साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१९-२०२१ कार्यकालको लागी आसन्न आठौं अधिवेशनको मिति नजिक आइरहेको छ । सोहि अधिवेशनका लागि विभिन्न पदहरुमा ६९ जनाले उम्मेद्वारी घोषणा गरेका छन् ।
यति बेला चुनावी सरगर्मी माहोल संगसंगै कतारको सामाजिक संजालहरुबाट होस वा प्रत्यक्ष भेटघाट गरेर होस वा फोन सम्बादबाट होस उम्मेद्वारहरुले भोट माग्ने काम तिब्र रुपले अगाडि बढाएका छन् ।
NRNA NCC कतारको नयाँ नेतृत्वका लागि आगामी २३ अगस्ट २०१९ का दिन नेपाली दुतावासको कतारको सभाहलमा आठौं राष्ट्रिय अधिवेशनका लागि मतदान हुँदै छ ।
“नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ अगाडि बढेको NRNA लाई उम्मेद्वारहरुले आ-आफ्ना उदेश्यहरुलाई पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
एनआरएन एनसीसी परिषद सदस्यहरुमा समर्थन र सहयोगको अपेक्षा सहित आशन्न आठौं राष्ट्रिय अधिवेशनमा अध्यक्ष पदको लागी द्वय तेज कटुवाल र मोहम्मद मुक्तदा मुसलमानले उम्मेदवारीका साथै विभिन्न कार्यक्रमको आयोजना गरि आ-आफ्नो प्रतिबद्धता घोषणा गरिरहेका छन ।
सामाजिक हिसाबले हेर्ने हो भने दुवै जना उत्तिकै अब्बल छन । कटुवाल एनसीसीको कार्यकारी प्रथम उपाध्यक्ष समेत रहेका र आफ्नो कार्यकालमा स्थापित सामाजिक संघ संस्थालाई समन्वय गरि सक्षम भुमिका निर्वाह गरेका परीचित ब्यक्ती हुन ।
त्यस्तै मुक्तदा मुसलमान सामाजिक हिसाबले हेर्ने हो भने प्रवासमा विभिन्न समयमा अलपत्र परेका दाजुभाइ दिदिबहिनीहरुको समस्याको समाधान र पीडितका लागी विभिन्न समयमा सहयोग गर्दै आएका न्यायको निम्ति अगाडि बढने व्यक्ति हुन ।
उम्मेद्वारबाट सार्वजनिक गरिएका आ-आफ्ना प्रतिवद्धता केबल चुनावी संघारमा मात्र नभएर व्यबहार पनि लागु होस् भन्ने अपेक्षा रहेको यहाँका नेपालीहरुको भनाइ रहेको छ । सिंगो हाम्रो देश अर्थतन्त्रमा वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले एक चौथाई बढी भाग ओगटेको छ भने देशभरको आधा भन्दा बढी परिवार त्यहि रेमिट्यान्सले थेगेको छ ।
हामी सबैलाई अवगत नै छ, दैनिक विदेशीने हजारौं यूवाहरु बिशेष गरी खाडी राष्ट्रहरुमा आउने गर्दछौं । हाम्रो सबैको आफ्ना बाध्यता होला प्रवासमा भइपरी आउने समस्याहरुलाई निराकरण/सामाधान गर्नमा अब बन्ने नयाँ कार्यसमितिको ध्यानाकर्षण होस ।
हामी सबै आ-आफ्नो आस्थावान पार्टीमा समर्पित छौं, हुनु पनि पर्दछ । यो चुनावी लोकतान्त्रिक पद्धतिमा आफ्नो मत सुनिश्चित गर्ने हक अधिकार हामी आफैमा छ तर सबै “मेरो गोरुका बाह्रै टक्का” भन्ने चाही हुनु भएन है ! हाम्रोलाई भन्दा पनि राम्रोलाई छानौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend