साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असोज १८।
जिल्लाका विभिन्न शक्तिपिठहरुमा नवरात्रिभर पुजा भइरहेको छ । जिल्लाको धुर्कोट, इस्माकोट, मुसिकोट, मानकोट, चन्द्रकोट लगायतका मन्दिर तथा शक्तिपिठहरुमा नवरात्रिभर पुजा भएको हो । दशैँका दिन नजिकिदैँ गर्दा शक्तिपिठहरुमा पनि चहल पहल बढ्दै गएको छ ।

विशेषगरी तत्कालिन बाइसे र चौविसे राज्यअन्तरगत राजाले शासन चलाएको ठाउँ अर्थात कोतमा दसैँमा विशेष मेला लाग्ने गर्दछ । विशेष गरी नवमिको दिन बली चढाउने तथा पूर्णिमाको दिन सरायँ नाच मुख्य आकर्षक हुन् । धुर्कोट कोतमा दसैँको घटस्थापनादेखि पूर्णिमासम्म नवरात्रीभरी पुजाआजा हुन्छ ।

कोतमा कुल १७ भाईको पुजा गर्ने गरिन्छ । त्यसमध्ये माइला र अर्का एक भाईलाई कोतको मन्दिरभन्दा झण्डै पाचँ सय मिटर तल छुट्टै स्थानमा मन्दिरमा राखिएको छ । बाँकि १५ भाईलाई दरबारमै राखिएको छ । माईला र अर्का एक भाई साकाहारी भएकोले छुट्टै स्थानमा बसेको किम्बदन्ति छ । मन्दिरमा कुल ६ जना उपासु रहेका हुन्छन् ।

