logo
  • शनिबार, कार्तिक २२ २०८३

शिक्षकलाई तलव खुवाउन धार्मिक महायज्ञ, विद्यालयलाई दिएको रकम बाहिर जादैँ


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी
२५ कार्तिक । गुल्मीमा शिक्षकलाई तलव खुवाउन धार्मिक महायज्ञ संचालन भएको छ । जिल्लाको मदाने गाउँपालिका १ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माध्यमिक विद्यालयमा शिक्षकलाई तलव खुवाउन धार्मिक महायज्ञ गरिएको हो । विद्यलयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ संचालन गरेको जनाएको छ ।

विद्यालयमा कार्तिक २२ गतेबाट धार्मिक महायज्ञ संचालन भइरहेको छ । महायज्ञ २८ गतेसम्म चल्ने विद्यालयका प्रध्यानाध्यापक राजु चन्द बोहोराले जानकारी दिए । माध्यमिक तहसम्म संचालन भएको विद्यालयमा मावि तहमा हाल एक जनाको मात्रै शिक्षक दरबन्दी छ । अन्य तहमा पनि ४ जनाको मात्रै दरबन्दी छ । विद्यलयलाई आवश्यक पर्ने अन्य ९ जना शिक्षकहरु निजि श्रोतबाटै नियुक्त गरिएको छ । जसले गर्दा तलब खुवाउन समस्या भएकोले माध्यमिक स्तर दीगो समयसम्म कायम राख्न नसकिने भन्दै माध्यमिक स्तरलाई दीगो समयसम्म संचालन गर्नको लागि महायज्ञ संचालन गरिएको जनाइएको छ ।

‘धेरैपटक मन्त्रालयमा दरबन्दीको लागि गयौँ तर उपलब्ध भएन ।’ प्रध्यानाध्यापक बोहोराले भने, ‘माविलाई दीगो समयसम्म संचालन गर्न महायज्ञ चलाउनुको विकल्प देखिएन ।’ विद्यालयमा उच्च शिक्षा पनि संचालन गर्ने भनिएतापनि त्यसको भने केहि निश्चिचता नभएको उनले बताए । महायज्ञमा संकलन र बचत हुने रकमको आधारमा उच्च शिक्षाको निर्णय लिइने उनले बताए ।

नगद पण्डितलाई, बाँकि आयोजकलाई
गुल्मीमा धार्मिक महायज्ञको लहर चलेको छ । जिल्लामा भएका धार्मिक महोत्सवमध्ये अधिकाशं विद्यालयद्धारा आयोजना गरिएका छन । केहि महायज्ञ स्थानीय तह र धार्मिक संस्थाको संयुक्त आयोजना तथा केहि पण्डित आफै आयोजक भएर पनि धार्मिक महायज्ञ गर्ने गरेका छन् । तर यस्ता धार्मिक महायज्ञमा पण्डितहरुले उठेको रकमजति आफुले लैजाने र बाँकि बोल रकम आयोजक संस्थालाई छोड्ने गरेको पाइएको छ ।

यसरी जिल्लाका विभिन्न संघ–संस्था पण्डितहरुको चङ्गुलमा फस्दै आएका छन् । अधिकाशं ठाउँमा विद्यालय र पण्डितको समुहबिच अग्रिम रकमको सम्झौता भई महायज्ञ हुने गरेको समेत पाइएको छ । रघुफेदीको महायज्ञ पण्डित नारायण न्यौपानेले संचालन गरिहेका छन् । अहिलेसम्म उनले लैजाने रकमको सु–निश्चितता भएको छैन । तर उठेको रकमको आधारमा पण्डितलाई त्यसको केहि प्रतिशत रकम दिइनेछ ।

स्थानीयको रकम बाहिर जाँदै
विभिन्न ठाउँमा संचालन गरिने धार्मिक महायज्ञमा अधिकाशं रकम बाहिर जाने गरेको छ । स्थानीयले विद्यालयको भलाईको लागि भनेर दिएको रकम पण्डित, प्रचार–प्रसार र अतिथि सत्कार लगायतका विभिन्न कार्यमा प्रयोग हुन्छ । जसले गर्दा महायज्ञबाट संकलित रकम विद्यालयमा प्रयोग हुन पाउदैँन । त्यसैमाथि नगद पण्डितलाई दिने र बाँकि आयोजकले व्यहोर्नुपर्ने हुँदा विद्यालयहरु समस्यामा परेको देखिएको छ ।

नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेले धार्मिक महायज्ञको नाममा व्यापार भइरहेको प्रतिक्रिया दिए । महायज्ञ गर्ने भए पण्डित, कलाकार, महायज्ञमा आवश्यक अन्य सामागी्र सबै स्थानीय स्तरकै हुनुपर्ने बताए । तर महायज्ञको नाममा व्यापार गर्नु उचित नभएको उनको बुझाई छ । जिल्लामा संचालन हुने महायज्ञमा स्थानीयले अपनत्व लिन नपाएको भन्दै उनले यो कार्यप्रति स्थानीय पनि चनाखो बन्नुपर्ने बताए ।

यो परिक्षाको घडी हो
प्रध्यानाध्यापक राजु चन्द बोहोराले सुरुमा केहि लगानी गरि प्रतिफल पछि आउने बताए । मदाने गाउँपालिका अध्यक्ष दान बहादुर के.सी. ले गाउँपालिकाले महायज्ञको लागि तीन लाख सहयोग गरेको बताए । तर उनले यो महायज्ञलाई गाउँपालिकाले परिक्षाको रुपमा लिएको बताए । पुर्कोट दहको क्याम्पसले पनि महायज्ञ लगाउने भनेपनि आफुले नगर्न भनेको उनले बताए । तर अग्लुङको महायज्ञबारे सुरुमा परामर्श नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend