logo
  • शनिबार, भाद्र २० २०८३

मलेसियामा कामदारविरुद्ध देशव्यापी रुपमा धरपकड सुरु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

मलेशिया, भदौ १९ ।
मलेसिया सरकारले अवैधानिक रुपमा काम गरिरहेको आप्रवासी कामदारविरुद्ध देशव्यापी रुपमा धरपकड सुरु गरेको छ । धेरै आप्रवासी कामदारको चाप भएको बुकित विन्ताङ, कोतराया, जालान पेतालिङ तथा जालान सिलाङ लगायतका क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर धरपकड गरिएको छ ।

अवैध आप्रवासी कामदारलाई स्वदेश फर्कन दिएको मौका ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’मार्फत आममाफी कार्यक्रममा सहभागी नभएका विदेशी कामदारमाथि धरपकड सुरु गरेको मलेसियाका अध्यागमन विभागका निर्देशक दातुक मुस्ताफिर अलीलाई उद्धृत गर्दै मलेसियन अनलाइन द स्टारले जनाएको छ।

गत फेब्रअरी १५ (फागुन ३) खि मलेसियाले अवैधानिक रुपमा रहेका विदेशी कामदारलाई स्वदेश फर्किनका लागि ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ सञ्चालन गरेको थियो । यो अवधि गतसाता सकिएको छ ।

अगस्ट ३१ मा आफूखुसी स्वदेश फर्किन दिएको समयावधि सकिएलगत्तै उक्त प्रक्रियामा सहभागी नभएका आप्रवासी कामदारप्रति अध्यागनले कडा अभियान सुरु गरेको हो। यसक्रममा गत शनिबारदेखि आइतबार साँझसम्म ९ जना आप्रवासी कामदार पक्राउ परेका छन् ।

मलेसियामा करिब ४० लाख विदेशी कामदार रहेको र त्यसमध्ये ४० प्रतिशत अवैधानिक रुपमा बसेर काम गरिरहेको अनुमान मलेसियाको अध्यागमनले गरेको छ।

मलेसियाको यो नीतिबाट अवैधानिक रुपमा बसिरहेका नेपाली कामदार पनि प्रभावित हुनेछन् । उक्त धरपकडमा के कति नेपाली परे भन्नबारे नेपाली दूतावासले खुलाएको छैन।

सन् २०१४ देखि आममाफीको उपयोग गरी ८ लाख ६७ हजार ३ सय ३६ जना विदेशी कामदार स्वदेश फर्किएको द स्टारमा उल्लेख छ । ती मध्येमा कति नेपाली फर्किए भन्ने तथ्यांक छैन ।

पछिल्लो समय दिएको आममाफीको उपयोग गरी १२ हजार ८ सय ४१ जना नेपाली स्वदेश फर्किएका मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ । मलेसियामा झन्डै ५ लाख नेपाली कार्यरत छन्। तीमध्ये कति नेपाली अवैधानिक रुपमा काम गरिरहेका छन् भन्ने पनि तथ्यांक छैन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend