साझा नेटवर्क
बाबुराम सिग्देल, युएई आषाढ ०९।
नवलपरासीको पहाडी भेग बुलिङटार मा जन्मिएर त्रिभुवन उच्च माध्यामिक विद्यालयमा उच्च शिक्षा हासिल गरेकी सरस्वती भण्डारीले नर्सको बारेमा राम्रो अनुभव गरेकी छन् । उनको बिशेष इन्टेरोस्टोमल थेरापी नर्सिङ कोर्स हो । नर्स भण्डारीले क्यानाडाको कैट एकेडेमी महिडोल विश्वविद्यालय बाट एक बर्षको नर्सिङ कोर्समा मास्टर्स हासिल गरिसकेकी छन् । इन्टेरोस्टोमल थेरापी नर्स भनेको जुनसुकै लामो समयसम्म सन्चो नभएको घाउ दिशा पिसाव चुहिने समस्या र स्टोमा भएका बिरामीहरुको उपचार सम्बन्धि बिशेषज्ञ संबन्धित नर्स हो । उनले यसै नर्स सम्बन्धी भएका गतिविधिको बारेका खुलस्त तरिकाले वर्णन गरेकी छन् ।
उनको भनाई जस्ताको तस्तै
हामी नर्सहरु सुुन्दर भविष्यको परिकल्पना गर्दै लाखौं खर्च गरेर पढ्छौं । तर जब जागिर पाउने बेला हुन्छ । त्यतिबेला मात्र हामीले वास्तविकता थाहा पाउँछौ । त्यतिबेलामात्र हामीले जागिर नपाउँदा नर्सहरु महिनौं भोलेन्टियर बन्न बाध्य हुन्छन् । त्यतिबेला कतिपयमा नर्सिङ प्रति नै निराशाको अवस्था सिर्जना हुन्छ । यस्ता कयौं विसंगतिहरु छन् । बिरामीको स्तरीय सेवाका लागि आवश्यक पर्याप्त श्रोत साधन उपलब्ध छैनन् । नर्स र बिरामीको तथा शिक्षक र बिद्यार्थीको अनुपात सन्तुलित छैन । सबैभन्दा दुःख लाग्दो कुरा त नर्सको भएको महाशाखा पनि बन्द गरेर अलपत्र पारिएको अवस्था छ । यी त नर्सिङ्ग पेशामा भएका समस्याहरुका प्रतिनिधि उदाहरण मात्र हुन् ।
यस्ता समस्याहरुले बिरामीको सेवामा प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव पारिरहेको छ । तर नसको आवाज सुन्ने कोही छैनन् राज्यमा । आजको स्वास्थ्य सेवा प्रणाली समयसापेक्ष छैन । यसमा परिवर्तन अति आवश्यक छ । अब कुरा रह्या कसरी सम्भव छ त परिवर्तन भन्ने कुरा । भनिन्छ राजनीतिले हाम्रो दैनिक जीवनमा कसले, के र कति अनि कहिले प्राप्त गर्छ भन्ने कुराको निश्चित गर्दछ । हो यही राजनीतिमा नर्सहरुको सक्रिय सहभागिताबाट नीतिमा परिवर्तन गरि समस्या समाधान गर्न सकिन्छ । नर्सिङ जस्तो बिशुद्ध सेवामुलक पेशामा राजनीति घुस्नु हुन्छ र भन्ने प्रश्न पनि उठ्न सक्छ । यसको उत्तर हो – अवस्य हुन्छ । राजनीति भनेको हामीले देखेको र भोग्दै आएको जस्तो फोहोरी खेल होइन । बरु यो त सीमित श्रोत साधनहरुको आधिकारिक वितरणलाई प्रभावित गर्ने प्रक्रिया हो ।
देशका नीति नियम आफ्नो पेशालाई सहयोगीसिद्ध बनाउने अथवा आफ्नो माग अनुसारको बनाउनका लागि गरिने प्रयत्न हो । त्यसैले अब सबै नर्सहरु राजनीतिक रुपले सक्रिय भएर अगाडि बढेमा र राज्यको नीतिमा परिबर्तन ल्याउन सकेमा मात्र हाम्रो समस्या समाधान हुन्छ । नर्सको राजनीतिक सहभागिताबाट जन्मने नेतृत्वबाट नयाँ नीति निर्माणमा सहयोग पुग्नुका साथै हाल भैराखेका नीति परिबर्तनका लागि प्रभावित गर्न सकिन्छ । यो नर्सिङ्गमा बिल्कुलै नया अवधारणा हो जसको अर्थ सही रुपमा बुझनु पर्दछ । भनिन्छ कि संसारमा अति नै न्युन मात्र नीति निर्माण भएका छन् जसको पक्षमा दबाब चाहिँदैन । अफसोच हाम्रो एजेन्डा त्यसभित्र परेन र पर्दैन पनि ।
निती परिवर्तनमा नर्सको भूमिका
सबैभन्दा पहिले त हामीमा इच्छाशक्ति, राजनीतिक तथा नीति निर्माण प्रक्रियाको ज्ञान, आफ्नो टिममा समन्वय गर्ने क्षमता, उपयुक्त सन्चार क्षमता, आपसी सम्बन्ध राख्न सक्ने, आत्मविश्वास र आफ्नो पेशागत समस्याको जानकारीका साथै उक्त समस्या समाधान गर्न कतिको जरुरी छ भनेर विश्लेषण गर्न सक्ने क्षमता हुनुपर्छ । यस प्रकियामा आफ्नो अनुभवका साथै अन्य शक्ति प्रयोग गर्न सकिन्छ । एजेन्डा संसदसम्म कसरी पुर्याउने, संसदको कुन समितिलाई भेट्ने र कुन रणनीति अपनाएर कुरा गर्दा नीति निर्माणमा निर्णायक भूमिका खेल्छ भनेर बुझ्नु पर्दछ । सबै नर्सहरुले सामान्य जनताको हिसाबले तथा पेशागत संघ संस्था द्वारा ९ नर्सिङ्ग संघ नीति निर्माणलाई प्रभावित गर्न सक्छन् ।
मुख्य कुरा भनेको आफ्नो पेशागत संस्थामा आबद्ध हुने, स्थानीय, जिल्ला या केन्द्रका राजनीतिज्ञको सम्पर्कमा बस्ने, कार्यक्रममा सहभागी हुने, नीति निर्माण तहका कार्यालयमा सम्बन्धित समस्याका बारेमा जानकारी गराउने र फलोअप गरिराख्नुपर्छ । यो निकै समय लाग्ने र झन्झटिलो प्रक्रिया हो । तर निरन्तर लागिरह्यो भने एक दिन अवस्य हाम्रो पक्षमा नीति निर्माण हुन्छ । नर्सिङ पेशागत संस्थाले ९नर्सिङ संघ० धेरैभन्दा धेरै नर्सहरुलाई संस्थामा आबद्ध गर्न प्रोत्साहित गर्नुपर्छ । संसदीय दिवस मनाउने, पोलिसी वर्कशपको व्यवस्था गर्नुपर्छ । यसो गर्नाले नर्सहरुलाई नीति कसरी बन्छ, यसमा नर्सको भूमिका के हुन्छ र पूराना नीति वकालत गर्नेसंग भेटघाट गर्ने मौका मिल्छ र नयाँ नर्स एडभोकेटलाई सिकाउन र कसरी अगाडि बढ्नु पर्छ भन्ने कुराको जानकारी हुन्छ ।
अन्ततः नर्सहरुमा आत्मविश्वास वृद्धि हुन्छ र स्वास्थ्य सम्बन्धी निती निर्माणमा सक्रिय भूमिका खेल्न प्रेरित गर्दछ । यसो भन्दै गर्दा नर्सहरुको बिरामीप्रति कुनै उत्तरदायित्व छैन भन्न खोजिएको कदापी होइन । बरु हामी नर्सहरु आफ्नो पेशामा दक्ष, ड्युटीप्रति लोयल भै श्रोत साधनले भ्याएसम्म स्तरीय नर्सिङ सेवा प्रदान गर्न कहिँ कतै चुक्नुहुँदैन । नर्सले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने र सरकारले पनि नर्सका जायज माग सम्बोधन गर्नुपर्छ । अनि मात्र जनताले चाहेको स्तरीय नर्सिङ्ग सेवा प्रदान गर्नुका साथै नर्सहरुको हकहित सुनिश्चित हुन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend