जापानको राजधानी टोकियोमा मिडिया म्यूजिकल मेला २०१९ हुने भएको छ । मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सवको अबसरमा यहि मार्च ३१ तारीख आईतवार पहिलो पटक जापानमा मिडिया म्यूजिकल मेला २०१९ हुने भएको हो ।
उक्त साँस्कृतिक मेलामा नेपालवाट चर्चित लोक गायक अमृत खाती,लोकदोहोरी गायिका स्मृति गौतम र जापानमा क्रियासिल रहनु भएका गायक तथा संगीतकार रामकृष्ण बम मल्ल,लोक गायक युवराज आचार्य,परदेशी गायक सूर्य खड्का,मोडल तथा गायिका सोना केसी,सेलो गायक कर्म दोङ तामाङ,गायक चेतन घर्ती मगर,नृत्यकार सुस्मा गुरुङ,रक गायक सुदीपकुमार थकाली लगाएतको विशेष प्रस्तुति पनि रहने जनाएको छ । मिडिया पहिचान प्रालिले संचालन गर्दै आएको मातृ सन्देश डट कम अनलाईन पत्रिकाको उक्त मिडिया ग्रूपले टोकियोमा कालिका इन्टरनेशनल कम्पनी जापानको व्यवस्थापनमा मिडिया र संगीत क्षेत्रलाई आम दर्शकहरुमाझ अझ नजिक बनाउने उद्धेश्यले पनि मेलाको आयोजना गर्न लागिएको प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक विजय थकालीले जानकारी दिनुभयो । नेपाली कला र संस्कृतिको संरक्षण, नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा दक्ष युवा शक्तिलाई स्वदेश फर्कन सचेतना जगाउने उद्धेश्य सहित उक्त कार्यक्रम मार्फत उठेको आम्दानीले नेपालको टुहुरा तथा असाहाय बालवालिकाको लागि शैक्षिक सामाग्री सहयोग गर्ने मातृ सन्देश डट कमका प्रधान सम्पादक तथा कार्यक्रम आयोजक एवं सचिव शान्त पहरीले बताउनुभयो ।
कार्यक्रम नेपाल सरकार राष्ट्रीय युवा परिषद्, नेपाल पत्रकार महासंघ जापान र माया रेष्टुरेण्ट जापानको विशेष सहकार्य र सपोर्टमा आयोजित हुने उक्त साँस्कृतिक कार्यक्रममा उपस्थितिको लागि जापानवासी नेपालीहरुमा हार्दिक अनुरोध समेत गरेको छ ।