साझा नेटवर्क
एजेन्सी/बांग्लादेश, आषाढ १८ ।
बांग्लादेशका अधिकारीहरुले ढाकास्थित एउटा क्याफेमा सन्दिग्ध इस्लामवादी बन्दुकधारीले गरेको आक्रमणमा २० जना बन्धक मारिएको बताएका छन्। बन्दुकधारीले होली आर्टिशन बेकरी क्याफेमा शुक्रबार अबेर हमला गरेका थिए र त्यसको झण्डै १२ घण्टापछि सुरक्षाकर्मीले जवाफी कारबाही गरेका थिए। ६ जना आक्रमणकारी मारिएको तथा एक जनालाई गिरफ्तार गरिएको एक जना सरकारी प्रवक्ताले जनाएका छन्। उक्त हमलाको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ।

हमला
कैयौँ मानिसहरुलाई बन्धक बनाएका भनिएका बन्दुकधारीहरुविरुद्धको कारबाही सम्पन्न भएको र सुरक्षाकर्मीहरुले उक्त भवनलाई सुरक्षित तुल्याउने काम गरिरहेको बताइएको छ । चार विदेशी नागरिकसहित १३ जनाको जीवितै उद्धार गरिएको उनीहरुले बताएका छन्।
यसअघि स्थानीय सञ्चारमाध्यमहरुले बन्दुकधारीहरुले करिब २० जनालाई बन्धक बनाएको बताएका थिए। बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले टेलिभिजनमार्फत सम्बोधन गर्दै आक्रमणको भर्त्सना गरेकी छन्। उनले भनिन्, “यो एकदमै घृणित कार्य हो। कस्ता मुसलमान हुन् उनीहरु? उनीहरुको कुनै धर्म छैन। मानिसहरुले ती आतंकवादीहरुको विरोध गर्नुपर्छ। मेरो सरकार आतंकवाद र विद्रोहीहरुलाई जरैदेखि समाप्त पार्न दृढ छ।”

र्यापिड एक्सन बटालियनका प्रमुख तुहिन महम्मद मसुदले भने, “हामीले कम्तीमा ६ जना आतंकवादीलाई गोली हानेर मारिदिएका छौँ र मुख्य भवन सुरक्षित तुल्याइएको छ तर अझै पनि हाम्रो कारवाही जारी छ।” गुलशन जिल्लास्थित होली आर्टिशन बेकरी क्याफेमा भएको आक्रमणमा बन्धक बनाइएकामध्ये कैयौँ इटलीका भएको र केही जापानी हुनसक्ने बताइएको थियो। यसअघि उक्त क्षेत्रमा सुरक्षाकर्मीले चलाएको कारवाहीका क्रममा बन्दुक पड्किएको आवाज सुनिएका थिए।
हामीले कम्तीमा ६ जना आतंकवादीलाई गोली हानेर मारिदिएका छौँ र मुख्य भवन सुरक्षित तुल्याइएको छ तर अझै पनि हाम्रो कारवाही जारी छ । तुहिन महम्मद मसुद, प्रमुख, र्यापिड एक्सन बटालियन हालसम्म उद्धार गरिएका बन्धकको परिचय खुलेको छैन। शुक्रबार अबेर राति भएको गोली हानाहानमा कम्तीमा दुई प्रहरीको ज्यान गएको थियो भने ३० प्रहरी अधिकारी घाइते भएका थिए। प्रहरीले करिब ८ वा ९ जना बन्दुकधारीले शुक्रबार राति क्याफेमा आक्रमण गरेको जनाएको छ।
विदेशी
तथाकथित इस्लामिक स्टेट समूहले आफूले आक्रमण गराएको बताएको छ। उक्त समूहको समाचार एजेन्सी अमाकमा उपलब्ध एउटा वक्तव्यमा लडाकुहरुले ‘प्रायः विदेशीहरु गइरहने’ एउटा रेष्टुराँमा आक्रमण गरेको उल्लेख छ। मैले पिज्जा बनाउने भान्सामा काम गरिरहेको थिएँ र दुईजना व्यक्तिले आक्रमण गरिरहेको देखेँ। मानिसहरु लुक्न र भाग्न थाले। म घरको छतमा पुग्न सफल भएँ। उनीहरुले बम फालिरहेका थिए र झ्यालहरु हल्लिरहेका थिए ।
एकजना प्रत्यक्षदर्शी
इस्लामवादी लडाकुहरुले धर्मनिरपेक्ष ब्लगरहरु, समलिङ्गी अधिकारवादीहरु, प्राज्ञ एवम् केही धार्मिक अल्पसंख्यकहरुको हत्या गरेको आरोपमाझ क्याफेमा पछिल्लो आक्रमण भएको छ। एकजना प्रत्यक्षदर्शीले भने, “मैले पिज्जा बनाउने भान्सामा काम गरिरहेको थिएँ र दुईजना व्यक्तिले आक्रमण गरिरहेको देखेँ। मानिसहरु लुक्न र भाग्न थाले। म घरको छतमा पुग्न सफल भएँ। उनीहरुले बम फालिरहेका थिए र झ्यालहरु हल्लिरहेका थिए।”
नेपाली सुरक्षित
प्रहरीले स्थानीय समय अनुसार बेलुकी ९ बजेर २० मिनेट जाँदा क्याफेमाथि बन्दुकधारीहरुले फायरिङ्ग शुरु गरेको जनाएको छ। उक्त क्याफे विदेशी नागरिक, कूटनीतिज्ञ र मध्यम वर्गीय परिवारमाझ लोकप्रिय रहेको बताइन्छ।
यसैबीच, ढाकास्थित कार्यवाहक नेपाली राजदूत सुशीलकुमार लम्सालले बांग्लादेशमा रहेका नेपालीहरु सुरक्षित रहेको बताएका छन्। उनका अनुसार घटनास्थल नेपाली राजदूतावासदेखि करिब एक किलोमिटर टाढा छ। bbc
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend