logo
  • शनिबार, कार्तिक २२ २०८३

बिजुलीको रकम उठाएर मिटर रिडर सम्पर्कविहिन


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल,गुल्मी मंसिर ०३ ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीका नागरिकले विद्युत प्राधिकरणअन्तरगत रहने मिटर रिडरले बिजुलीको रकम उठाएर सम्पर्कबिहिन भएको गुनासो गरेका छन् । मंगलबार सिर्सेनीको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थितले स्थानीय समेत रहेका मिटर रिडर बाबुराम अर्यालले बिजुलीको बिल आफुहरुसँगबाट उठाएको तर प्राधिकरणमा नबुझाएको गुनासो गरे ।‘बाबुरामले बिजुलीको बिल र पैसा तत्कालै लगे,तर विद्युत प्राधिकरणमा बुझाएका रहेनछन् ।’ एक स्थानीय युवाले भने, ‘कुन दिन प्राधिकरणले लाईट काटिदिने हो, थाहै छैन । ’ त्यसका साथै बाबुरामले घरमा गएर काट्नुपर्ने बिल बाटोमै बसेर अनुमानको भरमा काटेको समेत स्थानीयले आरोप लगाए । गाउँपालिकाका सुचना अधिकारी ऋषिराम पोखरेलले रकम उठाउने काम मिटर रिडरको नभएको बताए । गाउँपालिकाको आयोजनामा भएको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई र्काक्रममा गाउँपालिका र वडा कार्यालयबाट प्रदान हुने सेवा,सामाजिक गतिविधि तथा भइरहेका विकास निर्माणका काम लगायतको बारेमा प्रश्नोत्तर भएको थियो ।

कार्यक्रममै स्थानीयले विद्युतको अनियमतताबारे जोडतोडका साथ उठाएका थिए । अर्का स्थानीय डिलहरी सेनले कतिपय घरमा विजुली नपुगेको, विद्युत कार्यालयले ठिकसँग काम नगरेको, गाउँपालिकाले योजना अनुगमन नगरेको जस्ता गुनासो राखे । त्यसका साथै उनले सिर्सेनी स्वास्थ्य चौकीमा बिजुली बत्तिको अवस्था राम्रो नभएको, विद्यालयमा दरबन्दी सिर्जना नभएको, मोटरबाटो सर्वे गर्दा स्थानीयलाई थाहै नदिएको, सामुदायिक भवन प्रयोगविहिन बनेको, बादरले सताएको लगायतका गुनासा राखे ।स्थानीयको गुनासाको गाउँपालिका अध्यक्ष दान बहादुर केसी, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारी, वडाध्यक्ष नारायण घर्ती लगायतले जवाफ दिएका थिए । प्रशासकिय अधिकृत भण्डारीले विद्युत प्राधिकरणले मात्र विद्युतसम्बन्धी काम गर्ने भएकोले जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकमा यो बिषय उठाउने बताए । अन्य विकासका कामहरुलाई पनि प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्ने, अनुगमनको पाटोलाई व्यवस्थित बनाउने जस्ता प्रतिवद्धता व्यक्त गरे ।

गाउँपालिकाले जनताको गुनासो तथा प्रतिक्रिया बुझि त्यसैअनुसार कार्यशैलि अपनाउन प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रमको पत्रकार हुमाकान्त पोखरेलले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend