साझा नेटवर्क
( Pequim - China, 24/05/2019) Vice-Presidente da República, Hamilton Mourão, durante Audiência com o Presidente da República popular da China, Senhor Xi Jinping. Foto: Adnilton Farias/VPR
साझा नेटवर्क, काठमाडौं असोज २५ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणमा आज शनिबार काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मुख्यालय काठमाडौंमा रहेका कारण नेपाललाई दक्षिण एसियाकै राजधानी मान्ने गरिएको छ। नेपाल सार्कको अध्यक्ष समेत हो। चीन सार्कको पर्यवेक्षक मुलुक हो। चीनले सार्कमा आफ्नो भूमिका खोज्दै आएको छ।
सीले दुईपक्षीयबाहेक बहुपक्षीय र क्षेत्रीय विषयमा मोमल्लीपुरम र काठमाडौंमा छलफल गर्ने बताइएको छ। नेपालमा हुने भेटमा उनले त्रिदेशीय सहकार्यको विषयमा पनि जोड दिने बताइएको छ। सार्कका प्रभावशाली नेताको रूपमा रहेका नरेन्द्र मोदीसँग मोमल्लीपुर उहान–२ वार्ता गरी उनी सार्क अध्यक्षसमेत रहेको मुलुक आउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ।
उहान–१ मा चीन–भारतबीच प्लस वानको भूमिकामा नेपालको नाम आएको थियो। उनको राजनीतिक भ्रमणलाई दुईपक्षीय रूपमा मात्र लिन नहुने विज्ञको सुझाव छ। कूटनीतिक क्षेत्रका जानकारले नेपाली नेतालाई राष्ट्रपति सीको नेपाल भ्रमणलाई अर्थपूर्ण र महत्त्वपूर्ण रूपमा लिँदै सावधानीपूर्वक वार्तामा प्रस्तुत हुन सुझाएका छन्। सरकारले दुईपक्षीय सहकार्यका एजेन्डा तयारी गरेको बताए पनि पूर्वप्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्रीसँग बिहीबार मात्रै छलफल गरी बताए ।
चीन मामिलामा राजनीतिक नेतृत्त्वबीच मत बाझिएको अवस्थामा सरकार निकै सचेत भएर वार्तामा प्रस्तुत हुनुपर्ने सुझाव विज्ञले दिएका छन्। हिमालपारिको छिमेकबाट २३ वर्षपछि उच्चस्तरको भ्रमण हुन लागेको हो। उच्चस्तरीय भ्रमणलाई नेपालले राजनीतिक, आर्थिक तहबाट फलदायी बनाउने हैसियतमा आफ्ना धारणा प्रस्तुत गर्न सक्नु पर्ने सुझाव आइरहेको छ। सी भ्रमणलाई नेपालले निकै प्राथमिकतामा दिएको छ।
सीको विचार धारामा चीन अघि बढिरहेको छ। माओ र तङ स्याओ पिङ पछि अर्का प्रमुख नेताको रूपमा दरिएका सीले विश्व नेत्रितो नेतृत्वको महत्त्वकांक्षा प्रस्तुत गरिने बताइएको छ। एकदिने भ्रमणको तयारीमा रहेका सी नेपालको आग्रहलाई स्वीकार गर्दै दुईदिने बनाउनुलाई उनले नेपालप्रति देखाएको चासोलाई झल्काएको छ। नेपाल चीनको विवादरहित छिमेक हो। नेपालले आफ्नो भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन दिँदैन भन्ने सन्देश खम्पा विद्रोह दमन गर्दा नै देखाएको हो।
यो विश्वासमा अडेको चीनसँगको सम्बन्धलाई अझ कसिलो बनाउने गरी आर्थिक सहकार्यमा नेपाल अग्रसर हुनु आवश्यक छ। सीको भ्रमणलाई सर्वसाधारणले पनि चासो देखाएका छन्। भ्रमणका क्रममा नेपाल र चीनबीच दर्जनभन्दा बढी सम्झौता र सहमति हुने बताइएको छ। सम्झौता तथा सहमतिको खाका नेपालले तय गरिसकेको छ।
सडक, प्रसारण लाइन, रेलमार्ग, क्रसबोर्डर रेल, आर्थिक जोन, सुरुङ मार्ग, नाका स्तरोन्नति, सडक मार्गको विकासलगायतका विषय सम्झौता तथा सहमतिमा समेटिएका छन्। सरकारी अधिकारी नेपालले बनाउन लागेको पूर्वपश्चिम रेलमार्गमा चिनियाँ सहयोग घोषणा हुन सक्ने आशामा छन्।
सरकारले पूर्वपश्चिम रेलका लागि चिनियाँ एक्जिम बैंकसँग ऋणको अपेक्षा गरेको छ। भ्रमणको एजेन्डमा त्यो विषय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचीमा राखेको छ।
केरुङ–काठमाडौं रेलका विषयमा विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार गर्ने विषयमा जोड दिइने भएको छ। यस्तै सरकारले टोखा–छहरे सुरुङमार्गसहित सडक खण्ड निर्माणको प्रस्ताव गर्ने तयारी गरेको छ। अन्य दर्जनभन्दा बढी विषयमा छलफल भई सम्झौताका लागि तयारी गरेको बताइएको छ। भ्रमणमा चीनले सरप्राइज घोषणा गर्न सक्ने अनुमान गरिएको छ।
काठमाडौंमा अवतरण गरेपछि सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली पनि विमानस्थल पुग्नेछन। त्यहाँ उनलाई गार्ड अफ अनर दिइने कार्यक्रम रहेकाले मन्त्रिमण्डलका सदस्य तथा संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतका अधिकारी त्यहाँ पुग्नेछन्। गार्ड अप अनर सकिएपछि उनी सिधै होटल सोल्टी जानेछन्।
केही समय आराम गरेपछि उनी राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुग्नेछन्। राष्ट्रपतिसँग भेटवार्ता पछि त्यहाँ दुईपक्षीय सम्बोधन हुनेछ। त्यसका लागि सबै व्यवस्था मिलाइसकेको परराष्ट्र अधिकारीले बताए। त्यहाँबाट उनी सोल्टी फर्कने छन्। त्यहाँ उनको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गरिएको छ। ब्यङक्विट रिसेप्सन हुनेछ। सीमित मानिसलाई मात्र उपस्थित गराइने रात्रिभोजमा अनौपचारिक कुराकानी हुनेछ। सबै कार्यक्रम सोल्टीमा नै हुनेछ। आइतबार विमानस्थल जानुअघिसम्मका सबै भेटघाट सोल्टी होटलमै हुनेछ। चिनियाँ राष्ट्रपति सीले होटल सोल्टीमा नै प्रधानमन्त्री ओलीसँग आइतबार प्रतिनिधिमण्डल स्तरमा छलफल गर्नेछन्। छलफलमा केही हस्ताक्षर हुने कार्यक्रम छ।
त्यसलगत्तै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुनेछ। उनले त्यसपछिको भेटवार्ता प्रमुख प्रतिपक्ष एवं चिनियाँ कम्युनिस्ट पार्टीको पुरानो मित्र भनेर चिनिएको कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। त्यसपछि अन्य केही नेतालाई पनि भेट्ने तयारी गरेको अधिकारीले बताए। सबै भेटवार्ता सकेर उनी आइतबार स्वदेश फर्कनेछन्। उनको भ्रमणको सुरक्षाका लागि पाँच सय बढी चिनियाँ सादा पोसाकका सुरक्षाकर्मी र गुप्तचर परिचालन गरिएको छ।
चिनियाँ राष्ट्रपति सीको स्वागत र बिदाइका लागि निजामती कर्मचारी सडकमा उपस्थित हुनेछन्। सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्न सरकारले निर्देशन दिइसकेको छ।
निजामती पोसाकमा उनीहरू शनिबार दिउँसो ३ः४५ बजे र आइतबार बिहान ११ः१५ बजे सडकमा उभिने छन्। प्रत्येक मन्त्रालयलाई कम्तीमा एक सय कर्मचारी उपस्थित गराउन निर्देशन दिइएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend