साझा नेटवर्क
सीता बि.क,प्युठान पुष ३ ।
एकाबिहानै गाउँमा प्रहरीको टोली पुग्यो । गाडीलाई सडक किनारमा राखेर चार – पाँच जनाको टोली प्युठान नगरपालिका ९ स्थित ठुलासिम भन्ने गाउँ पस्यो । उनीहरुको हातमा लाठी र बन्दूकको साटो डायरी, कलम र वकेटोके थियो ।
गाउँका सबैजना उठिसकेका पनि थिएनन् । केही घरमा भने उज्यालो हुन नपाउँदै चुल्हो बलिसकेको थियो । ती घरहरुबाट झिसमिसे बिहानैदेखि ह्वास्स गन्हाउने दुर्गन्ध निक्लिरहेको थियो । गाउँको बीच चौकमा पुगेका प्रहरीहरु आपसमा कुरा गरिरहेका थिए । प्रहरी गाउँमा आएको देखेर केही युवा भेला भए । “ठिक समयमा आउनु भयो, बिहानैदेखि सासै फेर्न गाह्रो हुन्छ, अब अति भयो,” त्यसमध्येका एक युवकले औंलाले घरहरुतिर इशारा गर्दै भने ।
मरन्ठाना प्रहरी कार्यालय मजुवाको प्रहरी टोली धमाधम ती घर तर्फ लाग्यो। चौकिका इन्चार्ज टीका कुवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले एक सय ८५ लिटर घरेलु मदिरा नष्ट गर्न सफल भयो । यो प्रहरीले निरन्तरता दिने जनाउँदै इन्चार्ज कुवरले “विशेष कार्ययोजना बनाएर अभियानलाई निरन्तरता दिएका छौं,”–“घरेलु मदिरा बनाउनेलाई पहिलो चरणमा सचेत पार्ने, दोस्रो चरणमा सम्झाउने र तेस्रो चरणसम्म पनि भेट्टिए कारवाही थाल्छौं ।” यस अभियानमा सबै नागरिकको सहयोग रहेको प्रहरीको विश्वास छ ।
घरेलु मदिरा र लागुऔषधका कारण समाजमा मौलाउँदै गएको विकृतिले शान्ति सुरक्षामा चुनौती थपिदै गएकाले प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान जिल्लाभरी नै सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र बहादुर कार्किले बताए । प्रहरीले अवैध लागुऔषध ओसारपसार र घरेलु मदिरा उत्पादन तथा बिक्रीमा रोक लगाउँदै शान्ति सुरक्षालाई अव्बल बनाउने अभियानमा जुटेको जनाएको छ । मातहतमा रहेका प्रत्येक प्रहरी इकाईहरूलाई घरेलु मदिरा नियन्त्रणमा लिन विशेष निर्देशन नै दिएको प्रहरी उपरीक्षक कार्किले बताए ।
समुदाय—प्रहरी साझेदारी कार्यक्रममार्फत समाजमा शान्ति सुरक्षाको अनुभूति दिलाउने अभियान शुरू गरेको नेपाल प्रहरीले समाजमा अशान्ति मच्चाउने पहिलो कारण घरेलु मदिरा रहेको जनाउदै आएको छ । प्रहरीले घरेलु मदिरा नष्ट गर्न थालेकामा व्यवसायीहरु असन्तुष्ट देखिए पनि स्थानीय बासिन्दाले सराहना गरेका छन् । समाजमा मदिरा सेवन गर्नेहरूको सङ्ख्या र मात्रा बढ्नुका साथै चोरी, लुटपाट, हत्या, हिंसाका घटनामा वृद्धि हुने भएकाले रोकथामका लागि प्रहरीको सकृयता आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।
घरेलु मदिराले शान्ति सुरक्षा मात्रै नभएर नागरिकको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको प्युठान नगरपालिका ९का वडा अध्यक्ष नेहरसिह के सि बताउछन् ।
लागुऔषध तथा दुर्ब्यसनी एवं अवैध घरेलु मदिरा निर्मूल कार्यलाइ तीव्रता दिंएकामा खुशी व्यक्त गर्दै के सि ले विसङ्गतिरहित समाज निर्माणमा सबैको भूमिका आवश्यक रहेको बताए ।
अवैध मदिराका कारण दिनहुँ समाजमा झैझगडा, घरेलु हिंसा, महिला हिंसा लगायतका घटनामा वृद्धि भइरहेको हुनाले बाल बिबाह, बहुबिबाह तथा मदिरा सेबनका असर सम्बन्धि विशेष अभियान थालिएको मरन्ठाना चौकिले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend