साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी आषाढ १३ ।
गुल्मी जिल्ला भनभने गाविसकी एक १८ बर्षिय किशोरीको सुत्केरी हुने समय करिव नजिक छ । विक परिवारकी चेली गर्भवती भएको नौ महिना पुग्यो, आराम र मिठा मसिनोको उनलाई आशा समेत छैन् । महिना महिनामा नियमित चेकजाँच गर्नुपर्ने त्यो त कता हो कता । उनलाई गर्भवती बनाउने गाउँले घर्ति थरका आरोपित प्रेमी माघ देखी भारत तिर बेखबर छन् । प्रेमी गाउँमै हुने बेला बच्चा रहेको जानकारी पाएकी ति किशोरीले गर्भपतन गरौ पनि भनिन् । तर जवानीले उन्मात ती किशोरले विभिन्न सपना देखाएर त्यो निर्णय अस्विकार गरे ।
माघमा एक्कासी भारत जान हिडेका प्रेमीले अर्घाखाँचीको सुपा देउरालीबाट आफु गएको जानकारी दिएपछि किशोरीको ज्यानका घाम लागेन । करिव चैत महिना सम्म उनीहरु बिच नियमित सम्पर्क भयो । त्यति बेला सम्म गाउँमा गाँइगुइँ पनि थिएन, बच्चा भएको झ्याप्पै बाहिर देखिदैन्थ्यो पनि । दुवै परिवारका अरु सदस्यले समेत यो कुराको सुइँको पाएनन् । बैशाख ७ गते सम्म बच्चा फाले मुद्धा हाल्छु, तिम्लाई छिट्टै लिन आउँछु भन्ने प्रेमी अहिले सम्म सम्पर्कमा आएनन् । गाउँमा खासखुस शुरु भयो, केटी विक परिवार केटा क्षेत्री परिवार लौ बर्बाद भयो ।
गाउँमा अनेक हर्कत शुरु भए, सके सम्म गुमनाम नै पानुपर्छ । यहाँ सम्मकी कुनै केटालाई मेरो गर्भ भन्न लगाउने र पैसा दिएर केटीलाई सुम्पने । त्यस्तो मोलमलाई गाउँमा नमिलेपछि पीडित परिवार जिल्ला प्रहरी कार्यालयमा आए । करिव एक साता अगाडी आरोपित परिवार र पीडित परिवारको राजीखुसीमा केटा मगाउने सहमती भयो । पीडित पक्षका अनुसार छोरो लिन गएका आरोपित किशोरका बाबु छोरा लिएर शनिबार जिल्ला भित्रिए । एक सात देखि बाबुछोराको निगरानीमा रहेका सदरमुकामका राम्रै मान्छे पनि ती बाबुछोरा सदरमुकामकै एक होटलमा बास बसेको बताउँछन् ।
असार १२ गते जिल्ला प्रहरी कार्यालयमा छोरा सहित उपस्थित हुने आदेश पाएका आरोपित परिवार सोमबार खाली हात प्रहरीमा उपस्थित भए । छोरा छैन मैले के गर्ने ? आरोपितका बुबाको भनाई र अभिभावकको नाताले आभियोग लागी सकेपछि छोरा झिकाउँनुस न भन्ने हामी । दिनभरको हाम्रो कराई र टाउको दुखाई फगत जस्तै भयो । प्रेमी फरार छन्, आरोपित परिवार बुहारी कसरी भनोस् । क्रमश पेटको बच्चा बढ्दैछ, उनलाई परेको शारीरिक सकश अझ पीडादायी छ । भनिन्छ सफल रुपमा सुत्केरी हुनु महिलाहरुले पुर्नजन्म पाउनु हो ।
उनलाई त्यसको कुनै हेक्का छैन त्यो प्रसव बेथाले समात्ने दिन । जिल्ला प्रहरी कार्यालयको मेलमिलामा प्रतिक्षालयमा उनी धाउन थालेको दुई चार दिन भयो । भद्र भलादमीको अगाडी उनले निरिहताको आशु बगाइरहेकी छन् । छलफल कै बेलामा पनि उनी प्रति थुप्रै यस्ता शब्द पोखिन्छन्, सायद उनले आफ्नै गल्ती नै भनि स्विकार गरिरहेकी छन् । पेटको बच्चाले धर्ति र शाहारा खोजिरहेको छ । उनी बेशाहारा जस्तै बनेकी छन् । पीडित किशोरीका निमुखा बुबा नौ महिनाकी गर्भवती छोरी लिएर न्याय खोज्दै हिड्न थालेको बैशाख देखि हो ।
तीन अपांग छोरा घरमा छन् । अरु छोरीको बिहे भयो, घरको शाहारा बनेकी कान्छी छोरी हो । तर उसको पनि यो अवस्थाले ती बाबु बेलाबेलामा भक्कानिन्छन् । बिहान काम गरेमात्र बेलुकाको छाक टर्छ उनको, तर महंगो भाडा तिरेर तम्घास आउजाउँ निकै मुस्किल छ । के उनले आरोप लगाएको केटा भोली आउला र उनलाई स्विकार गर्ला ? त्यो समयले देखाउने छ । तर उनको गर्भमा रहेको बच्चा बाहिर नआई मान्दैमादैन् । उनलाई मिठो मसिनो चाहिएको छ ।
आराम र नियमित चेकजाँच आवश्यक पर्ने हो । उनी यदि यो टुंगो नलाग्दै सुत्केरी भइन भने जिम्मा कसले लिने वा जटिल अवस्थामा सुत्केरी भए के भन्ने प्रश्न उब्जिएका छन् । सुत्केरी कहाँ र कसरी गराउने त्यति मात्र होइन भोली जन्मने बच्चाको पनि अधिकारको कुरा त होला नी । यो जनजनको प्रश्न बनी रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend