साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी चैत्र १।
एच्. आई. भि. एड्स संक्रमितहरुको दर न्यूनिकरणका लागि गुल्मीमा सरोकारवालाहरुसँग समन्वय कार्यक्रम गरिएको छ। हाम्रो जीवन प्लस गुल्मीको आयोजना तथा एन्.ए.पि.एन. काठमाडौको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।
समाज कल्याण परिषद्, एच.आई. भि. संक्रमितहरुको राष्ट्रिय महासंघ, संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ तथा गैर सरकारी महासंघ गुल्मीका प्रमुख एवंम् प्रतिनिधीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । एच. आई. भि. एड्स. संक्रमितहरुका लागि उपचार, हेरचाह र सहयोग गर्ने, संक्रमितहरुका लागि जनचेतना कार्यक्रम संचालन गर्ने, उनीहरुको मानवअधिकार सम्बन्धी पैरवी तथा वकालत गर्ने विषयमा छलफल गरिएको छ । त्यस्तै संक्रमितहरुको जीवन निर्वाह गर्नका लागि आयआर्जन सम्बन्धी कार्यक्रम संचालन गर्ने तथा उनीहरुको सँस्थागत क्षमता अभिवृद्धि गर्नेसम्बन्धी छलफल गरिएको सँस्थाका कार्यक्रम संयोजक दयासागर विकले जानकारी दिए ।
गुल्मीमा कुल २७६ जना एच.आई. भि
हाम्रो जीवन प्लसका अनुसार जिल्लामा कुल २७६ जनामा एच्. आई. भि. एड्स देखिएको छ । जसमध्ये १५८ महिला र ११८ पुरुष छन् । जिल्लामा सबैभन्दा बढी सत्यवती गाउँपालिकामा २७ महिला र २३ पुरुष गरी ५० जनामा एच्. आई. भि. एड्स. देखिएको छ । मुसिकोट नगरपालिकामा २१ महिला र १४ पुरुष गरी ३५ जना तथा रेसुंगा नगरपालिकामा १४ महिला र १५ पुरुष गरी २९ जनामा संक्रमण देखिएको छ । गुल्मीदरबार गाउँपालिकामा ११ महिला र पाचँ पुरुष गरी १६ जना, छत्रकोट गाउँपालिकामा २६ महिला र १२ पुरुष गरी ३८ जना, रुरु गाँउपालिकामा १६ महिला र ११ पुरुष गरी २७ जनामा एड्स देखिएको सँस्थाले जनाएको छ ।
मदाने गाउँपालिकामा पाचँ महिला र छ पुरुष गरी ११ जना, चन्द्रकोट गाउँपालिकामा महिला/पुरुष नौ/नौ जनामा गरी १८ जनामा संक्रमण देखिएको छ । इस्मा गाउँपालिकामा आठ महिला र सात पुरुष गरी १५, धुर्कोट गाउँपालिकामा १२ महिला र १० पुरुष गरी २२ जना, मालिका गाउँपालिकामा आठ महिला र छ पुरुष गरी १४ जना, कालिगण्डगी गाउँपालिकामा एकजना महिलामा एच्. आई. भि. एड्स. देखिएको संयोजक विकले जानकारी दिए । जिल्लामा बालबालिकामा पनि एड्स देखिएको छ । १६ बर्षभन्दा मुनिका कुल २६ जना एड्सबाट संक्रमित भएका छन् । जसमध्ये छात्रा १२ र छात्र १४ जना रहेको विकले जानकारी दिए ।
मुसिकोटसँग सहकार्य
सँस्थाले मुसिकोट नगरपालिकासँग सहकार्य गरी काम गरेको जनाएको छ । उसले नगरपालिकामा समुदायमा आधारित एच. आई. भि. रक्त परिक्षण तथा सचेतनामुलक कार्यक्रम गरेको जनाएको छ । जसअन्तरगत नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ गरी पाचँ वडामा परिक्षण गरिएको छ । प्रत्येक वडाका दुई/दुई स्थानमा रगत परिक्षण गरिएको सँस्थाकी अध्यक्ष सावित्रा ज्ञवालीले जानकारी दिइन् । परिक्षणको क्रममा आप्रवासीहरुमा बढी मात्रा संक्रमण देखिएको छ ।
संक्रमितहरुलाई पुनः स्थापना गरिएको, सचेतनामुलक कार्यक्रम लगायतका कार्यक्रम गरिएको अध्यक्ष ज्ञवालीले जानकारी दिइन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend