साझा नेटवर्क
फाइल फोटो : जिल्लाको गुल्मीदरबार गाउँपालिका ४ स्थित रुन्खादह माध्यमिक विद्यालयमा महायज्ञ लगाउदैँ पण्डित बालयोगेश्वर महाराज
हुमाकान्त पोखरेल, गुल्मी कार्तिक ३ ।
गुल्मीमा धार्मिक महायज्ञको लहर चलेको छ । जिल्लामा भएका धार्मिक महोत्सवमध्ये अधिकाशं विद्यालयद्धारा आयोजना गरिएका छन । केहि महायज्ञ स्थानीय तह र धार्मिक संस्थाको संयुक्त आयोजना तथा केहि पण्डित आफै आयोजक भएर पनि धार्मिक महायज्ञ गर्ने गरेका छन् ।

फाइल फोटो : जिल्लाको गुल्मीदरबार गाउँपालिका ४ स्थित रुन्खादह माध्यमिक विद्यालयमा महायज्ञ लगाउदैँ पण्डित बालयोगेश्वर महाराज ।
तर यस्ता धार्मिक महायज्ञमा पण्डितहरुले उठेको रकमजति आफुले लैजाने र बाँकि बोल रकम आयोजक संस्थालाई छोड्ने गरेको पाइएको छ । यसरी जिल्लाका विभिन्न संघ–संस्था पण्डितहरुको चङ्गुलमा फस्दै आएका छन् । अधिकाशं ठाउँमा विद्यालय र पण्डितको समुहबिच अग्रिम रकमको सम्झौता भई महायज्ञ हुने गरेको समेत पाइएको छ ।
गुल्मीमा विभिन्न धार्मिक एवम् पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गर्न, नयाँ मन्दिर निर्माण गर्न, विद्यालयमा उच्च तथा प्राविधिक शिक्षा सुरु गर्न तथा विद्यालयको स्तरोन्नती गर्ने उदेश्यले महायज्ञ लाग्ने गरेको छ ।
इस्मा गाउँपालिका वडा नम्बर १ स्थित हिमालय माध्यमिक विद्यालयमा वि.स. २०७४ वि.स. २०७४ माघ २७ गतेदेखि फागुन ८ गतेसम्म धार्मिक शैक्षिक महायज्ञ सम्पन्न भो । महायज्ञमा एक करोड ६५ लाख बोल रकम हो । अहिलेसम्म जम्मा एक करोड १७ लाख नगद उठ्यो ।
अझै पनि ४८ लाख उठ्नै बाँकि छ । तर महायज्ञ चलाएका पण्डित गोविन्दशरण महाराजले १७ लाख नगद लगेको प्रध्यानाध्यापक दधिराम पन्थीले जानकारी लिए । पण्डित लगायत कलाकारहरुको पारिश्रमिक १० लाख र व्यवस्थापन लागि सात लाखको खर्च देखाएर महाराजले उक्त रकम बुझेको प्रध्याध्यापक पन्थीले बताए । त्यो बाहेक पनि विद्यालको २३ लाख खर्च भयो । बचेको रकमबाट विद्यालमा अहिले प्राविधिक शिक्षा संचलन भइरहेको छ । भने केहि रकम बैंक खातामा रहेको छ ।
प्राविधिक शिक्षा स्थापना गर्ने उदेश्यले मुसिकोट नगरपालिका ७ वामिटक्सामा रहेको महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा ०७५ फागुन १३ देखि २० गतेसम्म शैक्षिक धार्मिक महायज्ञ सम्पन्न भयो । पण्डित भाष्कर कमन नयन गौतमको समुहले संचालन गरेको महायज्ञमा एक करोडको जग्गासहित कुल छ करोड बोल रकम हो ।
हालसम्म एक करोड मात्रै उठेको छ । पण्डित गौतमले तत्कालै उठेको रकमबाट छ लाख नगद लगेको र बाँकि उठाउने जिम्मा विद्यालयलाई छाडेको प्रध्यानाध्यापक बुद्धि प्रसाद सापकोटाले बताए । महायज्ञकै अझै चार करोड बोल रकम उठ्न बाँकि छ ।
धुर्कोट गाउँपालिका ६ स्थित खड्गछत्र मन्दिरमा वि.स. २०७४ चैत ४ देखि १० गतेसम्म धार्मिक महायज्ञ संचालन भयो । धुर्कोट गाउँपालिका संरक्षक रहने गरी मन्दिर व्यवस्थापन समति आयोजनामा संचालित महायज्ञको मुख्य उदेश्य नयाँ मन्दिरको निर्माण गरी धुर्कोट कोतलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नु हो । महायज्ञामा कुल ८६ लाख ४५ हजार ९६२ बोल रकम हो ।
महायज्ञ संचालन गरेको डेढ बर्षसम्म जम्मा ४८ लाख ३३ हजार ७२८ मात्र उठ्यो । अझै पनि ३८ लाख १२ हजार २३४ उठ्न बाँकि छ । तर महाज्ञका प्रमुख वाचक पण्डित भिमकान्त पन्थीले दुई लाख नगद बुझे । ‘महायज्ञ सकिएपछि पण्डितलाई नगद दिएका हौँ, तर अझै धेरै रकम उठाउनै बाँकि छ ।’
महाज्ञ संचालन गर्दाका आर्थिक समिति संयोजक लोक बहादुर के.सी.ले भने, ‘धेरै पटक भनेपनि रकम दिन अटेरी गर्छन् ।’ उनले सानो–सानो रकम उठाएपनि ठुलो रकम बोलेकाहरुबाट नै संकलन भएको जानकारी दिए । उठेको रकमबाट अहिले मन्दिर निर्माण कार्य चलिरहेको छ ।’
कतिपय विद्यालयका धार्मिक महायज्ञहरु ठेक्कामा समेत संचालित हुने गरेको पाइएको छ । महायज्ञ संचालन हुनुभन्दा पहिले नै पण्डितले पाउने रकमबारे कुनै विकास निर्माणको काम गर्न लागेझै कागजमा पण्डित र आयोजकको सम्झौता गर्ने गरिएको पाइएको हो ।
मालिका गाउँपालिका ८ सिमलटारीको मालिका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्ने उदेश्यले अहिले धार्मिक महायज्ञ चलिरहेको छ । असोज २७ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक ४ गतेसम्म संचालन हुनेछ । महाज्ञमा कुल करोड संकलन गर्ने लक्ष्य लिइएको छ ।
अझ रोचक पक्ष त के छ भने स्थानीयले विद्यालयको लागि भनेर दिएको चन्दालाई आठ दिनसम्म महायज्ञ संचालन गरेबापत पण्डितलाई ४० लाख दिने सम्झौता गरिएको छ । विद्यालयका प्रध्यानाध्यापक हेमराज पौड्यालले वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति, स्थानीय बुद्धिजिवी लगायतको रोहवरमा ४० लाखमा पण्डितसँग महायज्ञको सम्झौता गरिएको बताए ।
यदि महायज्ञमा ४० लाख वा सो भन्दा थोरै रकम उठे पण्डित र विद्यालयलाई ५०÷५० प्रतिशत रकम बाड्ने र ४० लाखभन्दा धेरै रकम संकलन भएमा पण्डितले ४० लाख लैजाने सहमति भएको प्रअ पौड्यालले जानकारी दिए । महायज्ञको चौथो दिनसम्म कुल २३ लाख नगद संकलन भएको छ ।
प्रअ पौड्यालले विद्यालय आफैले व्यवस्थापन गरेपनि त्यो भन्दा धेरै रकम खर्च हुने तर पण्डितसँग सम्झौता गरेपछि आफुहरु आलोचित हुनुपरेको स्वीकार गरे । अबको केहि दिनपछि मदाने गाउँपालिका १ स्थित रघुफेदी प्रतिमान निमा माध्यमिक विद्यालयमा धार्मिक महायज्ञ संचालन हुँदैछ ।
कक्षा १२ सम्म संचालन गर्ने उदेश्यले धार्मिक महायज्ञ गर्न लागिएको भएपनि पण्डितसँग रकमबारे भने कुनै सम्झौता नभएको प्रध्यानाध्यापक राजुचन्द्र बोहोराले जानकारी दिए ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका ४ स्थित रुन्खादह माध्यमिक विद्यालयमा गरिएको महायज्ञ बराबरीमा टुगिंएको छ । विद्यालयले २०७५ साल चैत २२ गतेदेखि ०७६ वैशाख १ गतेसम्म धार्मिक महायज्ञ संचालन ग¥र्यो । महायज्ञमा कुल एक करोड २८ लाख बोल रकम हो ।
अहिलेसम्म कुल ५० लाख मात्र संकलन भयो । तर महायज्ञ गराउने प्रमुख वाचक बालयोगेश्वर महाराजले ४८ लाख नगद बुझे । भने बाँकि दुईलाख स्टेशनरी लगायतका शिर्षकमा खर्च भएको विद्यालयले जनाएको छ । प्राविधिक शिक्षा संचालनको लागि लगाइएको महायज्ञको ठुलो रकम नै उठ्न बाँकि छ । बालयोगेश्वरले स्थानीयबाट रकम संकलन गरी हेलिकप्टर चढेको भन्दै स्थानीयले विरोध गरेका थिए ।
नागरिक समाज गुल्मीका संयोजक पदप प्रसाद पाण्डेले धर्मको नाममा व्यापार भएको धारणा राखे । स्थानीयले विद्यालय वा संघ सँस्थालाई भनेर दिएको रकम महायज्ञको नाममा पण्डितलाई ठेक्का दिई रकम बाहिर गएकोमा दुःख व्यक्त गरे । त्यसका साथै उनले यसबारे सम्बन्धित सबै पक्ष सजक हुनुपर्ने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend