरो बुझ्दा पर्ति ग्राहक १०० रुपैया मिल्दो रहेछ त्यो दलाललाई । मैले मोलभाव र सुबिधाको बारेमा केरकार पारेँ ।”सर यहाँ पर सबसे निचे वाला फ्लोरमेँ २५० मे, बिच वाले में ५०० रूपये में और टफ फ्लोर में १००० रुपये मे आप ऐस कर सकते हैं” मैले अझै केरकार गर्न खोज्दै थिए “आप पत्रकार हैं क्या” दलाल कडकिदै बोल्यो । अँकलले थम्थमाएर माल (केटी) देखाउन आग्रह गर्नुभयो । “चलो सर उपर रिसेप्सन में बढिया नेपाली माल मिलेगा” दलाल बड्बडाउदै उक्लियो हामी पनि लाग्यौ पछि-पछि उसैको ।
ओहो ! नामको रिसेप्सनमा एउटी मोटी अधबैसे आईमाई उपरखुट्टी लगाएर बसेकि थिई । अन्य ग्राहकहरु मोलभाव गर्दै थिए । ओठ निचोर्दा दुध निस्कने जस्ता कल्कलाउदा केटीहरुलाई भारतीय काल्दाईहरुले मोलभाव गरिरहेका थिए । ओभर मेकअप, दिनभरि ग्राहक सन्तुस्ट पारेर थाकेको शरिरले कुटिल मुस्कान दिदै थिए नेपाली चेलीहरु । अहो ! यो के तमाशा हो ? यि चेलीहरुलाई भनेझै भा होला त यो सबै गरेर ? “जल्दी जल्दी पसंद करो… नहि होता क्या” ?
अधबैसेले शासन लगाई अस्लिल बोली सड्गै । दलालले भने जस्तो २५० मा एकपटक,५०० मा ३/४ घण्टा त १००० तिरेपछि रातभरि मस्ती गर्न पाईने रहेछ त्यो पनि बीयरको चुस्की सड्गै । हामी बाबु छोराले एउटी गुल्मी घर बताउने कमला (नाम परिवर्तन)लाई छान्यौ ५०० मा र केहि घण्टा मस्ती गर्ने सर्तमा र लाग्यौ बाबु छोरा उपल्लो कोठामा ।
पापी पेटको लागि सरिर बेच्ने रहर या बाध्यता
माथी कोठामा सिगरेट, बियरको दुर्गन्ध र अस्त ब्यस्त चारपाई थियो । म फ्रेस भएर आउने निउमा बाथरुम मा छिरेँ । मेरी बास्सै ! कन्डमहरुको भारी नै बनाएर राखेको घाँसको जस्तै । एकदुई कन्डमहरु एत्रतत्र छरिएका । मनमनै सोचेँ मान्छेलाई स्वस्थ रहन यौनसम्पर्कको आवश्यकता छ त्यो पनि सुरक्षित र लोग्ने,स्वास्नी बिच मात्रै तर यहाँ भएको बिखण्डनकारी यौनसम्पर्कले कस्को भलो गर्छ ? भलो हुने र मोटाउने तिनै दलालहरु त होलान। तर जस्ले शरीर बेच्छ तेस्लाई के मिल्छ ? बेस्याको ट्याग ?
नेपाली चेलीहरुको बेस्यालयको बास रहर र बाध्यता दुबै
अंकलले कमलालाई सम्झाई सक्नु भएको थियो हामीहरु रिपोर्टिंगको लागि आएका हौ भनेर । बरु मेरो सरिर लुछ्नुस तर मलाई केहि नसोध्नुस कमला रुन थालिन । केहि समयको प्रयासपछि कमला केहि खुलिन “दाई यहाँ त जबरजस्ती ल्याएर बेचेका नेपाली केटीहरु पनि छन र आफै राजी खुसी आएका नेपाली केटीहरु पनि छन । कमलाले खुलासा गरे अनुरुप नेपालीहरु बाध्यताले मात्र नभई स्वईच्छाले पनि बेस्यालयमा यौवन बेचिरहेका छन यद्यपि यो संख्या भने निकै कम छ ।
कमलालाई दाड्गको केटाले बिहे गरेर ल्याई बेस्यालयमा बेचेको रहेछ । दाई! मेरो मामाघर दाड्गमा पर्छ, मामाघर मै बसेर स्कूल पढ्दै थिए एउटा केटा स्कूलमा दिनदिनै आउथ्यो । अरु केटिहरु सड्ग मेरै कुरा गर्दथ्यो रे कपडा ल्याई दिन्थ्यो खुब माया देखायो घरमा पनि ममी बित्नुभएको थियो बाबाले अर्को बिहे गरेर बुटबलमा बस्नुहुन्थ्यो । मामाले पनि राम्रो केटा पाए गए हुन्छ भन्ने । मामाघरमा घाँडो भएझै लाग्यो र बिहे गरेँ उसैसड्ग ” बोल्दा बोल्दै कमलाका आँशु टिल्पिलाए ।
नाम, ठेगाना सोधिनौ ? भन्ने प्रश्नमा कमलाले नाम सन्दिप कुँवर भएको र ठेगाना तिमी जस्तै घर नघाटको हो भनेको बताईन । कमलालाई दुई दिन भालुबाड्ग राखेर दिल्ली ल्याएको रहेछ । दिल्लीको कोठामा राखेर अहिले आउछु भनेर गएको सन्दिप नामको दलाल अहिले सम्म फर्केको छैन । त्यो समय देखी अहिले सम्म सयौले उनको सरिर लुछिसकेका छन । “पहिला पहिला त यस्तो गलत काम भनेर मानिन । यो साहुनीले दिनु यातना दिई ।
तातो चिम्टाले डामेका पेटका डामहरु देखाउदै कमला रुन थालिन । करिब २०० यौनकर्मीहरु रहेको ६४ नम्बरमा २० नेपाली यौनकर्मीहरु स्वईच्छाले सरिर बेच्दा रहेछन । उनिहरुले लामो मोबाइल र सुबिधा सम्पन्न फ्ल्याटमा बस्दा रहेछन र उनिहरुलाई आवश्यकता अनुसार बेस्यालय बाहिर जाने छुट पनि रहेछ ।
ईच्छाले सरिर बेच्नेका समस्या पनि दयनीय
बेस्यालयमा आफै आएर सरिर बेच्ने नेपाली चेलीहरुका समस्या पनि थुप्रै छन” दिनभरि रंगरसमा लट्पटिएर साँझ पैसा माग्दा उल्टै घोप्टो पारेर चुट्छन कोहि ग्राहकहरु । दिनभरि कमाएको पैसामा पनि दलाल, पुलिसले हिस्सा माग्छन । उतिखेर साथीको लहैलहैमा पैसा पनि हुन्छ ऐस पनि हुन्छ भनेर बेस्यालय छिरियो अहिले उदेक लागेर आउछ ।
अन्त कतै जागिर माग्न गए “बेस्या” शब्दले थर्काउछ्न” । खोटाड्ग घर बताउने एक राई थरकि युवतीले भनिन । कतिपय ईच्धाधारी यौनकर्मीले बिहे गरेर बच्चा पनि जन्माएका छन तर पिरलो छ कतै बेस्याको कलंक नलागोस ।
ग्राहक अधिकांश नेपाली, सरुवा रोग लाग्ने र लुटिने त्रास उत्तिकै
जिबी रोड जाने ग्राहकहरु भारतीय नै बढि भएपनि कोठा नम्बर ६४ जाने अधिकांश ग्राहकहरु नेपाली नागरिकहरु थिए । सोझा साझा नेपालीहरुलाई कहिले दलाल र कहिले पुलिसले लुट्नु लुट्दा रहेछन । अनि कोठामा गएपछि यौनकर्मीहरुले कन्डम लगाउन आग्रह गरेपनि “सन्तुष्टि नै हुदैन” भन्दै आनाकानी गर्ने रहेछन । घर परिवारबाट लामो समय टाढिएर बसेका नेपाली युवाहरु केटी देख्ने बितिक्कै बाघ झै झम्टिदा रहेछन अधिकांश रक्सीको नसामा भेट्टिने नेपाली युवाहरु एकछिनको रमाईलोका लागि जिन्दगी दावमा लगाएका हुन्छन ।
कानुनी स्वीकृत कोठा गैरकानुनी धन्दा
जिबी रोडमा सन्चालित कोठाहरु सरकारबाट स्वीकृत भएर सरकारबाट गाईड लाईन जारी गरेको भएपनि काम भने गैरकानूनी हुने गर्छ । ईच्छा बिपरित यौनकार्य गराउनु , पैसा दिएर दूरदराजका गरिब तर राम्रा केटीहरुको मोलमोलाई गर्नु , सारिरीक तथा मानसिक रूपमा यौनकर्मीलाई प्रताड़ित गर्नु, उमेरै नपुगेकी १२\१३ बर्षकी केटीलाई औसधी खुवाएर छिट्टै जवानी परोसन तयार गराउनु अनि ग्राहकहरुसँग लुटपाट, बदशुलकी र जबरदस्ती यी काम मनपरी हुन्छ बेस्यालयमा । कोठाहरुमा कानुन चल्ने भनेको कोठा मालिकको हो । उनिहरु स्वतंत्र छन मनपरी गर्न । कहिले काही उजुरी आएर पुलिस गएपनि पैसा खाएर कोठा मालिक र दलालकै पक्षमा बोल्ने जन गुनासो आईरहन्छ ।
के भन्छन – बेचिएका चेलीहरुलाई उद्धार गर्ने संघ सँस्थाहरु ?
नयाँ दिल्लीमा बेचिएका नेपाली चेलीहरुको उद्धार गर्दै आईरहेका सँस्थाहरु हेल्प नेपाली मिसन, प्रवासी नेपाली मित्र मन्च र नवगठित सँस्था नेपाली देशभक्त आवाजले बिभिन्न ठाँउबाट नयाँ दिल्ली तथा तेस्रो मुलुकमा बेचिन लागेका कयौ चेलीहरुको उद्धार गरिरेहेको छ । माईती नेपालले बोर्डरमा कडा निगरानी थालेपछि पछिल्लो पटक चेलिबेटी बेचबिखनका घटनामा निकै कमि आएको छ ।
“हामीहरु बेच्ने नियतले दिल्ली ल्याएका चेलीहरुको उद्धार गरेर सकुसल घर फर्काएका छौ तर जिबी रोड भित्रका पिडितको उद्धारका लागि दुताबास तथा स्थानीय प्रशासनको समन्वय हुन जरुरी छ । नेपाली देशभक्त आवाजका संस्थापक अध्यक्ष बाबु रोकाले भन्नुभयो । बिभिन्न चरणहरुमा हेल्प नेपाली मिसनले पनि बेचिएका या बेचिन लागेका चेलीहरुको उद्धार गरेर दुताबास पुर्याएको थियो । अन्य राजनीतिक संगठनहरु र दुताबासले पनि हातेमालो गरेर चेलीबेटी बेचबिखनको बिरुद्ध आवाज उठाउनु पर्ने देखिन्छ ।
मलाई जिबी रोडको यात्राले सोचनिय बनायो । दिल्लीको चकाचौंधमा भासिएका ति सपनाहरु ति सपना सड्गै गुजिल्टिएका ब्याथाका पोकाहरु अनि ति अबोधको छातिमा लागेको दाग कसरी पखालिन्छ ? कमला त यो घटनाकी प्रतिनिधि पात्र हुन, हजारौ चेलीहरु छन भारतका महानगरहरुमा जस्ले नरकको जिबन जिउन बाध्य छन । के छ यस समस्याको समाधान ? अनि जन्म दिने बाबु आमालाई पन्छाएर कथित प्रेमी सड्ग आकाशमा उड्ने सपना देख्ने ति चेली पनि कठघरामा आउनु पर्दैन ?
दोष केवल सिस्टमको मात्र हैन, दोष हाम्रो सोच र विचारको पनि हो । घरपरिवारलाई दुई छाक खानाको जोहो गर्न भारतका महानगरहरुमा भाषिने नेपाली युवाहरुको बेस्यालय प्रतिको आकर्षण किन ? यि सबै पक्ष जागरुक भए मात्र नेपाली चेलीहरुको ठाडो शिर हुन्छ । तसर्थ एक गलत कदम चाल्नु अघि सयौ पटक अवश्य सोचौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend