साझा नेटवर्क
क्यालिफोर्निया, आषाढ १८।
नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले संस्थाको रकममा व्यापक हिनामिना गरेपछि कार्यसमिति भित्रै अहिले त्यसको कडा विरोध हुन थालेको छ । सभापति विष्टले विगतदेखि अहिलेसम्म मनलाग्दी ढंगले रकम खर्च गर्ने तथा त्यसको हिसाव किताव पारदर्शी ढंगले नराख्ने गरेको भन्दै महासचिव मुनेन्द्र नेम्वाङ्ग र कोषाध्यक्ष विजय थुलुंगले विज्ञप्ति मार्फत गम्भीर आपत्ति जनाउनु भएको छ ।
सभापति विष्टले विगतमा भूकम्प पीडितका लागि जम्मा गरेको करिब ५० लाख नेपाल लगेर खर्च गरेको बताएपनि त्यसको हिसाव किताव सार्वजनिक नभएको, अरु नै दाताले दिएको राहत कार्यक्रममा पुगेर फोटो खिचाएर सामाजिक सञ्जालमा राखेको तथा संस्थाको रकम आफूखुसी ढंगले व्यक्तिको नाममा निकाल्न लगाएर व्यापक आर्थिक हिनामिना गरेको आरोप महासचिव र कोषाध्यक्षले लगाउनु भएको छ ।
नेम्वाङ्ग र थुलुंगको नाम र संयुक्त हस्ताक्षर सहित जारी गर्नुभएको विज्ञप्तिमा कार्यसमिति भित्र व्यापक छलफल र बहस गर्नुको साटो आफूखुसी ढंगले रकम निकाल्ने, त्यसको खर्च स्पष्ट नदेखाउने जस्ता आर्थिक दुरुपयोग जन्य गतिविधि गरिएको उल्लेख छ । त्यसो त संस्थाको नाममा बैंकमा रहेको रकम निकाल्न तीन जना अर्थात् सभापति, महासचिव र कोषाध्यक्ष मध्ये २ जनाको हस्ताक्षर अनिवार्य रुपमा हुनुपर्ने भएपनि यसलाई वेवास्ता गर्दै सभापति विष्ट मनलाग्दी ढंगले आर्थिक हिनामिना गर्न लागि परेको विज्ञप्तिमा उल्लेख छ ।
आफू सुध्रनुको साटो सभापतिले महासचिव र कोषाध्यक्ष माथि विभीन्न खाले आरोप लगाएको भन्दै विज्ञप्तिमा यस्ता आरोपहरु झुठो तथा कपोलकल्पित भएको उल्लेख छ । उहाँहरुले विज्ञप्तिमा यस्ता भ्रामक समाचारका पछि नलाग्न सबैलाई आग्रह गरिएको छ । यतिमात्रै होइन आफ्नै परिचय पत्र देखाएर सभापतिले बैंकबाट ५ हजार अमेरिकी डलर बराबरको रकम निकालेको तर पछि आएर त्यसमा अनभिज्ञता देखाउनु अत्यन्तै दुःखद र खेदजनक भएको उल्लेख छ ।
उहाँहरुले आफूहरु माथि सभापतिले लगाउँदै आएको आरोपलाई पुष्टि गरेर देखाईदिन चुनौती समेत दिभुएको छ । यो राजनैतिक तथा व्यक्तिगत इगोका कारण लगाइएको आरोप मात्रै भएकोले यसलाई आफूहरुको चरित्र हत्या गर्न प्रयोग गरिको अस्त्रको रुपमा बुझ्न उहाँहरुले सबैमा निवेदन गर्नुभएको छ । सभापतिको कायैशैलीका कारण सिंगो जनसम्पर्क समिति नै धरापमा परेको भन्दै यसप्रति बेलैमा सचेत र सजग बन्न समितिले सबैलाई आग्रह पनि गरेको छ ।
सभापतिले गरेको आर्थिक हिनामिनाका कारण संस्थाको वार्षिक कर समेत दाखिल गर्न नसकिएको र यसले गम्भीर परिणाम उब्जन सक्नेतर्फ सबैलाई सचेत गराइएको छ । सभापतिले विवादित आर्थिक कृयाकलाप गर्न थालेपछि पार्टीका महामन्त्री कृष्ण सिटौलाको निर्देशन अनुसार अहिले संस्थामा रहेको बाँकी रकम आफूहरुकै मातहतमा संस्थामै सुरक्षित रहेको र सो रकम संस्थाका पदाधिकारी तथा पार्टी प्रतिनिधिको रोहबरमा पार्टीले भूकम्प पीडितको सहयोगका लागि खोलेको खातामा बुझाउन लागिएको महासचिव नेम्वाङ्ग र कोषाध्यक्ष थुलुङ्गद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend