साझा नेटवर्क
न्युयोर्क एजेन्सी, आषाढ १३।
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनल खेलमा पेनाल्टी मिस गरेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सो घोषणासँगै विश्व फुटबल तरंगित भएको छ ।

सोमबार भएको फाइनल खेलमा चिलीले अर्जेट्रिनालाई टाई ब्रेकरमा ४–२ ले हराएपछि मेसी विचलित भएका थिए । अघिल्लो वर्ष पनि चिलीसँग पराजित हुर्दै अर्जेन्टिना उपविजेतामा सीमित भएको थियो ।सन्न्यास घोषणा गर्दै २९ वर्षीय मेसीले भने, ‘मेरा लागि राष्ट्रिय खेल जीवन समाप्त भएको छ । मैले आफूले गर्न सक्ने सबै गरें, तर च्याम्पियन नहुँदा पीडा भएको छ ।’
मेसीले स्पेनिस क्लब बार्सिलोनाका लागि आठ ला लिगा उपाधि र चार च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् । तर, राष्ट्रिय टिमका रहेर उनले एक अन्तर्राष्ट्रिय उपाधि मात्र चुमेका छन् । जुन २००८ को ओलम्पिकमा उनको टिमले स्वर्ण पदक जितेको थियो । लगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनलमा पराजित भएको मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना ब्राजिलमा भएको २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो ।
मेसीले पाँचपटक उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् । ‘मैले चारवटा फाइनलमा प्रयास गरें, तर सम्भव भएन,’ मेसीले भने । मेसीले अर्जेन्टिनाका लागि २००५ मा डेब्यु गरेका थिए । उनले अर्जेन्टिनाका लागि १ सय १३ म्याच खेलेका छन् । ‘मैले सर्वाधिक चाहेका चिज देशलाई उपाधि दिलाउनु थियो, तर त्यो हुन सकेन । त्यसैले मैले सोचें, अब सन्न्यास लिन्छु,’ उनले भने, ‘यो नै सबैका लागि सही समय हो । धेरै मानिस छन्, जसले यो घोषणा चाहेका छन् ।
उनले निर्णय लिन कठिन भएको तर आवश्यक रहेको बताएका छन् । मेसीले यस वर्षको कोपा अमेरिकामा ५ गोल गरे । उनले सेमिफाइनलमा अमेरिकाविरुद्ध सानदार फ्री–किक प्रहार गरेका थिए । सो गोल गरेपछि उनी देशका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले अर्जेन्टिनाका लागि ५५ गोल गरे । यसअघि बाटिस्टुटाले अर्जेन्टिनाका लागि ५४ गोल गरेका थिए ।
अर्जेटिनाका गोलरक्षक सर्जियो रोमेरोले मेसीले पुनर्विचार गर्ने बताए । ‘पीडाको समयमा उनले सो कुरो बोलेका हुन् । किनकि, हाम्रो हातबाट सुन्दर अवसर गुमेको थियो । तर, म मेसीविनाको राष्ट्रिय टिमको कल्पना गर्न सक्दिनँ ।’ उनले अर्जेट्रिनाको ड्रेसिङ रूममा आफूले यस्तो अवस्थामा यसअघि कहिल्यै नदेखेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend