साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी मंसिर १३ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ रिमुवामा वडाध्यक्ष पदको लागि शनिबार हुने उपनिर्वाचनको तयारी पुरा भएको छ । मतदानस्थलमा सुरक्षा अवस्था, मतपत्रको सुरक्षा, आवश्यक सामग्रीको उपलब्धता लगायतका पक्षमा तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय, गुल्मीले जनाएको छ ।
निर्वाचनको लागि जनज्योति प्राविधिक तथा साधारण माध्यमिक विद्यालयमा दुई वटा केन्द्र निर्धारण गरिएको छ । दुइवटै केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक÷एक जना, सहायक कर्मचारी दुई/दुई र स्वयम् सेवक चार/चार जना नियुक्त गरिएको छ। भने प्रत्येक केन्द्रमा पाचँ/पाचँ जना सुरक्षाकर्मी खटिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । उपनिर्वाचनमा वडाध्यक्षको लागि तीनजनाले उम्मेद्धारी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीबाट गिरी प्रसाद सिञ्जाली, नेपाली काङ्ग्रेसको तर्फबाट वेद बहादुर दर्लामी, र स्वतन्त्र उम्मेद्धार मन बहादुर दर्लामीले उम्मेद्धारी दिएका हुन् । सिञ्जालीको सूर्य, वेद बहादुरको रुख र स्वतन्त्र उम्मेद्धार मन बहादुरलाई सोली चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । नेकपाका तर्फबाट उम्मेद्धारी दिएका सिञ्जाली ०७४ असारमा भएको स्थानीय तहको निर्वाचनबाट वडासदस्यमा निर्वाचित भएका थिए ।
काङ्ग्रेसबाट उम्मेद्धारी दिएका वेद बहादुर पनि यसभन्दा अगाडी दुईवटा चुनावमा भिडेका थिए । ०५४ सालमा भएको रिमुवाको गाविस अध्यक्ष र ०७४ असारमा सोहि वडाको वडाध्यक्षको उम्मेद्धार थिए । तर ०५४ सालमा ८६ र ०७४ सालमा ९ मतले पराजित भएका थिए । रुरुक्षेत्र गाउँपालिका ६ रिमुवामा कुल २०४८ मतदाता रहेका छन् । जसमध्ये महिला एक हजार ७६ र पुरुष ९७२ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend