साझा नेटवर्क
लाल बहादुर ढेंगा, युएई आषाढ १९।
गत शुक्रबार १ जुलाईका दिन दुबईको नसिमा रोयल होटलमा नेपाली राजदूतावास अबुधावीले वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कामदार र दूतावासकोबीच सहज र शुलभ सेवाको सम्बन्धमा युएईस्थित संचालनमा रहेका विभिन्न संघ संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवि, महिला, पत्रकार र नेपालीलाई रोजगार दिने विदेशी स्पोन्सरको सहभागितामा भएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रमको थालनी राष्ट्रिय गीतबाट भएको थियो भने सहचार्य संगीता न्यौपानेको शुभकामना मन्तव्य र केली टन्डनको संचालनमा भएको थियो । युएईस्थित लगभग ४ लाख नेपाली कामदार र दूतावास बीच कसरी सहकार्य हुने, वैदेशिक रोजगारीको सम्बन्धमा जानकारी सहित तयार पारिएको आफ्नो रिपोर्ट कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनले प्रस्तुत गर्नु भएको थियो । उहांले युएईको कानुन र रोजगार सम्बन्धी जानकारी दिनु भएको थियो । विदेशको भूमिमा रोजगार गर्दा कानुनको दायरामा रहेर कुनै पनि कार्य गर्दा सचेत हुनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसैगरी काउन्शिलर भेषबहादुर कार्कीले रोजगार व्यावस्थापन वैदेशिक ऐन २०६४ ले गरेको व्यावस्था सम्बन्धी जानकारी दिनु भएको थियो भने द्धितीय सचिव कृष्ण अर्यालले ८ वटा जेलमा भिजिट गरी १ सय जना जेलमा रहेको र कुन अभियोगमा गएकोे भन्ने बिवरण समेत दिनु भएको थियो । साथै युएईमा प्रत्येक हप्तामा १ जना नेपालीको मृत्यु हुने, हालसम्ममा १६० मृर्तकाले पाउनु पर्ने रकम १२ करोड रुपैयां नेपाल पठाएको जानकारी दिनु भएको छ । अझै पनि १ जना ड्रग्स र १ जना हत्याको अभियोगमा आजीवन कारावास जेलमा जीवन बिताई रहेको जानकारी दिनु भयो ।

राहदानी र ट्राभल डकुमेण्टको बारेमा तृतीय सचिव बिष्णु अधिकारीले आफ्नो रिपोर्ट दिनु भएको थियो । श्रम सहचारी हिरा यादवको रिपोर्ट अनुसार विश्वको १०६ देशमा नेपाली कामदार पुगेको छ भने ४ देशमा जानको लागि रोक्का गरिएको छ । वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरुको संख्या ४६ लाख ९५ हजार ७ सय ९५ रहेको पुष्टी भएको छ । दैनिक १ हजार ३ सय युवावर्ग विदेश पलायन हुन्छ भने सबैभन्दा धेरै महिला कामदारको रुपमा युएईमा आएका छन् ।

कार्यक्रमको अन्त्यमा उपस्थित भएका पाहुनाहरुको जिज्ञासामा लागेको प्रश्नलाई का.वा. राजदूत टण्डन, द्धितीय सचिव अर्याल, काउन्शिलर कार्की, तृतीय सचिव बिष्णु अधिकारी र श्रम सहचार्य हिरा यादवले जवाफ दिदै, सहचार्य केशवप्रसाद पोखरेलले उपस्थित सबैलाई धन्यबाद दिनु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend