साझा नेटवर्क,टोकियो फागुन १८ ।
गत बर्ष जस्तै यस बर्ष पनि जापानको टोकियोमा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरको आयोजना गरिने भएको छ । टोकियो महानगरपालिकाको प्राविधिक सहयोगमा एनआरएनए जापान र एनवियको बिशेष सहकार्यमा हुने उक्त शिविर आसाको आयोजनामा हुन लागेको बताइएको छ ।
उक्त स्वास्थ्य शिविर ओकुवो स्थित एभरेष्ट ईन्टरनेशनल स्कुल ( ओगिकुबो सुगिनामि कु,टोकियो) मा हुने बताईएको छ । यहि आउँदो मार्च महिनाको २१ तारिखका दिन संचालन हुने शिविरको अवधि भने बिहान १० बजे बाट बेलुकी ५ बजे सम्म हुने एनआरएनए संस्थाको तर्फ बाट एनआरएनए जापानकी महिला सदस्य सृजना ज्ञवालीले बताउनु भयो । नेपाली तथा जापानि चिकित्सकहरुको संलग्नतामा हुने स्वास्थ्य शिविरमा बिरामीको रोगको अवस्था हेरेर छातिको एक्स रे, इ .सि .जी., मुटुको भिडियो एक्स रे, मधुमेह रोगको जाँच र दन्त परिक्षण सेवा नि:शुल्क उपलब्ध हुने आयोजक संस्थाका सदस्य डा.बिजय ज्ञवालीले जानकारी दिनुभयो । महिला सम्बन्धि रोगको लागि शिबिरमा एकजना नेपाली महिला चिकित्सक पनि सेवामा सहभागी हुने र साथै आवश्यकता अनुसार बिरामीलाई निशुल्क रिफर पत्र उपलब्ध गराइने संयोजक डा.प्रकाश शाक्यले जानकारी दिनुभयो ।
शिविरमा आवस्यक सेवा लिन र लिन जान आआफ्नो तर्फबाट सहयोग गरिदिन एनआरएनए जापानका अध्यक्ष टासि वाङदी लामाले जापानवासी नेपालीलाई अनुरोध समेत गर्नुभएको छ।