जैसिथोकस्थित बाटुले भन्ने ठाउँबाट फुलपाति भित्राउने गरिन्छ । त्यस दिन फुलपाति लिन गएका व्यक्ति कसैसँग पनि बोल्दैनन् । खवार अथवा रोकाहा थर गरेका एकजनाले फुल ल्याउने गर्दछन् । त्यसरी लिएर आएको फुललाई कोतभन्दा केहिभाग तलबाट बाजागाजासहित मन्दिरमा लगिन्छ र एउटा बली चढाएर मात्र मन्दिरभित्र भित्राउने गरिन्छ ।
नवमिका दिन मन्दिरमा ठुलो सङ्ख्यामा बली दिइन्छ । त्यसबेला १५ भाईलाई बाहिर निकालिन्छ भने माइला र अर्का एक भाईलाई भने मन्दिर भित्रै राख्ने गरिन्छ । टिकाको दिन माइला देवतालाई टिका चढाएर मात्र धुर्कोटका जनताले टिका लगाउने गर्दछन् । भने सोहि दिन नै माइला देवतालाई तलको आफ्नै मन्दिरमा ल्याई राख्ने गरिन्छ ।
पूर्णिमाको दिन सुरुमा गन्दर्भ जातिले छेवाली खेल्ने गर्दछन् । यो नाच गन्दर्भ जातिले नेतृत्व गरेपनि अन्य जातका मानिसहरु पनि सहभागि हुन सक्छन् । यसमा दुई विपरित दिशाबाट हतियार नचाएर खेल्ने गरिन्छ । त्यसपछि हुगु भन्ने खेल्ने गरिन्छ ।
यो खेल पनि तीनपटक दुई ग्रुप भएर विपरित दिशाबाट खेल्ने गरिन्छ । त्यसपछि गन्दर्भ भाईले तुरी खेल्ने गर्दछन् । जहाँ दुई भाईले श्लोगबाट एक आपसमा द्धन्द्ध गर्ने गर्दछन् । यसमा गन्दर्भ जाति मात्रै खेल्ने गर्दछन् । त्यसपछि पट्टा खेल्ने गरिन्छ । र पछि सरायँ सुरु हुन्छ ।
ढाल, तरवार, खुकुरी, लट्टि, रुमाल, जमरा या फुलको माला लगाएर सराय खेल्ने गरिन्छ । राजाहरुले शासन गर्दा जनतालाई बोलाएर सेनाले शक्ति पर्दशन गर्थे । त्यसैको विकससित रुप अहिलेको सराय नाचँ रहेको अनुमान गर्न सकिन्छ ।
प्रसिद्ध ऐतिहासिक, प्राचिन तथा धार्मिक स्थल इस्माकोतमा आश्विन शुक्ल प्रतिपदाका दिनदेखि बिजया दशमीको दिनसम्म तीन जना ब्राहमण, दुई जना क्षेत्री पुजारी कोत घरमा पस्ने प्रचलन रहेको छ । नौ दिनसम्म बेद, तथा चण्डी पाठ गर्ने र बिहान बेलुका पञ्चेवाजाका साथ दर्शनी बडाई गर्ने गरिन्छ ।
कोतघरमा सप्तमी, महाअष्टमी र महा नवमीमा बिशेष मेला लाग्ने गर्दछ । भने बिजया दशमीका दिन बिहान फुलपातीका दिन कोतघरमा लगिएका खड्ग देवतालाई पुन इस्मा मैदान ल्याएर सडग मन्दिरमा राखेपछि दशै सकिन्छ । भने एकादशीका दिन इस्मा मैदानमा सरायँ नाच देखाइन्छ ।
इस्मा क्षेत्रका माई मनकामना, उल्का, सिद्ध, काल भैरव, छत्रभुमि, सुन्तलादेवि, सुपा देउराली लगायतका स्थानमा दशै अवधिमा पुजा हुने गर्दछ ।
बाइसे चौविसे राज्य मध्येको इस्माकोतमा हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्राइने गरिन्छ ।
फुलपातीको दिन अर्थात नवरात्रीको सातौ दिन घरघरमा फुलपाती भित्राइदै नवदुर्गा भवानीको स्वरुप मानेर कालरात्री देबीलाई पुजा गरिन्छ । घटस्थापनाकै दिन देखि दशै शुरु भएपनि फुलपातीको दिनदेखि बिशेष दशैको चहलपहल शुरु हुने गर्दछ । इस्माकोतमा इस्मा रजस्थलको चाँपटारीबाट ल्याइएको फुलपाती कोत घरमा भित्राउने चलन रहेको छ ।
फुलपाती भित्राउनु अघि इस्मा मैदानमा परम्परागत पट्टा नाच खेल्ने, मालश्री गाउने र नेपाली सेनाको टोलीले सलामी अर्पण गर्ने गर्दछन् । त्यसपछि मैदानकै खडग मन्दिरमा रहेका देवतालाई बाजागाजाका साथ माथी कोतघरमा भित्राइने प्रचलन रहिआएको छ ।
चन्द्रकोतमा बडादसैँको घटस्थापनादेखि पूर्णमासम्म पुजाआजा हुन्छ । घटस्थापनाको अर्को दिन फुलपाति भित्राउने गरिन्छ । कोतमा बर्षेनी १२० देखि डेढ सयसम्म राँगा र बोका बलि दिने गरिन्छ । भने दर्जनौको सङ्ख्यामा पञ्जबली चढाउने गरिन्छ । कोतमा बली चढाउनाले कामना गरेका इच्छ्या पुरा हुने विश्वास गरिन्छ ।
कोतमा बर्खे दसँैमा नवमिको दिन र चैते दसैँमा अष्टमिको दिन बलि दिइन्छ । बर्खे दसैँको समयमा नवरात्रीभरी पुजाआजा हुने गर्दछ । पूर्णिमाको दिन हातहतियारसहित सरायँ नाच खेल्ने गरिन्छ । यो नाच विषेश गरि दुष्मनहरुसँग कसरी भिड्ने भन्ने सन्दर्भमा खेल्न थालिएको हो भन्ने किम्बदन्ती छ । तरबार, भाला, खुकुरी, तोक लगायतका हातहतियार समाएर सराय खेल्ने गरिन्छ ।
सरायँ खेलेर सकिसकेपछि फुलपाति बिसर्जन गरिन्छ । चन्द्रकोत मन्दिरमा फुलवारी, घोडातवेलाहरु बान्ने ठाउँ, खेलमैदान लगायतका भौतिक संरचना निर्माण गरिएको छ । अझ रोचक कुरा त के छ भने कुनै मेलामा कोहि व्यक्तिले झगडा गरे भने घोडातवेलामा राख्ने गरिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend