logo
  • शनिबार, भाद्र २० २०८३

सनातन हिन्दु धर्ममा नारीको सम्मान र महत्व


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-के.वि. थापा ।
केहि समय पहिले कहिं पढेको थिए, चरी जस्तै हुन्छन नारी तर पखेटा हुँदैन, माइती र घर दुबै हुदाहुदै पनि उन्को आफ्नो घर हुँदैन, माइती भन्छन छोरि त पराइ धन हो, त घर का भन्छन यि त पराइ घरबाट आएकी हुन । “हे ईश्वर अब तिमि नै भनिदेउ यी नारी कुन घरको लागी बनेकी हुन ?” पढ्दा अत्यन्तै सरल जस्तो लागेपनी अत्यन्तै गहिरो भाव पोखेको छ्न यि लाइनहरुले जस्ले मलाइ अत्यन्तै झकझोर पारिदियो । धेरै दिमाग केलाउन थालें । यत्तिकैमा अर्को लाइन स्मरणमा आयो “यहाँ कोहि पनि तपाइँको सपना पुरा गर्न होइन आफ्नो भाग्य एवं व्यक्तित्व बनाउन र स्वार्थ सिद्दी गर्नकै लागी परेका हुन्छन । हो जस्तै पनि लाग्यो । नारी उत्थानका लागी आवाज बुलन्द पार्दै हिंड्नेहरु नै नारी शोषणमा पर्दा पछिको पात्र भएका कैयौं उदाहरणहरु दिनानुदिन सुन्न, देख्न र पढ्न पनि पाइने गर्दछ ।

एकातिर आज देशको प्रथम नागरिक (राष्ट्रपति) देखी प्रधान न्यायाधीश एवं सभामुख महिला छन त अर्को तर्फ दुर्गम क्षेत्रमा छाउपडी प्रथाले कैयौंको ज्यान गैरहेको अवस्था देख्दा सार्है उदेक लागेर आउने गर्दछ । हुन त यो अन्तर्राष्ट्रिय नारी दिवस करिब करिब एकसय दस वर्ष पुर्व राजनितिक उदेश्यले अमेरिकी सोसलिस्ट पार्टीद्वारा सुरु गरिएको भनिएतापनि हामी त्यो देशका नागरिक हौं एवं भनौं त्यो सभ्यताका अनुयायी हौं जहाँ सुरुवात नै नारीबाट हुन्छ ।

हो हामी त्यो सभ्यता र संस्कारका धनी हौं जहाँ जिवनको सर्जक, राष्ट्रको मार्गदर्शक, समाजको बिकास गर्न सक्ने, परिवारलाइ एक धागोमा उनेर सम्हाल्दै राख्न सक्ने एक अनौठो प्रतिभाको संगम नै नारिलाइ मानिन्छ । हामि त त्यो देशका नागरिक हौं जहा आफ्नो देशलाइ समेत नेपाल आमा भनेर सम्बोधन गरिन्छ । हाम्रो बैदिक संस्कृतिमा नारीलाइ उत्पत्ति एवं पुरुषको अर्धांगिनी एवं सहधर्मिणी भनिन्छ जस्को अर्थ हुन्छ उन्को बिना पुरुष अधुरो र अर्थ बिहिन हुन्छ, तथा सहधर्मिणी अर्थात जो धर्मको मार्गमा साथमा चल्दछिन ।

यसै सन्दर्भमा यहां केहि तथ्य तर्फ यहाँको ध्यान मोड्न आवश्यक ठान्दछु – बैदिक सनातन परम्परा अनुसार पुरुषले नारी बिना कुनै धार्मिक अनुस्ठान एवं यज्ञ गर्न सक्दैनन, रामायणमा पनि उल्लेख पाइन्छ कि जव मर्यादा पुरुसोत्तम भगवाम श्रीरामले पनि अश्वमेध यज्ञ गर्न लागे तव सिताको अनुपस्थितीमा सिता माताको स्वर्ण मुर्ती स्थापित गरि यज्ञ सम्पन्न गर्नु परेको थियो । सनातन संस्कृतिमा पुरुष – नारिको सम्बन्ध भनेको पस्चिमाहरुको जस्तै दैहिक एवं सारिरिल मिलन नभइ आध्यात्मिक एवं आत्मिय मिलन हुन्छ ।

तसर्थ यहाँ “तलाक” र “डिभोर्स” को स्थिती को कहिं कतै कल्पना समेत भएको पाइदैन, बरु बिबाह त सातौ जन्मको बन्धन मानिन्छ । धर्ती मा जन्मने बित्तिकै कन्यापुजन गरिन्छ त नवदुर्गा पुजामा पनि दुर्गाको स्वरुपमा पुजा गरिन्छ तर कहिं कतै राम वा कृष्णको स्वरुपमा कुनै पुरुषलाइ पुजा गरेको पाइदैन । यसैबाट पनि छर्लङ्ग हुन्छ कि सनातन धर्ममा नारिको महत्व कति महान एवं स्थान उच्च छ भनेर । जव कन्या विबाह पस्चात बेहुली बनेर नयाँ घरमा प्रवेश गर्दछिन त उन्लाइ लक्ष्मीको उपमा दिइन्छ ।

जव युद्धमा हिन्दु राजा हरुलाइ सणयन्त्र पुर्वक बन्दी बनाइ वा मारेर महिलालाइ दुराचार गर्न खोज्दा उनिहरुले आफ्नो स्वाभिमान रक्षार्थ आफैलाइ आगोमा समर्पित गर्दै आफ्नो संस्कार र संस्कृतिको रक्षा गर्ने साहस गर्ने गर्दथे । तर केहि बिरोधीहरुले कालान्तरमा यसैलाइ सति प्रथाको नाम दिदै सनातन सभ्यतालाई बदनाम गर्न खोजेका थिए । जुन सनातन संस्कृतिको हिस्सा नै थिएन, थियो त केवल हिन्दु धर्मका बिरोधीहरुद्वारा हिन्दु धर्म माथी आक्रमण गर्ने सुनियोजित हतियार मात्र थियो ।

जुन आफ्नो सभ्यताको ज्ञानको कमिले या केहि प्रलोभनको कारण ब्यापकता साथ सनातन सभ्यताको हिस्साको रुपमा बिकसित गर्दै हिन्दु धर्मलाई बदनाम गर्ने प्रयास गरियो । सनातन धर्म ग्रन्थमा कैयौं नारिले यज्ञ गरेको उल्लेख पाइन्छ । जस्तै रामायणमा कौशल्याले आफ्नो छोरा रामको लागी त ताराले आफ्नो पति बालीको लागी तर बिना स्त्री कुनै पुरुषले यज्ञ गरेको पाइदैन ।

सनातन पद्धति लाइ बदनाम गर्ने उदेश्यले हिन्दु धर्ममा नारी शोषणको आरोप लगाउने पस्चिमी सभ्यतामा अझै सम्म प्रधानमन्त्री एवं रास्ट्रपती जस्ता उच्च पदमा केहि औलामा गन्न सकिनेले मात्र स्थान पाएको पाइन्छ त उनिहरुको धर्म कै मुख्य पोप अझै सम्म कुनै महिला भएको पाइदैंन । पस्चिमी सभ्यतामा केवल एकदिन (8 मार्च) नारी दिवस मनाइन्छ त हाम्रो सभ्यता र संस्कारमा नारीलाइ आदि शक्ती एवं आदि काल देखी नै पुजनिय, इश्वरिय गुणले सम्पन्न मात्र मानिदैन मां दुर्गा, लक्ष्मी एवं देवि कै रुपमा मानिन्छ ।

जव पश्चिम् नारी समानताको कुरा उठाउन सुरु गरेको थियो, त्यो समय हाम्रो समाज र संस्कृतिमा नारीलाइ पुरुष भन्दा उच्च दर्जा प्राप्त थियो जहाँ आमा, श्रीमती एवं दिदि-बहिनी मात्र थियो । तव सनातन सभ्यता एवं हाम्रो संस्कारमा नारीलाइ देविको रुपमा पुजिन्थ्यो । मानव सभ्यताका तिनै आधार स्तम्भ-बुद्दी, शक्ती एवं धन ति सबै देवि कै अधिन थिए । बुद्धि कि देवि- सरस्वती, धनकी देवि- लक्ष्मी त शक्ती कि देविको रुपमा नवदुर्गा भवानी एवं बेदो कि देविको रुपमा गायत्री पुजिन्थ्यो ।

यति मात्र होइन धर्तीको रुपमा सम्पुर्ण जगतको पालन गर्ने धर्तीलाइ पनि माताको स्थान दिइएको छ । जलको रुपमा प्राणी जगतको तर्पण गर्ने तिनै स्वरुप (गंगा,जमुना,सरस्वती) पनि नारी रुपमै पुजनिए छन । आधुनिकताको ढोंग गर्दै सनातन संस्कृतिमा नारी घर मै सिमित हुन्छन भन्ने आरोप लगाउने पस्चिमाहरुलाइ १६औं सताब्दीमा बसेको मणिपुरको बजार (जो पुर्णतया महिलाहरुद्वारा नै संचालित थियो)ले गतिलो झापड दिन्छ । यस्ता अनेकौं उदाहरण हरु भेटिन्छन ।

यसरी आदि अनादी देखी नै नारिको महत्व बुझ्ने र भाषणमा एकदिन होइन दैनिक जिवनमा नारी प्रती सम्मन गर्ने हाम्रो संस्कार,संस्कृती एवं सभ्यता रहेको छ । तसर्थ एकदिन मंचमा नारी स्वतन्त्रताको भासण दिदैमा सहि अर्थमा नारी उत्थान हुने हुँदै होइन कानुन त नारीलाइ अधिकार सम्पन्न छदैछ । तर ति कानुनलाइ ब्यबहारिक रुपमा उतार्नको लागी सबै जनाले कम्मर नकसेसम्म एकदिन नारी दिवस मनाउनुको कुनै तुक छैन । र अर्को तर्फ आफ्नो क्षमताको अभिबृदी गर्न सक्षम नारिहरुलाइ समाज र रास्ट्रले सम्मान गर्न कदापी हिच्किचाएको देखिदैंन ।

जस्को ज्वलन्त उदाहरण राष्टपति विद्यादेवि भन्डारी, अन्सरी घर्ती, अनुराधा, पासांग ल्ह्यामु, भृकुटी जस्ता कैयौं उदाहरण हाम्रो समाज मै छन । अनि अर्को तर्फ नारीहरु पुरुष कै कारण अघि बढ्नबाट बन्चित छन भन्नु सर्बथा गलत हो । जस्ले आफ्नो दृढ़ निश्चयका साथ अघि बढ्ने गर्दछ त्यसलाइ कसैले अघि बढ्नबाट रोक्न सक्दैन फेरि अर्को कुरा हामी प्राय देखिरहेका हुन्छौं नारीको पक्षमा राज्यद्वारा बनाइएको कानुनको दुरुपयोग गरेको पनि पाइन्छ । अनि मन्चमा भाषण गर्दा जस्ले नारी उत्थान र खोक्रा आदर्श छाट्ने गर्दछन तिनै महापुरुस हरुको घरमा अत्याधिक नारी अधिकार को हनन भएको प्रमाण सबै सामु छर्लङ्ग छन ।

यहाँ नाम नै किटान गर्नु आवश्यक पक्कै छैन जस्तो लाग्दछ र पुरुष त केवल आरोप खेप्ने मात्र हो वास्तवमा नारी अधिकारको हनन एवं उल्लंघन गर्ने र नारी सोसण गर्ने पनि नारी नै हुन्छन । नारीहरु नै आफ्नि छोरी र बुहारिमा भेदवाब गर्दै कहिल्यै समान नजरले हेर्दैनन । व्यबहार फरक गर्दछन तर देखिन्छ मन्चमा तिनै नारीहरु खुबै समानताको अर्ति दिन्छन । सुरुवात जहिले पनि आफैबाट हुनुपर्दछ जवसम्म एक नारिले अर्को नारिको सम्मान गर्दैनन, पधेरिं, नारी समुह, मेलापातमा अर्कि नारिको व्यबहार, चरित्र, आर्थिक अव्स्था बारे कुरा काट्न छाड्दैनन तवसम्म एकदिन नारी दिवस मनाउनुको कुनै औचित्य रहदैन ।

अर्कोतिर आफैलाइ एक्काइसौं सताब्दीको आधुनिक नारी भन्दै आफ्नो मुल संस्कार, संस्कृति र सभ्यता एव पहिरन बिर्सदैं दिनानुदिन परिवर्तन कै नाममा विकृती एवं विसंगतीलाई आधुनिक फेसनको नाउ दिदैं अनुकरण गरिन्छ, तवसम्म नारी हितको कुरा भासण मै मात्र सिमित रहनेछ । नारी हितको कुरा गर्नेहरु बिभिन्न अवार्डद्वारा सम्मानित हुन पुग्छन तर यथार्थ जहाँको त्यहिँ रहन्छ भन्नु कुनै गलत नहोला । हो हाम्रा समाजका केहि कुरिती कुसंस्कारहरु छन तिनलाइ समय सापेक्ष रुपमा सुदृढीकरण गर्दै आफ्नो मुल संस्कृती र परम्परालाई जगेर्ना गर्दा नै असलमा नारीको महत्व र सम्मान अझै बढ्दै जान्छ ।

अझै नेपाल जस्तो देश जहाँको अर्थतन्त्र नै वैदेशिक रेमिटान्सबाट चलेको छ । त्यहाँ त सरकार निर्माण देखी लिएर परिवारको सम्पुर्ण भविष्य नै नारिको हातमै हुन्छ । हो यदि पुरुष सिक्षित र संस्कारी भएमा एकजना मात्र सिक्षित र संस्कारी हुन्छ तर यदि एकजना महिला सिक्षित र संस्कारी भएमा परिवार नै सिक्षित एवं संस्कारी हुने गर्दछ ।

जवसम्म एक नारिले आफ्नी आमा र सासुलाइ गर्ने ब्यबहार अनि हेर्ने नजर अनि एक नारीले आफ्नी छोरी र बुहारीलाइ हेर्ने नजर र गर्ने व्यबहार एकसमान हुँदैन तवसम्म एकदिन नारी दिवस भनेर कुर्लनु भनेको तिनै स्वार्थी अवधारणा बोकेका बर्ष भरी आफ्नो घरमा नारी सोसण गर्ने नारि संरक्षण बोर्डकै आडमा चेलिबेटी बेचबिखन देखी लिएर नारी माथी हुने बिभिन्न अन्याय अत्यचारमा संलग्न केहि स्वार्थी तत्वलाइ बिभिन्न अवार्ड दिलाउन र उनिहरुको स्वार्थ सिद्ध पृष्ठभुमि तयार गर्नु बाहेक अरु केहि हुनै सक्दैन ।

जवसम्म हाम्रो मुलभुत संस्कार एवं संस्कृतिको मर्म हरेक नारिले बुझेर सम्मान गर्न सक्दैनन तवसम्म भासण छट्दैमा केहि हुनेवाला छैन । यसर्थ सांचो अर्थमा नारिको सम्मान र इज्जत गर्न दुनियालाइ सिकाउने भनेकै सनातन सभ्यता, संस्कार र संस्कृतिले नै हो जवसम्म सनातन पद्दतिको जगेर्ना गर्दै हरेक नारिलाइ सनातन हिन्दु धर्मले नारीलाइ दिएको उच्च स्थानको बारे र नारिको आफ्नो कर्तव्य एवं दायित्वको बारेमा ज्ञान सम्पन्न बनाउन सकिन्न तवसम्म नारी दिवस मनाउनुको कुनै अर्थ छैन ।

नारी उत्थानमा सबै भन्दा महत्वपूर्ण कुरा सिक्षा र संस्कार नै हो हामी हाम्रा आमा,दिदि-बहिनी एवं छोरीलाई जव सिक्षा र संस्कारले सम्पन्न बनाउने छौँ तव साँचो अर्थमा हामी नारी दिवसको महत्व बुझ्ने छौं । अन्त्यमा जो जहाँ जस्तो अव्स्था र स्थितिमा पनि आफ्नो मन, वचन र कर्मले नारीलाई सम्मान गरौं सबैमा नारी दिवसको सुभकामना सहित ।

जय राष्ट्र जय राष्ट्रियता !
जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend