साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी, जेठ ३०।
नेपाल औषधी व्यावसायी संघ गुल्मीको अध्यक्षमा सदरमुकाम तम्घासका कमल प्रसाद पाण्डेय सर्वसम्मत चयन हुनुभएको छ । चौथो जिल्ला अधिवेशनले पाण्डेयलाई आगामी ३ बर्षे कार्यकाल दिएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा महेश श्रेष्ट, महासचिवमा गणेश श्रेष्ट, सचिवमा अन्नत अधिकारी, कोषाध्यक्षमा पार्वता थापा तथा सहकोषाध्यक्षमा पार्वता भुसाल सर्वसम्मत चयन हुनुभएको हो ।त्यस्तै सदस्यहरुमा जुवानन्द बेलबासे, अग्नीधर लोहनी र लोक बहादुर ज्ञवाली रहनुभएको छ । २०६० साल असार १४ गते स्थापना भएको नेपाल औषधी व्यावसायी संघ गुल्मीको चौथो अधिवेशनको प्रमुख अतिथी निबर्तमान केन्द्रिय अध्यक्ष बाबुराम भट्राईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै भट्राईले संगठन बलियो बनाउन सवै व्यावसायीहरुको मनोभावना एक हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले जनता संग प्रत्यक्ष जोडिएको संवेदनशिल क्षेत्र औषधी व्यावसाय भएकाले नाफालाई भन्दा सेवालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेसका बिष्णु बलाल, एमालेका जंग नेपाली, जनमोर्चाका जिवन राना, राप्रपा नेपालका ठाकुर पाण्डेय, औषधी व्यावसायी संघका केन्द्रि उपाध्यक्ष द्धय लोकहरी श्रेष्ट, राम प्रसाद खरेल, सचिव सुनिल श्रेष्ट, जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपाल, शसस्त्र प्रहरी बलका डिएसपी दिगबिजय सुवेदी, अनुसन्धान अधिकृत प्रभु मल्ल, औषधी व्यावसाय संघ सम्बन्धि बिभिन्न संघ संस्थाका प्रमुख, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रम नेपाल औषधी व्यावसायी संघ गुल्मीका अध्यक्ष चुरामणी पन्थीको अध्यक्षता, उपाध्यक्ष थानेश्वर खनालको स्वागत तथा नारायण अर्यालको संचालनमा सम्पन्न भएको थियो । स्मरण रहोस अघिल्लो केन्द्रिय तथा तेस्रो जिल्ला अधिवेशन पवित्र धार्मिक स्थल रेसुंगामा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend