logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा मानव अधिकारको समिक्षा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल,गुल्मी पौष ४ ।

गुल्मीमा नेपाल मानव अधिकार वर्षपुस्तक २०२० का लागि सङ्कलन गरिएका घटनाहरुको वार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्यालले मानवअधिकार वर्षपुस्तक सन २०२० का लागि गुल्मीमा संकलन गरिएका घटनाहरु र जिल्लाको आर्थिक, समाजिक र साँस्कृति अवस्थाको विवरण प्रस्तुत गरेका थिए । समिक्षामा जिल्ला अदालत गुल्मीका श्रेष्तेदार कृष्ण शरण लामिछानेले नागरिकले राज्यबाट प्राप्त अधिकारको अनुभत गर्न नसकेको बताए ।उनले संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन नभए केवल त्यो अधिकार कागज मात्रै हुने भएकाले कार्यान्वयन गर्ने निकायहरु थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए । दलित अधिकारकर्मी गणेश विश्वकर्माले अबको मुद्धा आर्थिक, समाजिक तथा साँस्कृतिक अधिकार भएकाले नागरिक समाज एवं अधिकारकर्मीको ध्यान त्यस तर्फ केन्द्रित गराउन आग्रह गरे । साथै विश्वकर्माले अन्तर जातिय बिवाह गरेका जोडीहरुको नागरिकता बनाउन जिल्लामा धेरै समस्या परेको उल्लेख गरे । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले भाषण गर्ने नेताको अधिकार भजाउने अभिव्यक्ती र कार्यान्वयन गर्ने निकायको स्थिती धेरै फरक रहेको बताए । ‘औषधी खरिदको लागि प्रथम चौमासिकमा आउने पैसा अझै आएको छैन, पत्रकार र नागरिक समाजको ध्यान त्यस तर्फ पुग्न प¥यो’ पच्याले भने, ‘नागरिकलाई अब निशुल्क औषधीको बारेमा बुझाउनु पर्दैन ।’

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले अहिलेसम्म मानव अधिकार उल्ङघनका ठुला घटना नभए पनि केहि घटनाहरु राजनैतिक दवाब र प्रभावका कारण बाहिर आउन नसकेको प्रतिक्रिया दिए । अधिवक्ता बिनोद पाण्डेयले जिल्लामा भएको प्राकृतिक दोहन बढेकाले समयमै सम्बन्धित निकायको ध्यान नपुगे भावी पुस्ताले ठुलो संकटको सामना गर्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार रावलले अहिले पनि जिल्ला प्रहरी कार्यालयमा महिला पीडित भएर आउने मुद्धानै धेरै रहेको जानकारी गराए । इन्सेक जिल्ला प्रतिनिधी अर्यालले सन् २०२० को लागि संकलन गरिएका नौ बलात्कार, पाँच हत्या, राजनैतिक गिरफ्तारी दुई तथा ४३ वटा घरेलु हिंसाका घटना सार्वजनिक गरे ।

साथै जिल्लाको शिक्षा क्षेत्रमा कर्मचारीको अवस्था र अनुगमन, स्वास्थ्य क्षेत्र अन्तरगत औषधीको अवस्था, दरबन्दी, बर्थिङ सेन्टर, जिल्ला कारागारको अवस्था, महिला, बालबालिका तथा अपाङ्ग र जेष्ठ नागरिकको अधिकारको अवस्थाका बारेमा पनि उनले जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, जिल्ला बार एशोसियशन, नागरिक समाज, पत्रकार महासंघ, पुर्व इन्सेक प्रतिनिधी, दलित साझा मञ्च लगायतका संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend