साझा नेटवर्क
हिन्दु धर्मावलम्वीहरुको दोस्रो महान पर्व शुभ-दीपावली तथा तिहारमा परदेशमा रहेका दाजु र घरदेशमा रहेकी बहिनि बीच भएको तिहार विशेष मुक्तक दोहोरी ।

✍️ साहित्य प्रेमी सुरज
खुशी साथ फर्किदै छन् घर जानी तिहारमा
यसपाली नि मैले छुट्टी पाइन नानी तिहारमा,
रुन्न भनेर अठोट गर्छु मुटु माथि ढुंगा राखी
अनयासै आइदिन्छ आँखामा पानी तिहारमा !! १
✍️ मिना भण्डारी
दाजुको लागि भन्दै मैले चामल कुटाएकी छु ,
सप्तरङ्गी टीका अनि फूलमाला जुटाएकी छु,
तर कथित पोहोरको जस्तै दोहोरिदा हेर्नुस्
आखामा एक्नासै आशुमुल फुटाएकी छु!!१
✍️ साहित्य प्रेमी सुरज
धोको रह्यो मखमलीको माला लाउँला भन्ने
यसपाली तिहारमा देउसी खेल्न जाउँला भन्ने,
दाजु बहिनी मिलेर एकआपसमा रमाईलो गर्दै
तिहारका परिकारहरू मिठो मानी खाउँला भन्ने !!२
✍️ मिना भण्डारी
सयपत्री र मखमली फुलका माला सुक्ने भए,
पोहोर जस्तै सारा रहर अहिले पनि चुक्ने भए
आउछु भन्दै आशा देखाइ निराशामा पारेपछी
सबैका अघि मेरा नयन फेरि पनि झुक्ने भए !!२
✍️ साहित्य प्रेमी सुरज
परदेशीका पिडा बुझी मन नदुखाउनु बैनी
नयन बाट झरेका आँसु पनि लुकाउनु बैनी
म मात्रै होइन हेर स्वदेश फर्किन नपाएको
सबैको त्यस्तै भन्दै तिम्ले मन बुझाउनु बैनी !!३
✍️ मिना भण्डारी
कोहि बाहिर बोल्दा पनि चिच्चाए जस्तो लाग्छ
आगनिका फुलले पनि गिज्जाए जस्तो लाग्छ,
अरु सबैले गला र निधार रङ्गाएको देख्दा भने
कताकता भित्री मन मेरो झिझ्याए जस्तो लाग्छ!!३
✍️ साहित्य प्रेमी सुरज
खै कहिले सम्म यसैगरी तड्पिएर रुनु पर्छ
साथीहरु घर फर्किदा म डियुटीमा हुनु पर्छ
सबैले संजालमा फुलमालाका फोटा राख्दा
मलाई भने सधैं बहिनीको तस्बिर छुनु पर्छ !!४
✍️ मिना भण्डारी
निधार खाली नराखी टीका लाउनु है दादा
जसरी भए पनि अर्को साल आउनु है दादा
उता हजुर यता म बस्नुभन्दा तड्पि तड्पी
हाम्रो सानो झुपडी खुशिले छाउनु है दादा !!४
✍️ साहित्य प्रेमी सुरज
वाचा भयो अर्को साल दादा पक्कै आउनेछ
निरास तिम्रो त्यो मुहारमा मुस्कान ल्याउनेछ
सबको घरमा जस्तै बहिनी हाम्रो घरमा पनि
झिलीमिली तिहारमा हर्ष अनि खुशी छाउनेछ !!५
✍️ मिना भण्डारी
दादाको दु:ख सबै ओझेलमा झारिदिन्छु
मेरा मनका सारा खुशी त्यतैतिर सारिदिन्छु
रोग,शोक र शत्रुबाट मुक्त पाउनु भन्दै मैले
ओखरगेढी घझामघुझुम सघरिमा पारिदिन्छु !!५
✍️ साहित्य प्रेमी सुरज
बल्ल परदेशी दाजुको मन खुशीले छायो
हतास भएको बेलामा केही आशा पलायो
दाजुका पिर,ब्यथाहरु बहिनीले बुझिदिदाँ
बिस्तारै यि ओठमा मिठो मुस्कान आयो !!६
✍️मिना भण्डारी
चारपाँच वर्ष सम्म मन बुझाए दादा
आफै बुझ्नुस् कति आँसु लुकाए दादा
फोन गर्दा जहिल्यै आउछु भन्नुहुन्छ
आलटाल गर्दा कति मन दुखाए दादा !!६
दाजु
साहित्य प्रेमी सुरज
रेसुङ्गा नगरपालिका-४, गुल्मी
बहिनी
मिना भण्डारी
धुर्कोट गाउपालिका-६, गुल्मी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend