साझा नेटवर्क
काठमाडौं, आषाढ ३०।
संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने अडान लिइरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीभित्र अल्पमतमा पर्ने अवस्थामा पुगेका छन् । पार्टीको स्थायी कमिटीमा राजीनामा पक्षधरहरुको बहुमत पुग्ने देखिएपछि अध्यक्ष ओलीले पार्टीको बैठक समेत बसाएका छैनन् ।
अनौपचारिक बैठकमा अधिकांश नेताले माओवादीले समर्थन फिर्ता लिइसकेको अवस्थामा अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु उपयुक्त हुने सुझाव दिएका थिए । तर, ओली पक्षका नेताहरुले भने अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले पुनः स्थायी कमिटीको बैठक बोलाएर छलफल गर्ने आश्वासन नेताहरुलाई दिएका थिए ।
राजीनामाको पक्षमा को-को ?
प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएर संसदीय नैतिकता प्रदर्शन गर्नुपर्ने मत राख्नेहरुमा उपाध्यक्ष वामदेव गौतम अग्रपङ्तीमा छन् । त्यसैगरी पार्टीका पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि यस्तो बेलामा ‘टस्सल’ गर्नुको साटो प्रधानमन्त्रीले पदबाट राजीनामा दिनु उपयुक्त हुने पक्षमा छन् ।
अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्री ओलीले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नु उपयुक्त हुने पक्षमा रहेको एमाले स्रोतले बतायो । तर, राजीनामा गर्ने बेलामा प्रधानमन्त्रीले संसदमा आफ्नो सारगर्भित मन्तव्य दिएर एमालेले सरकार सञ्चालनका बेला गरेका राम्रा कामहरुको रेकर्ड गराउनुपर्ने एमाले शीर्ष नेताहरुको सुझाव छ ।
पार्टीका उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले समेत प्रधानमन्त्रीले राजीनामा दिएर सहज निकासको बाटो अपनाउनु पर्ने मत पार्टीभित्र राखेको स्रोतले बतायो । केपी ओली पक्षकै मुकुन्द न्यौपाने लगायतका नेतासमेत ओलीले राजीनामा दिँदा राम्रो हुने पक्षमा उभिएका छन् ।
एमाले स्रोतले भन्यो- ‘स्थायी कमिटीका अधिकांश नेताहरु प्रधानमन्त्रीले राजीनामा दिँदा राम्रो संस्कार प्रदर्शन हुने पक्षमा उभिएका छन् । तर, प्रधानमन्त्रीले यसबाट भाग्नकै लागि स्थायी कमिटीको बैठक नबोलाई आफूखुशी कदम चालिरहनुभएको छ, यसले एमालेको छविमाथि नकारात्मक असर पार्छ ।’
संसदमा अल्पमतमा पर्ने स्थिति आइसकेपछि सरक्क राजीनामा दिँदा संसदीय मूल्य मान्यताको रक्षा हुने र ओलीको साख अरु चुलिने राजीनामा पक्षधर एमाले नेताहरुको तर्क छ । संविधान र कानूनले नयाँ सरकार गठन गर्न मिल्दैन भन्दै खोचें थाप्ने र एक-दुई महिना सरकारको आयु लम्ब्याउने खेलमा लाग्न नहुने सुझाव एमालेका शीर्ष नेताहरुको छ ।
सहमति तोड्नु ओलीको गल्ती
प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बनेका ओलीले माओवादीसँग गरेको ९ बुँदे समझदारी र ‘जेन्टलमेन एगि्रमेन्ट’मा प्रतिवद्ध भइदिएको भए सरकार नढल्ने वामदेव गौतम पक्षका नेताको तर्क छ । तर, अध्यक्ष ओलीको कार्यशैलीगत कमजोरीका कारण माओवादी पार्टी सरकारबाट बाहिरिएको विश्लेषण एमालेका एकथरि नेताहरुले गरेका छन् ।
अहिलेको अवस्थामा सार्वजनिकरुपमा बोल्दा ओली पक्षले सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउने डरले गर्दा माधव नेपाल पक्ष मौन बस्ने र हेर्ने सोचमा देखिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend